विज्ञापन
राजनीति

सिंहदरबारको पुरानै स्वरूप फर्काउन एक अर्ब ११ करोड खर्चिँदै सरकार

जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको सिंहदरबारको ऐतिहासिक मूल भवनलाई पुरानै मौलिक स्वरूपमा फर्काउन सरकारले १ अर्ब ११ करोड रुपैयाँ खर्च गर्ने भएको छ।

देशको प्रमुख प्रशासनिक केन्द्रका रूपमा रहेको १२० वर्षभन्दा पुरानो यो संरचनालाई पुनः जीवन दिन संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले तीव्र गतिमा काम अघि बढाएको छ।

कार्यालयका अनुसार आगलागीबाट क्षतिग्रस्त मूल भवनको चारमध्ये तीन खण्डको काम सम्पन्न भइसकेको छ। भवनको दक्षिण, पूर्व र उत्तर खण्डको पुनर्निर्माण सकिएको र त्यसमा हालसम्म ११ करोड रुपैयाँ खर्च भइसकेको कार्यालयका सूचना अधिकारी अरुण भुजेलले जानकारी दिए।

विज्ञापन

अब पुनर्निर्माणको सबैभन्दा चुनौतीपूर्ण र मुख्य खण्ड मानिएको पश्चिमतर्फको भाग बनाउन बाँकी छ। यही भागको पुनर्निर्माणका लागि मात्रै करिब १ अर्ब रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ।

‘पश्चिमतर्फको मुख्य संरचना निर्माणका लागि तिहारलगत्तै टेन्डर आह्वान गर्ने गरी आन्तरिक तयारी तीव्र पारेका छौं,’ सूचना अधिकारी भुजेलले नागरिक न्युजसँग भने, ‘टेन्डर प्रक्रिया पूरा भएर काम थालेको आगामी दुई वर्षभित्र सिंहदरबारको मूल भवनलाई पुरानै भव्यतामा उभ्याउने हाम्रो लक्ष्य छ।’

गत वर्ष भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आगजनीले सिंहदरबारको ऐतिहासिक वैभवमा ठूलो धक्का पुर्‍याएको थियो। अंग्रेजी ‘सी’ आकारमा फैलिएको मूल भवनको पश्चिमतर्फको मोहोडा आगोले सबैभन्दा धेरै सखाप पारेको थियो।

आगलागीकै कारण पुरातात्त्विक तथा कूटनीतिक दृष्टिले विशिष्ट मानिएको ऐतिहासिक ‘स्टेट हल’ खरानी भएको थियो। राणाकालमा विदेशी राष्ट्रप्रमुख तथा विशिष्ट कूटनीतिक पाहुनालाई भव्य स्वागत गर्नका लागि स्टेट हल प्रयोग गरिन्थ्यो।

बहुमूल्य ऐतिहासिक पेन्टिङ, बेलायती शैलीका कलात्मक सजावट तथा विभिन्न मुलुकका सरकार प्रमुखहरूबाट उपहारस्वरूप प्राप्त दुर्लभ सामग्रीले त्यो हल सजिएको थियो। आगोको लपेटामा परेर ती सबै अमूल्य ऐतिहासिक सम्पदा सधैँका लागि नष्ट भए।

आगजनीलगत्तै पुनर्निर्माणको वैज्ञानिक खाका कोर्न पुल्चोक इन्जिनियरिङ कलेजका विज्ञ प्राविधिक टोलीले सिंहदरबार परिसरको विस्तृत संरचनात्मक अध्ययन गरेको थियो।

सोही अध्ययन प्रतिवेदनले दिएको सुझावका आधारमा सरकारले अहिले पुनर्निर्माणको प्रक्रियालाई औपचारिक रूपमा अघि बढाएको हो।

प्राविधिक अध्ययनपछि जोखिमयुक्त ठहर गर्दै हाल मूल भवनमा ‘रातो स्टिकर’ टाँसिएको छ। जसको अर्थ यो भवन अहिले कुनै पनि प्रयोजनका लागि तत्काल प्रयोग गर्न असुरक्षित छ।

यसअघि २०७२ सालको विनाशकारी भूकम्पबाट जीर्ण बनेको सिंहदरबारको मूल भवनलाई जोगाउन पनि सरकारले १ अर्ब रुपैयाँभन्दा बढी खर्चेर रेट्रोफिटिङ गरेको थियो।

तर, रेट्रोफिटिङ सकिएर पूर्ण रूपमा प्रयोगमा आउन नपाउँदै फेरि आन्दोलनको निसानामा परेर भवन ध्वस्त हुन पुगेको हो।

जेनजी आन्दोलनका क्रममा सिंहदरबार मात्र नभई देशभरका दर्जनौं सरकारी कार्यालय र संरचनाहरूमा आगजनी तथा तोडफोड भएको थियो।

देशभरका ती क्षतिग्रस्त सार्वजनिक भौतिक पूर्वाधारहरूको पुनर्निर्माण सम्पन्न गर्न कम्तीमा ३६ अर्ब ३० करोड रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने सरकारी अनुमान छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।