राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र नेतृत्व विकास र जिम्मेवारी बाँडफाँटको अभ्यास तल्लो तहबाटै सुरु गर्नुपर्ने बताएका छन्।
उनले पार्टीमा आबद्ध भएकै आधारमा कसैलाई गलत कामको छुट नहुने स्पष्ट पार्दै विधिको पालना सबैका लागि अनिवार्य हुनुपर्ने धारणा राखे।
निर्वाचन क्षेत्र भ्रमणका क्रममा इच्छाकामनामा स्थानीय नेता तथा कार्यकर्तासँगको भेटघाटमा लामिछानेले वडा, पालिका, जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म नेतृत्व गर्न सक्ने जनशक्ति अहिलेबाटै तयार गर्नुपर्ने बताए।

नेतृत्वको जिम्मेवारी जुनसुकै समयमा आउन सक्ने भएकाले कार्यकर्ताले आफूलाई त्यसअनुसार तयार राख्नुपर्ने उनको भनाइ छ।
पार्टीप्रति समर्थन वा सदस्यता भएकै आधारमा कसैलाई अनुचित काम गर्ने छुट नहुने उल्लेख गर्दै उनले रास्वपा विधिमा विश्वास गर्ने पार्टी भएको बताए।
‘पार्टीका समर्थकले जे गरे पनि हुन्छ भन्ने होइन। पार्टी विधिमा चल्छ भन्दैमा आफ्ना नेता तथा समर्थकलाई पनि जे गरे पनि छुट हुँदैन। हामी विधिमा विश्वास गर्छौँ,’ उनले भने।
उनले राज्यका सबै संस्था र निकायमा विधिको पालना सुनिश्चित हुनुपर्ने तथा त्यसलाई व्यवहारमा उतार्न पार्टीले काम गरिरहेको पनि बताए।
लामो समय निर्वाचन क्षेत्रमा आउन नपाएको बताउँदै लामिछानेले पार्टी निर्माण, संगठन सञ्चालन र सरकारसँग समन्वयलगायतका जिम्मेवारीले आफू व्यस्त रहेको बताए।
स्थानीय विकास निर्माणका कामलाई प्रभावकारी बनाउन पार्टीको संस्थागत संरचना सक्रिय हुनुपर्नेमा जोड दिँदै उनले नागरिकले हरेक विषयमा सांसद नै खोज्ने अवस्थाको अन्त्य आवश्यक रहेको धारणा राखे।
स्थानीय तहमा सम्भावित नेतृत्व पहिचान र विकास गर्न कार्यकर्तालाई आग्रह गर्दै लामिछानेले अहिलेबाटै जिम्मेवारी सम्हाल्न सक्ने सक्षम नेतृत्व तयार गर्नुपर्ने बताएका छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।