परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका जोखिम तीव्र रूपमा बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराएका छन्।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का अवसरमा टर्कीको अन्टाल्यामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भएको भेटमा मन्त्री खनालले हिमाली क्षेत्रले सामना गरिरहेका जलवायुजन्य चुनौतीबारे ध्यानाकर्षण गराएका हुन्।
अतिकम विकसित मुलुक (एलडीसी) का मन्त्रीस्तरीय प्रतिनिधिमण्डलसँगै महासचिव गुटेरेससँगको भेटमा उनले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसको सीमाभित्र राख्ने लक्ष्य कायम गर्नुपर्नेमा जोड दिए। तापक्रम वृद्धिले उक्त सीमा पार गर्ने अवस्थालाई न्यून गर्नसमेत उनले आग्रह गरे।

त्यसैगरी, जलवायु परिवर्तनका कारण हुने क्षति तथा नोक्सानी सम्बोधनका लागि सहयोग बढाउनुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री खनालले जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय छलफलमा पर्वतीय क्षेत्रका मुद्दालाई छुट्टै स्थान दिनुपर्ने बताए।
उनले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) अन्तर्गत पर्वतीय कार्ययोजना (माउन्टेन वर्क प्रोग्राम) समावेश गर्नुपर्ने विषयसमेत उठाएका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।