बलरहरूको चामत्कारिक प्रदर्शनको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध २७ रनको सनसनीपूर्ण जित दर्ता गरेको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १२१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा मात्र ९३ रनमै अलआउट भयो।
सुदूरपश्चिमका लागि तीव्र गतिका बलर स्कट कुगेलेइनले घातक बलिङ गर्दै जितको आधार तय गरे। उनले आफ्नो ४ ओभरको स्पेलमा मात्र १३ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए।

उनलाई अन्य बलरहरूले कसिलो साथ दिए। स्पिनर थारिन्दु रत्नायकेले ४ ओभरमा १२ रन, दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा १५ रन, हेमन्त धामीले ३ ओभरमा १६ रन, इशान पाण्डेले ३ ओभरमा १९ रन र अनिल खरेलले १.५ ओभरमा १४ रन खर्चेर समान १-१ विकेट हात पारे। दुई ब्याटर रनआउटको सिकार बने।
सामान्य लक्ष्य पछ्याउने क्रममा जनकपुरको ब्याटिङ सुरुदेखि नै दबाबमा पर्यो। जनकपुरका लागि ओपनर त्रित राज दासले २९ बलमा १ छक्कासहित सर्वाधिक २१ रन बनाए भने जेम्स निसमले २५ बलमा १ चौका र १ छक्कासहित २० रन जोडे।
यस्तै पुछारका ब्याटर राहुल यादवले ६ बलमा १ चौका र १ छक्कासहित ११ रन र ओपनर आदित्य महताले १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।
रायन बर्ल ८ रन, कप्तान हरमित सिंह ४ रन, ओपनर अनिल साह २ रन, विशाल सुस्लिङ २ रन, अभिषेक तिवारी २ रन र विदेशी ब्याटर ह्यारी टेक्टर १ रनमै पेभेलियन फर्किए। ललित राजवंशी ५ रनमा अविजित रहे। जनकपुरले अतिरिक्त ७ रन पाएको थियो।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनाउन सकेको थियो।
सुदूरपश्चिमका लागि ब्रेन्डन म्याकमुलनले २३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३३ रनको इनिङ्स खेले। यस्तै आठौं नम्बरका ब्याटर थारिन्दु रत्नायकेले २८ बलमा १ चौका र २ छक्कासहित अविजित २७ रन जोडेका थिए।
यसबाहेक आरिफ शेखले ११, ओपनरद्वय विनोद भण्डारी र सेफ जेबले समान १०-१० रन बनाए। कप्तान दीपेन्द्र सिंह ऐरी मात्र १ रनमा आउट भए।
जनकपुरका लागि कप्तान हरमित सिंहले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए भने ह्यारी टेक्टरले ४ ओभरमा ९ रन दिएर १ विकेट हात पारेका थिए।
राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले १-१ विकेट लिएका थिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।