इन्डोनेसियाको जाभा टापुस्थित अवैध सुनखानीमा बाढी पसेपछि २६ जना कामदार भित्रै फसेका छन्।
बुधबार लगातारको भारी वर्षाका कारण नजिकैको नदीमा पानीको सतह बढेर खानीभित्र बाढी पसेको हो। पश्चिम जाभाको बोगोर जिल्लास्थित नाङ्गुङ क्षेत्रमा रहेको खानीमा सोमबार राति भारी वर्षापछि नदीको पानी पसेको थियो।
पश्चिम जाभा प्रहरीका प्रवक्ता हेन्द्रा रोचमवानले बुधबार खानीभित्र फसेका २६ जना कामदारलाई सुरक्षित बाहिर निकाल्न संयुक्त उद्धार टोली परिचालन गरिएको जानकारी दिए।

उनका अनुसार वर्षायामको प्रतिकूल मौसम र खानीभित्र पस्ने साँघुरो मार्गका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। उद्धार टोलीले खानीको सुरुङभित्र प्रवेश गरी कामदारको खोजी तथा उद्धार गर्ने प्रयास गरिरहेको उनले बताए।
बाढी खानीभित्र पस्नुअघि ११ जना कामदार भने सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए। खानीभित्र कामदार फसेको जानकारी प्रहरीले मंगलबार मात्र पाएको थियो।
उक्त खानी करिब १०० मिटर गहिरो रहेको र साँघुरो बाटो तथा चिप्लो जमिनका कारण उद्धारमा कठिनाइ भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। खानीभित्र जमेको पानी निकाल्न पम्पसमेत प्रयोग गरिएको छ। तर, लगातारको वर्षा र नदीको बढ्दो जलस्तरले उद्धारमा थप समस्या सिर्जना गरेको छ।
दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसियामा खानी दुर्घटना सामान्य मानिन्छन्। विशेषगरी अनुमति नलिई सञ्चालन गरिएका खानीमा सुरक्षा मापदण्ड कमजोर हुने र त्यसको पालना नहुने भएकाले यस्ता दुर्घटनाको जोखिम बढी रहने गरेको छ। एजेन्सी


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।