अन्तर्राष्ट्रिय

बंगलादेश सरकारले रोक्यो हसिनाको गृहजिल्लाको बजेट, रेलसेवा र प्रहरी चौकी पनि बन्द

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा विकासका लागि उपलब्ध गराउँदै आएको बजेट रोक्का गरेको छ। जिल्लाका कम्तीमा पाँचवटा रेलसेवा बन्द छन् भने दुईवटा प्रहरी चौकीको कामकाजसमेत ठप्प भएको छ।

यसैबीच, अवामी लिगले आजदेखि देशव्यापी लकडाउन घोषणा गरेको छ। हसिनाको स्वदेश फिर्ती र राजनीतिक गतिविधिमाथि लगाइएको प्रतिबन्धको विरोधमा पार्टीले यस्तो कदम चालेको हो।

अवामी लिगले लकडाउनका पछाडि आठवटा माग अघि सारेको छ। तीमध्ये पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने र राजनीतिक बन्दीहरूलाई रिहा गर्नुपर्ने माग प्रमुख छन्। यता, हसिनाको सम्भावित स्वदेश फिर्ती र बढ्दो हिंसालाई ध्यानमा राख्दै सरकारले सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ।

विज्ञापन

हिंसापछि सरकारले रोक्यो आर्थिक सहायता

गत नोभेम्बर १५ मा गोपालगञ्जमा अवामी लिगका सयौँ समर्थकले प्रदर्शन गरेका थिए। त्यस क्रममा प्रदर्शनकारीले सरकारी भवन, प्रहरी चौकी र बीएनपीका नेताहरूको सम्पत्तिमा आगजनी गरेका थिए। त्यसपछि तारिक रहमान नेतृत्वको बीएनपी सरकारले जिल्लाका स्थानीय निकायलाई उपलब्ध गराउँदै आएको आर्थिक सहायता रोक्ने निर्णय गरेको हो।

ढाकाको अखबार प्रोथोम आलोको रिपोर्टअनुसार सरकारले जिल्ला परिषद्, उपजिल्ला परिषद्, नगरपालिका र युनियन परिषद्लाई उपलब्ध गराउने आर्थिक सहायताको तेस्रो किस्ता रोकेको छ। उक्त किस्ता सन् २०२७ को जनवरीदेखि मार्च महिनाको बीचमा उपलब्ध गराउने तय थियो।

सामान्यतया यी निकायलाई वर्षमा चार किस्तामा बजेट उपलब्ध गराइन्छ।

बीबीसीका अनुसार जिल्लाको विकास निर्माणका लागि यसअघि नै स्वीकृत करिब पाँच अर्ब टाका रकमसमेत रोक्का गरिएको छ।

तोडफोड हुन सक्ने भन्दै रेलसेवा पुनः सञ्चालनमा रोक

गोपालगञ्जलाई अन्य सहरसँग जोड्ने कम्तीमा पाँचवटा रेलसेवा बन्द छन्। रेलवे र गृह मन्त्रालयका अधिकारीहरूले सरकारले तत्काल ती रेलसेवा पुनः सञ्चालन गर्ने पक्षमा नरहेको बताएका छन्। रेलसेवा सुरु गर्दा तोडफोड हुन सक्ने उनीहरूको आशंका छ।

बंगलादेश रेलवेका पश्चिमी क्षेत्रका अधिकारीहरूले ढाकादेखि खुल्नासम्म नयाँ रेल सञ्चालन गर्ने प्रस्ताव गरेका छन्। ती रेल गोपालगञ्ज भएर जाने छैनन्।

रेलसेवा बन्द हुँदा सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन्। ढाकामा आउजाउ गर्ने यात्रुहरूलाई समस्या भएको छ। सस्तो र छिटो यात्राका लागि धेरै मानिस यी रेलमा निर्भर थिए।

यसका अतिरिक्त जिल्लाका तुङ्गीपारा र मुक्सुदपुर प्रहरी चौकीको कामकाज पनि बन्द छ। नोभेम्बर १७ र १९ मा ती दुवै प्रहरी चौकीका भवनमा आगजनी गरिएको थियो। अहिले ती चौकीको काम गोपालगञ्ज सदर प्रहरी चौकीले सम्हालिरहेको छ।

हसिनाको स्वदेश फिर्तीको घोषणाले बढ्यो तनाव

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले पहिलोपटक स्वदेश फर्किने मिति सार्वजनिक गरेकी छन्। उनी आगामी डिसेम्बर १६ मा बंगलादेश फर्किन चाहन्छिन्। त्यसका लागि उनले तारिक रहमान नेतृत्वको सरकारसँग विमान पठाउन माग गरेकी छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार हसिनाका प्रवक्ता सैयद मोजम्मेल अलीले हसिना सरकारी वायुसेवा कम्पनी विमान बंगलादेशको उडानबाट दिल्ली हुँदै ढाका फर्किन चाहेको बताएका छन्।

सन् १९७१ को डिसेम्बर १६ मा बंगलादेशले पाकिस्तानविरुद्धको मुक्ति संग्राममा विजय हासिल गरेको थियो। त्यस दिन पाकिस्तानी सेनाले भारतीय सेना र मुक्ति वाहिनीसमक्ष आत्मसमर्पण गरेको थियो। मुक्ति वाहिनी बंगलादेशको स्वतन्त्रताका लागि लडेको संगठन थियो।

सन् २०२४ मा भारत पुगेकी थिइन् हसिना

सन् २०२४ को अगस्टमा सत्ताच्युत भएपछि हसिना भारत पुगेकी थिइन्। देशव्यापी प्रदर्शनका कारण उनले बंगलादेश छाड्नुपरेको थियो। त्यसयता उनले पटक–पटक डिसेम्बरमा स्वदेश फर्किने बताउँदै आएकी छन्।

अहिले अवामी लिगलाई राजनीतिक गतिविधिमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ। हसिनाको स्वदेश फिर्तीअघि पार्टीले सडकमा आफ्नो शक्ति प्रदर्शन गर्ने प्रयास गरिरहेको छ।

हसिनाको स्वदेश फिर्तीको घोषणापछि गोपालगञ्जमा तनाव बढेको छ। नोभेम्बर १५ मा अवामी लिगका सयौँ समर्थक घरेलु हतियारसहित सडकमा उत्रिएका थिए। उनीहरूसँग धारिला हतियार, लाठी र डुङ्गा खियाउन प्रयोग गरिने चप्पु थिए।

प्रदर्शनका क्रममा सरकारी भवन, प्रहरी कार्यालय र बीएनपीका नेताहरूको सम्पत्तिमा आक्रमण गरिएको थियो। प्रहरीको एउटा बख्तरबन्द गाडीमा समेत क्षति पुर्‍याइएको थियो। एजेन्सी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।