स्कटल्यान्डका ब्याटर तथा ओपनर जर्ज मुन्सेको आक्रामक शतक प्रेरणमा सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि उचालेको छ।
पछिल्ला दुई सिजनका फाइनलमा क्रमशः जनकपुर बोल्ट्स र लुम्बिनी लायन्ससँग पराजित हुँदा सुदूरपश्चिम उपाधि विमुख भएको थियो। कीर्तिपुरमा शनिबार भएको तेस्रो सिजनको फाइनलमा सुदूरपश्चिमले लुम्बिनीमाथि १० विकेटको रबाफिलो जित रच्दै तेस्रो प्रयासमा उपाधि उचाल्यो। साथै सुदूरपश्चिमले गत सिजनको फाइनलमा बेहोरेको हारको बदला पनि लियो। ओपनर मुन्सेले १२५ रनको अविजित इनिङ खेले। अर्का ओपनर विनोद भण्डारीले २७ बलमा ३० रन जोडे। त्रिवि क्रिकेट स्टेडियममा लुम्बिनीले १५६ रनको लक्ष्य दियो। तर सुदूरपश्चिमले १३.३ ओभरमै बिनाविकेट लक्ष्य पूरा गर्यो।
ओपनरद्वय मुन्से र विनोदबिच १५८ रनको अविजित साझेदारी बन्यो। मुन्सेले ५४ बलमा ८ चौका र १२ छक्का हिर्काए। विनोदको इनिङमा तीन चौका रह्यो। विनोदले मुन्सेलाई साथ दिँदै ३९ बलअगावै जित दिलाउन मद्दत गरे। मुन्सेले ४९ बलमै शतक बनाए। यो सिजनको यो तेस्रो र समग्रमा छैटौं शतक हो। यसै सिजनमा पोखरा एभेन्जर्सका युवराज सामरा र चितवन राइनोजका कामिल मिसराले शतक बनाएका थिए। पहिलो सिजनमा पोखराकै एडम रोसिङ्टन र दोस्रो सिजनमा कर्णाली याक्सका मार्क वाटले शतक पूरा गरेका थिए। फाइनलमै मुन्सेले शतक पूरा गरे। अघिल्ला दुई खेलमा चल्न नसकेका स्कटल्यान्डका मुन्से फाइनलमा भने चम्किए।

सुदूरपश्चिमले १०.४ ओभरमै सय रनको आँकडा पार गर्दै जितको आधार बनायो। लुम्बिनीका बलर पूर्ण असफल भए। यसै सिजनको अघिल्ला दुई भेटमा सुदूरपश्चिम ८७ रन र १०८ रन मात्र जोड्न सकेको थियो। तर फाइनलमा भने सुदूरपश्चिमका ओपनर नै लुम्बिनीका बलरमाथि हाबी भए। टस जितेर सुदूरपश्चिमले लुम्बिनीलाई ब्याटिङ गर्ने निम्तो दियो। खराब सुरुआत भए पनि लुम्बिनीले पूरै ओभरमा ६ विकेटको क्षतिमा १५५ रनको योगफल बनायो। मध्य क्रमका ब्याटर दिलीप नाथ ३९ रनमा अविजित रहे। यो नै सर्वाधिक ठुलो व्यक्तिगत रन रह्यो। अन्य पाँच ब्याटरले ससाना योगदान दिँदा लुम्बिनीले प्रतिस्पर्धात्मक लक्ष्य दियो। लुम्बिनीको सुरुआत राम्रो भएन। तेस्रो ओभरमै पहिलो विकेट गुमायो। ओपनर आसिफ शेख १ रनमै एलबिडब्लु शिकार भए। स्कट कुग्गेलिनले उनलाई आउट गर्दै राम्रो सुरुआत दिलाए। यसपछिका ब्याटरले ससाना योगदान दिए। कप्तान रोहित पौडेलले ३० रनमा रनआउट भए। उनले ३१ बल खेल्दा दुई चौका मात्र हिर्काए।
१५औं ओभरमा दिलीप नाथसँग तालमेल बिग्रिएपछि रोहित चौथो विकेटका रूपमा आउट भए। यतिबेला लुम्बिनी १०८÷४ को अवस्थामा थिए। तर अन्तिम पाँच ओभरमा आक्रामक ब्याटिङ गर्यो। यस क्रममा ४८ रन जोड्दा लुम्बिनीले दुई विकेट मात्र गुमाउन पुग्यो। सुदूरपश्चिमका कप्तान दीपेन्द्रले १८औं ओभरमा स्पिनर इशान पाण्डेलाई बलिङमा ल्याए। यो निर्णय सही साबित भएन। यो ओभरमा इशानले १६ रन दिए। अली शेखले दुई छक्का हिर्काए। अन्तिम ओभरमा अली २४ रनमा आउट भए। उनले १२ बलमा समान दुई छक्का र चौका हिर्काए। त्यसअघि ओपनर डार्सीले २१ र विकेटकिपर निरोशन डिकवेलाले २८ रन जोडे।
मध्य क्रमका ब्याटर दिलीपले इनिङ समाले। उनले ३१ बलमा तीन छक्का हिर्काए। ओपनर डार्सी पावरप्लेमै पभेलियन फर्किए। सुदूरपश्चिमका कप्तान दीपेन्द्रले डार्सीलाई बोल्ड गरे। डार्सीले १८ बलमा चार चौका प्रहार गरे। पावरप्लेमा ३७ रन जोड्दा दुई विकेट मात्र गुमाएको लुम्बिनीले मध्यम सुरुआत गर्यो। यसपछि कप्तान रोहित क्रिजमा आए। उनी र डिकवेलाबिच तेस्रो विकेटका लागि ३९ रनको साझेदारी बन्यो। स्पिनर रत्नायकेले डिकवेलालाई बोल्ड गर्दै साझेदारी तोडे। १७ बलमा डिकवेलाले एक चौका र छक्का हिर्काए। यो विकेटपछि रनको गतिमा अंकुस लाग्ने अनुमान थियो। तर दिलीपले केही ठुलो सट खेल्दै सुदूरपश्चिमका बलरलाई दबाबमा राखे। सुदूरका बलर १५औं ओभरसम्म लय गुमाएनन्। अन्तिम ओभर भने समालिन सकेनन्।
सुदूरपश्चिमको बलिङमा कुग्गेलिनले दुई विकेट लिँदा हेमन्त धामी, थरिन्दु रत्नायके र कप्तान दीपेन्द्रसिंहले समान एक विकेट लिए। हेमन्तले चार ओभरमा २३ रन मात्र दिए।
सर्वाधिक विकेटमा रिजन र ब्याटिङमा सामरा
तेस्रो सिजनमा प्लेअफमा नै पुग्न नसकेको पोखरा एभेन्जर्सका ब्याटर युवराज सामरा सर्वाधिक रनकर्ता र दोस्रो क्वालिफायरसम्म पुगेको चितवन राइनोजका बलर रिजन ढकाल सर्वाधिक विकेटकर्ता भए। चितवनका रिजन ढकालले ८ खेलबाट १७ विकेट लिए। स्कट कुग्गेलिनले १० खेलबाट १४ विकेट लिए। सर्वाधिक रन बटुल्ने सूचीमा सामरा र विराटनगर किङ्सका लोकेश बम शीर्ष दुई स्थानमा रहे। सामराले २९४ र लोकेशले २४२ रन जोडे। सामराले चार खेलमा र लोकेशले सात खेलमा बनाएका हुन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।