सन् २०२६ को १० महिनामा हवाई मार्ग हुँदै १० लाख आठ हजार ६१६ विदेशी पर्यटक नेपाल भित्रिएसँगै प्रमुख पर्यटकीय केन्द्र ठमेलका गल्लीमा चहलपहल बाक्लिएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सुस्ताएको पर्यटन व्यवसाय शरद ऋतु सुरु भएसँगै विस्तारै लयमा फर्किन थालेको हो।
नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबरमा मात्रै एक लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल आएका छन्। बोर्ड सञ्चालक समितिका सदस्य सहदेव धमलाले गत वर्षको तुलनामा सन् २०२६ को अप्रिलदेखि अक्टोबरसम्म पर्यटक आगमन ५.३६ प्रतिशतले बढेको जानकारी दिए।

यता, यस वर्षको शरद ऋतुमा कात्तिक २० गतेसम्म ७७ देशका एक हजार ६१३ आरोहीले नेपालका ४७ हिमाल आरोहणका लागि अनुमति लिएका छन्।
पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार आरोहण अनुमति प्रदान गरेबापत विभागले ३३ करोड २९ लाख चार हजार ९२२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपाल आउने अधिकांश पर्यटक हिमालको अवलोकन तथा आरोहणका लागि आउने गरेका छन्।
नेपाल आउने ८० प्रतिशत विदेशी पर्यटक ठमेल घुम्न आउने गरेका छन्। काठमाडौँ महानगरपालिका-१६, १७, २६ र २७ मा फैलिएको र ठुलो हिस्सा वडा नम्बर २६ मा पर्ने ठमेलमा पर्यटकीययाम सुरु भएसँगै विदेशी पाहुनाको उपस्थिति बाक्लिएको हो।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजुमान डङ्गोलले ठमेलका गल्लीमा विदेशी पर्यटक क्रमशः बढ्न थालेको बताए। ‘पर्यटकीययाम सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सहजता र सुरक्षाका लागि परिषद्ले काम गरिरहेको छ,’ उनले भने।
रातको समयमा ठमेलभित्र हुने भीडभाड र शान्ति सुरक्षालाई मध्यनजर गरी परिषद्ले नेपाल प्रहरी, ट्राफिक प्रहरी, पर्यटक प्रहरी र महानगर प्रहरीसँग सहकार्य गरेर सुरक्षा योजनासमेत बनाइरहेको डङ्गोलको भनाइ छ।
ठमेलको त्रिदेवीमार्गस्थित रेड कास्मिर पश्मिना व्यवसाय गर्दै आएका अनुप श्रेष्ठले भोटेकोशी बाढीबाट थला परेको पर्यटन व्यवसाय लयमा फर्किँदा व्यवसायीमा उत्साह थपिएको बताए। ‘देशमा विभिन्न समयमा हुने विपद्का घटनाले व्यवसायीलाई निराश बनाउँदै आएको छ। त्यसका बाबजुद पनि नेपाललाई विदेशी पर्यटकको साथ र सहयोग निरन्तर रहँदा निराशासँगै उत्साह थपेको छ,’ उनले भने।
यद्यपि, पछिल्लो समय नक्कली पश्मिना उत्पादन गरी सस्तो दरमा बिक्री गरिँदा लामो समयदेखि व्यवसाय गर्दै आएका व्यवसायी मारमा परेको श्रेष्ठको गुनासो छ।
लेखनाथ मार्गस्थित काठमाडौँ आगन्तुक होटलका सञ्चालक पशुपति कँडेलले पर्यटकको सङ्ख्या बढे पनि व्यवसाय भने घटेको बताए। ‘हस्पिटालिटी क्षेत्रमा भएको अस्वस्थ प्रतिस्पर्धा र सस्तो मूल्यमा होटलका कोठा बिक्री गर्दा विगतको तुलनामा व्यवसाय घटेको छ,’ उनले भने। सुरुमा केही निराशजस्तो देखिए पनि पछिल्लो समय ठमेलमा पर्यटकको चहलपहल राम्रो रहेको उनको भनाइ छ।
अमृत मार्गमा सगुन पुस्तक पसल सञ्चालन गर्दै आएका किरणदेव घिमिरेले पछिल्लो समय ठमेलमा विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताए। ‘पछिल्लो समय ठमेलका पसलमा विदेशी पर्यटक देखिन थालेका छन्,’ उनले भने।
काठमाडौँको प्रमुख पर्यटकीय, सांस्कृतिक तथा व्यावसायिक केन्द्रका रूपमा परिचित ठमेल पदयात्रा, पर्वतारोहण, किनमेल, रेस्टुरेन्ट, सांस्कृतिक अनुभव र रात्रिकालीन मनोरञ्जनका लागि विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ। हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकका लागि आवश्यक ज्याकेट, जुत्ता, ब्याग र ट्रेकिङ उपकरण यहाँ सहजै उपलब्ध हुन्छन्।
होटल, ट्राभल एजेन्सी, ट्रेकिङ पसल, रेस्टुरेन्ट, बार, स्पा, ट्याटु स्टुडियो र यातायातलगायतका सेवा व्यवसायको बाक्लो उपस्थितिले ठमेललाई पर्यटन व्यवसायको केन्द्र बनाएको छ। पर्यटकीययामको चहलपहलसँगै आर्थिक गतिविधि बढ्ने अपेक्षा व्यवसायीले गरेका छन्।
कुन महिनामा कति पर्यटक ?
नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२६ को जनवरीमा ९२ हजार ५७३, फेब्रुअरीमा एक लाख पाँच हजार ४४१, मार्चमा एक लाख २० हजार ५१६, अप्रिलमा एक लाख सात हजार ९३४ र मेमा एक लाख दुई हजार ६२६ विदेशी पर्यटक नेपाल आएका छन्।
त्यस्तै, जुनमा ९१ हजार ३६३, जुलाईमा ७६ हजार ३७, अगस्टमा ९१ हजार ५६, सेप्टेम्बरमा ८८ हजार २५६ र अक्टोबरमा एक लाख ३२ हजार ८१४ विदेशी पर्यटक हवाई मार्ग हुँदै भित्रिएका हुन्।
बोर्ड सदस्य धमलाका अनुसार अघिल्लो वर्षको तुलनामा अप्रिलमा ७.३ प्रतिशत र अगस्टमा ३.६ प्रतिशतले पर्यटक आगमन घटे पनि मेमा १९.३, जुनमा १९.५, जुलाईमा २.३, सेप्टेम्बरमा १२.१ र अक्टोबरमा ३.४ प्रतिशतले वृद्धि भएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।