चितवन राइनोजबाट उत्कृष्ट खेल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी घोषित भएर कार, मोटरसाइकल र नगद रु दुई लाख जितेका मकवानपुरका क्रिकेटर रिजन ढकाल गृह जिल्लामा सम्मानित भएका छन्।
उनलाई विभिन्न संघसंस्थाले सम्मान गरेका हुन्। आइतबार हेटौँडा आएदेखि मंगलबारसम्म ढकाललाई विभिन्न संघसंस्थाले सम्मान गर्दै आएका छन्। देब्रेहाते तीव्र गतिका बलर ढकाललाई हेटौँडा उपमहानगरपालिकाले रु एक लाखसहित दोसल्ला ओढाएर सम्मान गरेको छ। उनी हेटौँडा उपमहानगरपालिका-२ का बासिन्दा हुन्।
यस्तै ढकाललाई हेटौँडा स्कुल अफ म्यानेजमेन्ट क्याम्पसले पनि रु एक लाखसहित सम्मान गरेको छ। उनलाई बालजागृती इङ्लिस स्कुलले रु २५ हजारसहित सम्मान गरेको छ। हेटौँडा-४ हुप्रचौरमा रहेको डिडिसी आउटलेटले पनि सम्मान गरेको छ। हेटौँडा उपमहानगरपालिका-२ नम्बर वडा कार्यालय, हेटौँडा २ पुरानो मकवानपुर रोडमा रहेको निको अस्पताल प्रालिले पनि रिजनलाई सम्मान गरेको छ।

यस्तै २ नम्बर वडा कार्यालयले ढकाललाई रु ३५ हजार र अस्पतालले नगदसहित सम्मानपत्र प्रदान गरेको हो। साथै, अस्पतालले उनको परिवारका सदस्यको एक वर्षसम्म निःशुल्क उपचार गर्ने घोषणा समेत गरेको छ। गृह जिल्लाका विभिन्न संघसंस्थाले सम्मान गर्दा आफूलाई थप हौसला मिलेको ढकालले बताए।
‘गृह जिल्लामा यति धेरै माया पाउँदा निकै खुसी छु। आगामी दिनमा निरन्तर क्रिकेट खेलमै लाग्न हौसला मिलेको छ’, उनले भने। ढकालले एनपिएलको तेस्रो संस्करणमा सर्वोत्कृष्ट नेपाली खेलाडी, सर्वाधिक विकेट लिने नेपाली बलर र समग्रमा सर्वाधिक विकेट लिने बलर बनेका थिए। सर्वाधिक विकेटकर्ताको गोल्डेन क्यापसमेत जितेका उनले प्रतियोगिताभर १७ विकेट लिएका थिए। रासस


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।