सार्वजनिक खरिद प्रक्रिया छल्न पत्रिकाको नक्कली प्रति तयार गरी राज्यकोष हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र मिडिया सञ्चालकसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारको विशेष अनुदानअन्तर्गत डिप बोरिङ जडान, कोल्डस्टोरको कम्पाउन्ड वाल र विद्यालय भवन निर्माणका तीन योजनाको बोलपत्र आह्वान राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था थियो।
तर, गाउँपालिकाका कर्मचारी र मिडिया सञ्चालकहरूको मिलेमतोमा खुला प्रतिस्पर्धा सीमित पार्ने बदनियतले बजारमा वितरण हुने पत्रिकामा सूचना नछापी, लेखापरीक्षण प्रयोजनार्थ फाइलमा राख्नका लागि मात्रै ‘जनकपुर टुडे’ को २०७८ वैशाख २३ गतेको एउटा छुट्टै प्रति तयार पारिएको अख्तियारको अनुसन्धानमा खुलेको छ।

सोही झूटो विवरणका आधारमा अमृत मिडिया प्रा.लि.मार्फत ३ लाख ८० हजार रुपैयाँ गैरकानुनी भुक्तानी लिइएको थियो।
अख्तियारले धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डल र तत्कालीन सह-लेखापाल विनोद कुमार मण्डलविरुद्ध ३ लाख ८० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनबमोजिम कैद, बिगोबमोजिम जरिवाना र बिगो असुल उपरको मागदाबी गरेको छ।
त्यस्तै मतियारको भूमिका निर्वाह गरेको भन्दै ‘जनकपुर टुडे’ राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवम् जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि.का अध्यक्ष वृज कुमार यादव, अमृत मिडिया प्रा.लि.का अध्यक्ष एवम् जनकपुर टुडे मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र यादव र अमृत मिडियाका बजार प्रतिनिधि संजय कुमार यादवविरुद्ध पनि जनही ३ लाख ८० हजार रुपैयाँ बिगो र मुख्य कसुरदारसरह सजाय माग गरिएको छ।
आयोगले जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि.लाई समेत कानुनी व्यक्तिका रूपमा प्रतिवादी बनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।