दसैं-तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै विराटनगरमा आयोजना हुन लागेको दोस्रो संस्करणको ‘विराट ट्रेड फेयर’ को तयारी अन्तिम चरणमा पुगेको छ।
विराट व्यापार संघको आयोजनामा विराटनगरस्थित जैन भवनमा आगामी असोज २२ देखि ३० गतेसम्म मेला सञ्चालन हुनेछ।
संघले मंगलबार पत्रकार सम्मेलन गरी मेलामा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका गरी करिब १५० वटा व्यावसायिक स्टल रहने जानकारी दिएको छ।

चाडपर्वको किनमेलका लागि सीमापारि भारतीय बजार जानुपर्ने बाध्यता हटाई स्वदेशी व्यापार प्रवर्द्धन गर्न मेला आयोजना गरिएको संघका अध्यक्ष प्रमोद अग्रवाल ‘जिन्दल’ ले बताए।
मेलामा खाद्यान्न, लत्ताकपडा, जुत्ता-चप्पल, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, अटोमोबाइल, फर्निचर र कृषि उत्पादनहरू बजार भाउभन्दा सस्तो तथा सुपथ मूल्यमा उपलब्ध गराइनेछ।
मेलामा करिब १ लाख दर्शकले अवलोकन गर्ने र १६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अनुमान छ।
किनमेलका साथै मेलामा कलाकारहरूको सांस्कृतिक प्रस्तुति, बालबालिकाका लागि खेल मनोरञ्जन, विभिन्न परिकारका फूड स्टल र नेपाली कलामा आधारित सेल्फी जोनको व्यवस्था गरिएको छ।
यसअघि संघले वि.सं. २०६७ मा ‘विराट महोत्सव’ आयोजना गरेको थियो। त्यसबेला ७८ वटा स्टल रहेका थिए भने करिब ५५ हजार दर्शकले अवलोकन गरेका थिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।