स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेतृत्वमा टेलिमेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने विषयमा छलफल गरेकी छिन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य सचिव डा विकास देवकोटासहित विभागका निमित्त महानिर्देशक, पाटन अस्पताल र वीर अस्पतालका प्रतिनिधि तथा उपचारात्मक सेवा महाशाखाका प्रमुखलगायत सहभागी थिए।
छलफलमा टेलिमेडिसिन सेवालाई दिगो रूपमा सञ्चालन गर्न आवश्यक बजेट, जनशक्ति तथा संस्थागत व्यवस्थापनका विषयमा छलफल भएको थियो।

सेवा सञ्चालनका लागि आवश्यक जनशक्तिलाई छुट्टै व्यवस्थापन गर्दै सेवा निरन्तर र प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको मन्त्री मेहताको सचिवालयले जनाएको छ।
त्यस्तै, टेलिमेडिसिनमार्फत प्रदान हुने सेवाको रेकर्ड तथा अभिलेख व्यवस्थित गर्ने, बिरामीको विवरण सुरक्षित राख्ने र परामर्शसम्बन्धी जानकारीको व्यवस्थित अभिलेखीकरण गर्ने विषयमा छलफल भएको थियो।
बैठकमा टेलिमेडिसिन सेवा विस्तारसँगै भविष्यमा आउन सक्ने सम्भावित समस्या तथा चुनौतीको पहिचान गरी त्यसको समाधानका लागि पूर्वतयारी गर्नुपर्नेमा समेत जोड दिइएको थियो।
विशेषगरी सेवा लिने व्यक्तिको पहिचान प्रमाणीकरणलाई विश्वसनीय र व्यवस्थित बनाउने तथा टेलिमेडिसिन सेवाप्रति नागरिकको विश्वास बढाउने विषयलाई प्राथमिकताका साथ छलफल गरिएको थियो।
मन्त्री मेहताले टेलिमेडिसिन सेवालाई प्रविधिमा आधारित सेवा मात्र नभई नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्ने बताउँदै सेवाको विश्वसनीयता र गुणस्तर कायम गर्न आवश्यक व्यवस्था मिलाउन जोड दिएकी छिन्।
बैठकमा टेलिमेडिसिन सेवालाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत, प्राविधिक तथा व्यवस्थापकीय पक्षमा सुधार गर्दै आगामी कार्ययोजना अघि बढाउने विषयमा समेत छलफल भएको थियो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।