विज्ञापन
राजनीति

महाधिवेशनमा आर्थिक चलखेल भएको प्रचार आधारहीन: विश्वप्रकाश

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा नेतृत्व परिवर्तनका लागि आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा चलाइएको प्रचार पूर्ण रूपमा आधारहीन भएको बताएका छन्।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कुनै बिचौलियाले भनेकै भरमा करोडौँ रुपैयाँको लेनदेन भएको निष्कर्ष निकाल्न नमिल्ने बताए।

गगन थापा र आफूले पार्टीको नेतृत्व फेर्न करोडौँ रुपैयाँ बुझाएको भन्ने आरोपप्रति प्रश्न उठाउँदै उनले पटक-पटक सत्ताको लाभ लिएका नेताहरू र आफूहरूबीचको राजनीतिक तथा आर्थिक हैसियत तुलना गर्न आग्रह गरे।

विज्ञापन

कुनै आपराधिक घटनामा पक्राउ परेको व्यक्तिले कसैको नाम जोड्दैमा त्यसलाई अदालत वा कानुनले प्रमाणका रूपमा स्वीकार नगर्ने बताउँदै शर्माले सामाजिक सञ्जालका प्रायोजित हल्लाको पछि नलाग्न अनुरोध गरे।

शर्माले कांग्रेसको विशेष महाधिवेशनदेखि १५ औं महाधिवेशनसम्मका सम्पूर्ण प्रक्रिया पार्टीको विधि, विधान, पद्धति र संविधानअनुसार नै सम्पन्न भएको दाबी गरे।

महाधिवेशन प्रतिनिधिहरूको सार्वभौम निर्णय कार्यान्वयन भइसकेको भन्दै उनले पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई लिएर अनावश्यक भ्रम नछर्न आग्रह गरे।

पार्टी रूपान्तरणबारे बोल्दै शर्माले भने, ‘राष्ट्रिय आवश्यकता र बदलिँदो परिस्थितिअनुसार नेपाली कांग्रेसलाई नयाँ सोच, ऊर्जा र दिशासहित अघि बढाउनुपर्ने समय आएको छ। पार्टीको विशेष महाधिवेशनदेखि आगामी १५ औं महाधिवेशनसम्मका प्रक्रिया विधि, विधान र पद्धतिअनुसार अघि बढेका छन्। अपुष्ट आरोप र हल्लाभन्दा तथ्य, प्रमाण र विवेकलाई प्राथमिकता दिनुपर्छ।’

पार्टीलाई चुस्त, व्यवस्थित र योजनाबद्ध रूपमा अघि बढाउँदै देशको समृद्धिमा लाग्नुपर्ने खाँचो औंल्याउँदै उनले थपे, ‘अब काभ्रे कांग्रेसले गाउँ, टोल र जनताको घरदैलोसम्म पुगेर संगठन बलियो बनाउनुपर्छ। अनुभवी नेतृत्व र युवापुस्ताको सहकार्यमा जिल्लामा नयाँ उत्साह, विश्वास र ऊर्जा जगाउनुपर्छ। हामी अध्ययन, मेहनत, एकता र योजनाका साथ पार्टी तथा देशको समृद्धिका लागि अघि बढ्नुपर्छ।’

वरिष्ठ उपसभापति शर्माले संगठन विस्तार र सुदृढीकरणका लागि कार्यकर्ताहरू गाउँ र समुदायस्तरमा पुग्नुपर्ने बताए। कार्यकर्तामा आशा र आत्मविश्वास जगाउन सके मात्र समाजमा कांग्रेसप्रति नयाँ विश्वास स्थापित हुने उनको भनाइ थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।