राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान र कारबाही अघि नबढेको भन्दै सरकारमाथि प्रश्न गरेका छन्।
उनले सत्ता बाहिर हुँदा भ्रष्टाचारविरुद्ध चर्को भाषण गर्नेहरू अहिले आफैँ सत्तामा पुगे पनि भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान गर्न नसकेको आरोप लगाउँदै प्रश्न गरेका हुन्।
शाहीले नयाँ सरकार बनेको सात महिना र त्यसअघिको सरकारको कार्यकालसमेत जोड्दा १३ महिना बितिसक्दा पनि प्रकरणको थप अनुसन्धान गरी नयाँ फाइल अदालतसम्म पुर्याउन नसकिएको बताएका छन्।

उनले संसदमा भ्रष्टाचारीलाई जेल हाल्ने र कसैलाई नछाड्ने भाषण गर्ने तथा सामाजिक सञ्जालमा भ्रष्टाचारविरुद्ध अभिव्यक्ति दिनेहरू सत्तामा पुगेपछि किन निष्क्रिय भएको भन्दै प्रश्न गरेका छन्।
‘भुटानी शरणार्थी काण्डका दोषीलाई हिजो सत्ता बाहिर हुँदा के–के भनिन्थ्यो, सबैलाई सम्झना होला,’ उनले सामाजिक सञ्जालमार्फत भने, ‘संसदमा डाको छोडेर भ्रष्टाचारीलाई जेल हाल्छौँ, कसैलाई छोड्दैनौँ भन्दै भाषण गर्नेहरू, फेसबुक स्टाटस लेखेर भ्रष्टाचारविरुद्ध आगो ओकल्नेहरू आज आफैँ सत्तामा छन्।’
हिजोको सरकारले कारबाही गरी जेल सजाय भोगिरहेका व्यक्तिसमेत जेलबाट छुटिसकेको उल्लेख गर्दै शाहीले थप अनुसन्धान र कारबाहीको प्रक्रिया कहाँ पुगेको छ, नयाँ फाइल किन तयार भएन र दोषीमाथि थप कारबाही किन हुन सकेन भन्ने प्रश्न उठाएका छन्।
‘तर विडम्बना के छ भने, नयाँ सरकार बनेको सात महिना र त्यसअघिको सरकारसहित जोड्दा तेह्र महिना बितिसक्दा पनि भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान गरी नयाँ फाइल अदालतसम्म पुर्याउन सकेको छैन,’ उनले भने, ‘हिजोको सरकारले कारबाही गरेर जेल सजाय भोगिरहेका व्यक्तिहरूसमेत जेलबाट छुटिसके। तर थप अनुसन्धान र कारबाहीको प्रक्रिया कहाँ पुग्यो? नयाँ फाइल किन तयार भएन? दोषीमाथि थप कारबाही किन भएन?’


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।