ब्रेकिङ न्युज
विज्ञापन
समाज

फलफूल खेतीः बगैँचा बढे तर उत्पादन न्यून

मधेस आँप, लिची र केरासहितका फलफूल उत्पादनको उर्वर ठाउँ मानिन्छ। यहाँ ती फलफूल खेतीले खासै गति लिएको छैन। जिल्लामा आँप र लिचीका बगैँचा बर्सेनि केही बढेका देखिए पनि उत्पादनले भने उत्साह दिन नसकेको किसानको गुनासो छ।

“बगैँचा त बढेका छन् तर उत्पादन बढेन”, बर्दिबास-५ चेरुका किसान होतराज घिमिरे भन्छन्, “खासगरी विभिन्न रोगव्याध, सुक्खा र वर्ष बिराउने क्रमले आँप र लिचीको उत्पादन बढ्न नसकेको हो, आफ्ना करिब २०० आँपका रुखमा पछिल्ला तीन वर्षयता झन्झन् उत्पादन घटेको छ।”

मधेसमा फलको राजा मानिने आँप खेती यसपालि जिल्लामा पाँच हजार हेक्टरको सेरोफेरोमा पुगेको जिल्लास्थित कृषि ज्ञान केन्द्र कार्यालयको तथ्याङ्क छ। यो गत वर्षभन्दा ५०० हेक्टरले बढी हो। आव २०८२/८३ मा जिल्लामा आँपखेती चार हजार ५६० हेक्टरमा रहेको कार्यालयको तथ्याङ्क छ।

विज्ञापन

बितेको सिजनको सो वर्ष आँप २९ हजार ७०० मेट्रिक टन उत्पादन भएको थियो। जुन आव २०८०/८१ भन्दा निकै कम हो। आव २०८०/८१ मा चार हजार ५०० हेक्टरमा रहेको आँप बगैँचाबाट ४७ हजार २५० मेट्रिक टन उत्पादन भएको थियो।

आव २०८१/८२ मा भने माथिका दुवै वर्षभन्दा निकै कम उत्पादन भएको तथ्याङ्क छ। सो वर्ष चार हजार ५०० हेक्टरमै रहेको बगैँचाबाट १३ हजार ४६० मेट्रिक टनमात्र आँप उत्पादन भएको तथ्याङ्कले देखाएको छ।

वर्षवर्षमा आँप उत्पादनमा यति धेरै फरक पर्नुमा ‘अफइयर’ (वर्ष बिराउने), सुक्खा खडेरी र मधुवा (आँपको फूलमा लाग्ने डढुवा रोग) को प्रकोप मुख्य कारण भएको बागवानी विज्ञसमेत रहेका कृषि ज्ञान केन्द्र कार्यालय जलेश्वरका सूचना अधिकारी अविरलकुमार महतोको भनाइ छ।

आँपमा प्रत्येक दुईतीन वर्षमा ‘अफइयर’ हुने हुँदा सो वर्ष उत्पादन घट्ने गरेको महतोले स्पष्ट पारे। मधेसको माटो र हावापानी आँपका लागि अनुकूल भए पनि बजारको अनिश्चितताले यो खेती महोत्तरीमा खासै बढ्न नसकेको विज्ञहरु स्वीकार्छन्। मधेसमा आँप रोप्ने समय असारदेखि असोजसम्म र पछि फागुन उपयुक्त मानिन्छ। यसपालि चालु आवको अन्त्यसम्म पाँच हजार हेक्टरको सेरोफेरोमा आँपखेती पुग्ने कार्यालयको अनुमान छ।

यसैगरी मधेसको अर्को प्रसिद्ध फल लिचीका बगैँचा पनि जिल्लामा सामान्य रूपमा बढ्दो छ। आव २०८०/८१ मा १०५ हेक्टरमा मात्र रहेको लिची सो वर्ष एक हजार ५० मेट्रिक टन उत्पादन भएको थियो। सोलगत्तै पछिको आव २०८१/८२ मा खेती १२० हेक्टर र आव २०८२/८३ मा १४० हेक्टर पुगेको कार्यालयले जनाएको छ।

यी दुई वर्षमा उत्पादन क्रमशः एक हजार २२५ र एक हजार ४५० मेट्रिक टन पुगेको तथ्याङ्क रहेको महतोले स्पष्ट पारे। चालु आवमा लिची केही बढेर २०० हेक्टरमा पुग्ने कार्यालयको अड्कल छ। थोरथोरै बढेको क्षेत्रफलमा उत्पादन पनि केही बढेको देखिए पनि रुखको अनुपातमा उत्पादन कमै भएको विज्ञको भनाइ छ।

त्यसैगरी, बजारैपिच्छे केराको बजार सदाबहार जमे पनि महोत्तरीमा केराखेती खासै बढेको छैन। बरु तीन वर्षअघिभन्दा अहिले केराखेती घटेको छ। आव २०८०/८१ मा ३०० हेक्टरमा रहेको केराखेती २०८१/८२ मा २८० हेक्टरमा झरेको तथ्याङ्कमा देखिन्छ। आव २०८२/८३ मा भने अलिकति बढेर २९० हेक्टरमा पुगेको खेती यसपालि ४०० हेक्टरको हाराहारी पुग्ने बागवानीविज्ञ महतोले बताए।

केराको उत्पादन आव २०८०/८१ मा चार हजार ७२९, आव २०८१/८२ मा चार हजार ४८० र आव २०८२/८३ मा चार हजार ४९५ मेट्रिक टन उत्पादन भएको महतोले तथ्याङ्क केलाउँदै स्पष्ट पारे।

मधेसका प्रत्येकजसो चाडबाडमा अनिवार्यजस्तै मानिएको केरा यहाँका सबैजसो बजारमा दिनहुँ बिक्री हुन्छ। यो सबै केरा अन्य जिल्ला र भारततिरबाट समेत आउने फलफूल व्यापारी नै बताउँछन्। केराका लागि पनि यहाँको माटो, हावापानी अनुकूल भए पनि यस आधारमा खेती भने नबढेको देखिन्छ।

आँप, लिची र केराको यो व्यावसायिक खेतीको तथ्याङ्क हो। मधेसमा थोरै जग्गा हुनेले पनि घरकरेसामै एकदुईवटा आँप, लिची र एकाध झाङ केरा लगाएका बाक्लै देखिन्छ। आफ्नो घरको प्रयोजनका लागि यसरी आँप, लिची र केरा लगाउने किसान भने आम रूपमै पाइने गरेको महतो बताउँछन्।

जिल्लामा ७१ हजार हेक्टर खेतीयोग्य जग्गा रहेको कार्यालयको तथ्याङ्क छ। यसबाहेक अन्य बाली राम्ररी नहुर्कने पाखा/ढड्यान ठाउँमा पनि सामान्य मेहनत र सम्भारमा आँप, लिची र केरा हुर्काउन सकिन्छ।

मधेसको माटो र हावापानी यी फल खेतीका लागि अनुकूल भए पनि यसबाट जीवनयापन र राम्रो आर्जनको भरोसा जगाउन नसकिँदा खेती अपेक्षित बढ्न नसकेको कृषि क्षेत्रकै सरकारी सेवाको सहसचिबबाट अवकाश लिनुभएका बागवानीविज्ञ भङ्गाहा-५ सीतापुरका रामबहादुर भुजेलको विगत अनुभव छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।