बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कार्यकारी निर्देशक पदका लागि सात जना उम्मेदवार छनोट भएका छन्।
कार्यकारी निर्देशक पदको छनोट सिफारिस समितिको सचिवालयले मंगलबार(हिजो) अन्तर्वार्ताका लागि सात जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो।
सार्वजनिक सूचनाअनुसार डा.अजय कुमार झा, डा. उमेश नेपाल, डा. कृष्ण सागर शर्मा, डा. गुरु शरण साह, डा. प्रदीप थापा, डा. विजय चन्द्र आचार्य र डा. रञ्जन भक्त भण्डारी अन्तर्वार्ताका लागि छनोट भएका छन्।

उनीहरू मध्ये डा. अजयकुमार झा बाहेक सबै जना क्यान्सर अस्पतालका चिकित्सक हुन्। सात जनामा सबैभन्दा सिनियर डा.कृष्णसागर शर्मा र डा.विजय चन्द्र आचार्य हुन्।
उनीहरू दुई जना नै १२औँ तहका चिकित्सक हुन्। अन्य उम्मेदवारहरु भने ११ औँ तहका चिकित्सक हुन्।
बागलुङ स्थायी ठेगाना भएका शर्मा २३ वर्षदेखि क्यान्सर अस्पतालमा बाल क्यान्सर रोग विशेषज्ञको रूपमा कार्यरत छन्। उनी यसअघि डेपुटी डाइरेक्टरको रूपमा समेत कार्यरत थिए।
डा आचार्य भने यसअघि पनि कार्यकारी निर्देशक भइसकेका व्यक्ति हुन्। कार्यकारी निर्देशकको उम्मेदवारी पेस गरेका डा उमेश नेपाल हाल निमित्त निर्देशकको भूमिकामा रहेका छन्। अन्य डा गुरु शरण साह, डाक्टर प्रदीप थापा र डा रञ्जन भक्त भण्डारी भने यसअघि क्यान्सर अस्पतालको विभागीय जिम्मेवारी समालेका थिए।
अस्पतालको कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान गरिएको सूचनाअनुसार तोकिएको समयभित्र अनलाइन आवेदन दिएका उम्मेदवारमध्ये छनोट समितिको निर्णयका आधारमा अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि उम्मेदवारको नाम सार्वजनिक गरेको थियो।
सूचनाअनुसार छनोट भएका उम्मेदवारहरूको अन्तर्वार्ता तथा प्रस्तुतीकरण यही असोज २२ गते बिहीबार बिहान १० बजेदेखि हुने भएको छ। अन्तर्वार्ता तथा प्रस्तुतीकरण नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (रामशाहपथ) को नयाँ भवनमा हुनेछ।
क्यान्सर अस्पतालमा वैशाख महिनादेखि कार्यकारी निर्देशक पद खाली रहेको थियो। केही महिनाअघि निमित्त कार्यकारी मार्फत अस्पतालको प्रशासनिक काम कारबाही अगाडि बढाइएको छ।
कार्यकारी हुनका लागि क्यान्सर विशेषज्ञ पदमा रही १२ वर्ष काम गरेको हुनुपर्ने मापदण्ड रहेको छ। कार्यकारी निर्देशकको पदावधि तीन वर्षे हुने व्यवस्था रहेको छ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारहरूबाट अनलाइन आवेदन माग गरिएको थियो।
सूचनाअनुसार असोज १९ गते राति १२ बजेसम्म अनलाइन आवेदन दिने समय तोकिएको थियो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।