जर्ज मुनसीको कीर्तिमानी शतकसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले हराउँदै पहिलोपटक उपाधि जितेको हो।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई १५८ रन बनाउँदै पूरा गर्यो। मुनसीले ४९ बलमै शतक पूरा गर्दै ५४ बलमा अविजित १२५ रनको विस्फोटक इनिङ्स खेले। उनको इनिङ्समा ८ चौका र १२ छक्का समावेश थियो। उनलाई अर्का ओपनर विनोद भण्डारीले २७ बलमा अविजित ३० रन बनाउँदै उत्कृष्ट साथ दिए।

सुदूरपश्चिम यसअघि लगातार दुई संस्करण (पहिलो र दोस्रो) मा उपविजेतामा सीमित बनेको थियो। यसपटक भने टोलीले तेस्रो प्रयासमा उपाधि उचाल्न सफल भयो।
एनपीएलको फाइनल भिडन्त हेर्न गृहमन्त्री सुधन गुरुङ, खेलकुदमन्त्री सस्मित पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि कीर्तिपुरस्थित मैदान पुगेका थिए।
त्यस्तै, नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी तथा विदेशी प्रतिनिधिहरूको पनि मैदानमा बाक्लो उपस्थिति रहेको थियो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।