गाँस कटाएर शिव शिखर बहुद्देश्यीय सहकारी संस्थामा बचत गरेको पैसा डुबेर हजारौं बिचल्लीमा परेको दुई वर्ष बितिसकेको छ। दुःखजिलो गरेर कमाएको पैसा फिर्ता हुने पीडितको आशा जीवितै छ। बकपत्र गराउन हजारभन्दा बढी पीडित अदालतमा पुगेका छन्।
कैलाली जिल्ला अदालत परिसरमा बुधबार र बिहीबार सहकारीबाट ठगिएकाहरूको भिडभाड लागेको थियो। उनीहरू डुबेको पैसा फिर्ता पाउने आशामा अदालतमा बकपत्र गर्नका लागि आएका हुन्। जिल्ला अदालत कैलालीका सूचना अधिकारी अक्कलबहादुर रावलले बुधबार र बिहीबार सहकारीपीडितका एक हजारभन्दा बढी बकपत्र गर्ने प्रक्रियाका लागि अदालतमा पुगेको बताए।
अदालतमा उपस्थित भएका एक हजारभन्दा बढी सहकारीका बचतकर्तालाई पालैपालो बोलाएर बकपत्र गराइने उनले बताए। ‘एक दिनमा ७–८ जनाको मात्र बकपत्र गराउन सम्भव हुन्छ, त्यही आधारमा प्रत्येकलाई अलग–अलग दिनमा बकपत्रका लागि समय तोकिएको छ’, उनले भने।

पीडितको बकपत्र गराउन मात्र महिनौं समय लाग्ने भएको छ। २०८० साल कात्तिक १४ गते जिल्ला अदालत कैलालीमा सहकारीमा बचत गरेको रकम हिनामिना गरेर ठगिएको भन्दै बचतकर्ताका तर्फबाट जाहेरी परेको उनले बताए।
उक्त जाहेरीका आधारमा बचतकर्ता बकपत्र प्रक्रियाका लागि अदालतमा आएका हुन्। ‘सबैलाई बकपत्र गराइने छ। बकपत्र गराइसकेपछि मुद्दा न्यायाधीशको इजलासमा पेसीको प्रक्रियामा अघि बढ्नेछ’, उनले भने। बकपत्र गर्ने प्रक्रिया निरन्तर चल्ने उनको भनाइ छ।
अदालतमा बकपत्र गर्ने प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालयमा करिब एक हजार चार सय बचतकर्ताको विवरण रुजु गरिएको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रबहादुर तिमिल्सिनाले बताए। शिवशिखर सहकारीमा कैलालीमा मात्रै ६ हजार बचतकर्ताको करिब ६२ करोड ठगी गरेको भन्दै उजुरी परेको छ।
यसैगरी सुदूरपश्चिमका कञ्चनपुर, डडेल्धुरा, डोटीलगायतका ६ हजार बासिन्दाको ६८ करोडभन्दा बढी पैसा डुबेको विवरण छ। सरकारले सहकारीपीडितको बचत फिर्ता गराउने भने पनि शिवशिखर सहकारीका पीडितले अहिलेसम्म रकम पाउन सकेका छैनन्।
बकपत्र प्रक्रिया सुरु हुँदा बचतकर्ताले न्याय पाउने आशा जागे पनि हजारौं बचतकर्ताको बकपत्र गराएर मुद्दा किनारा लगाई बचत फिर्ता गराउन अझै धेरै लामो समय लाग्ने निश्चित छ। अदालतबाट न्याय पाएर डुबेको पैसा फिर्ता पाउने पीडितहरू आशावादी भएको बताउँछन्। ‘गाँस कटाएर वर्षौंदेखि दुःख गरेर बचत गरेको पैसा ठगेर खाइदियो। अहिलेसम्म फिर्ता पनि पाइएको छैन’, बकपत्रका लागि अदालत पुगेका पीडितमध्ये एक रणबहादुर भण्डारीले भने, ‘अदालतबाट न्याय पाएर डुबेको पैसा फिर्ता पाइने आशा पलाएको छ।’
भक्तपुरमा केन्द्रीय कार्यालय रही देशभर ३६ वटा शाखा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारीले एक लाखभन्दा बढी सर्वसाधारणको करिब १४ अर्बभन्दा बढी निक्षेप हिनामिना गरेको थियो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।