कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानस्थित मैँचेडाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचेडाँडामा पार्क निर्माण र प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनमा आएसँगै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।
गण्डकी प्रदेश सरकारको १० लाख र स्थानीय जनश्रमदान एक लाख गरी कूल ११ लाख रुपैयाँको लागतमा माछापुच्छ्रे सहिद पार्क निर्माण सम्पन्न भएको वडाध्यक्ष नारायण पौडेलले बताए। पार्कमा सहिद स्तम्भ, प्रतीक्षालय र प्रवेशद्वार निर्माण गरिएको छ।

सहिद स्तम्भमा माओवादी सशस्त्र सङ्घर्षका क्रममा कास्कीबाट सहिद बनेकाहरू, राणाशासन विरोधी आन्दोलन, प्रजातान्त्रिक तथा वाम आन्दोलन, झापा आन्दोलन र जनआन्दोलनलगायत विभिन्न परिवर्तनका आन्दोलनमा जीवन उत्सर्ग गर्नेको विवरण समेटिएको छ। पार्कको वरिपरि आगन्तुकका लागि विश्रामस्थल निर्माण गरिएको छ।
समुद्री सतहबाट एक हजार ६८० मिटरको उचाइमा रहेको मैँचे डाँडा प्राकृतिक दृश्यावलोकनका दृष्टिले आकर्षक स्थान हो। यहाँबाट पोखरा बजार, आसपासका डाँडाकाँडा तथा हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ।
वडाध्यक्ष पौडेलले पार्क निर्माणपछि मैँचे डाँडामा पर्यटकीय चहलपहल बढ्ने अपेक्षा गरिएको बताए। “मैँचे डाँडा आफैँमा प्राकृतिक सुन्दरताले भरिएको स्थान हो। यहाँबाट पोखरा बजारसहित वरपरका डाँडाकाँडा र हिमालको राम्रो दृश्य देखिन्छ। पार्क निर्माणले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, पौडेलले भने।
मैँचे डाँडा विगतमा खुमई र कोर्चोङसम्मको पदयात्राका लागि प्रयोग हुने मार्गमा पर्दथ्यो। यहाँबाट ओदाने हुँदै खुमई जाने–आउने गरिए पनि पछिल्लो समय सरिपाखा र टुसे हुँदै खुमई पुग्ने पदमार्ग बढी प्रचलनमा आएपछि मैँचे डाँडाको पदयात्रा गतिविधि घटेको स्थानीय बताउँछन्।
स्थानीय देवीलाल लामिछानेका अनुसार विगतमा मैँचे डाँडा चरन क्षेत्रका रूपमा परिचित थियो। यहाँ भैँसीका गोठ रहने गरेका थिए। मैँचे डाँडामा हालै प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ।
पोखरास्थित एरोडाइनामिक प्याराग्लाइडिङ कम्पनीले दक्ष पाइलट उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण केन्द्र सञ्चालन गरेपछि यस क्षेत्रमा थप पर्यटकीय गतिविधि सुरु भएका छन्।
सहिद पार्क, प्राकृतिक दृश्यावलोकन, पुरानो पदमार्ग र प्याराग्लाइडिङ प्रशिक्षण केन्द्रलाई जोडेर पर्यटन गतिविधि विस्तार गर्न सके मैँचे डाँडा नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने स्थानीयको अपेक्षा छ। पोखरा–बागलुङ राजमार्गअन्तर्गत हेमजाको मिलनचोक हुँदै लाहाचोकको पातीखोलाबाट मैँचे डाँडा पुग्न सकिन्छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।