नेकपा एमालेका महासचिव शंकर पोखरेलले विपद् व्यवस्थापनमा सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन्।
प्रेस चौतारी नेपाल दाङले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भोटेकोशी बाढीबाट विस्थापित नागरिकको पुनर्स्थापना र व्यवस्थापनमा सरकारले खेलेको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरे।
उनले भने, ‘विपद् व्यवस्थापनको सवालमा यो सरकार निकम्मा भएको छ। भोटेकोशी बाढीका विस्थापितका सन्दर्भमा यो सरकारले खेलेको भूमिका अत्यन्त निराशाजनक छ। यसमा सरकार निकम्मा साबित भएको छ।’

त्यस्तै, बजारमा मूल्यवृद्धि र अराजकता बढिरहेको भन्दै उनले त्यसलाई नियन्त्रण तथा व्यवस्थापन गर्न सरकार असफल भएको बताए।
‘बजारमा एक प्रकारको अराजकता छाएको छ। मूल्य आकासिएको छ। त्यसलाई सरकारले व्यवस्थापन गर्न सकेको छैन,’ उनले भने।
सरकार सामाजिक सञ्जालमा देखिने गतिविधिमा केन्द्रित भएको तर जनताका वास्तविक समस्याको समाधानमा कमजोर रहेको उनको टिप्पणी थियो।
‘सरकार सोसल मिडियामा सफल भएको छ। यथार्थमा सरकार कमजोर साबित भएको छ। जनताका सरोकारका मुद्दा सम्बोधन गर्ने कुरामा सरकार असफल साबित भएको छ,’ पोखरेलले भने।
यस्तै, महासचिव पोखरेलले सरकारका कामकारबाहीप्रति जनतामा निराशा बढ्दै गएको उल्लेख गर्दै त्यसले समाजमा असन्तुष्टि र अराजकता निम्त्याउन सक्ने चेतावनी दिए।
उनले भने, ‘यसले जनतामा निराशा बढाउँदै छ। यसले फेरि समाजमा अराजकता जन्माउँछ र बङ्गलादेशको जस्तो अवस्था आउँछ।’
पुराना राजनीतिक दललाई जनताले निर्वाचनमार्फत दण्डित गरेको उल्लेख गर्दै उनले ती दलले आफूलाई नयाँ विकल्पका रूपमा स्थापित गर्न नसके लोकतन्त्र नै दुर्घटनामा पर्न सक्ने बताए।
‘नेपालका पुराना राजनीतिक दललाई गएको निर्वाचनमा जनताले दण्डित गरे। उनीहरूले आफूलाई नयाँ विकल्पका रूपमा अघि बढाएनन् भने लोकतन्त्र दुर्घटनामा पर्न सक्दछ,’ उनले भने।
संविधान निर्माण र लोकतन्त्र स्थापनामा भूमिका खेलेका राजनीतिक दलहरूले जनतासँग टुटेको सम्बन्ध पुनर्स्थापित गर्नुपर्ने उनको भनाइ थियो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।