ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

प्रधानमन्त्रीको स्टेटसले जेनजी अभियन्तामा खैलाबैला, को हुन् अभियन्ताले भनेको ‘फेसबुके राजा’ ?

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सँगै सडक संघर्ष गरेका अभियन्ताबीच बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि तिक्तता बढेको देखिएको छ।

आन्दोलनका क्रममा एउटै स्थानमा उभिएर सत्तासँग प्रश्न गरेका अभियन्तामध्ये केही सरकारमा पुगेका छन् भने केही सडक र सामाजिक सञ्जालबाट सरकारलाई खबरदारी गरिरहेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार साँझ सामाजिक सञ्जालमा खुलामञ्चबारे टिप्पणी गरेपछि जेनजी आन्दोलनका अभियन्ताबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोप सुरु भयो।

विज्ञापन

प्रधानमन्त्री शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा आयोजना भएपछि, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्दै सामाजिक सञ्जालमा लेखेका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि जनाएकी थिइन्। उनले जेनजी आन्दोलनको कारण संस्कार नभएकाहरु प्रधानमन्त्री तथा मन्त्री र सांसद भएको बताएकी थिइन्।

त्यसपछि अभियन्ता ऋषि थापाले बमलाई आन्दोलनको ‘रणमैदानको वास्तविकता’ थाहा नभएको बताए। उनले आन्दोलनका क्रममा घाइते साथीलाई ‘बालेन’ नाम लिएर आशा र भरोसा दिलाउने गरिएको बताए।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जब बन्दुकको गोलीले साथीहरूको टाउको, हात, खुट्टा र ज्यान भेद्न थाल्यो, जब सडकमा रगतको मुस्लो बग्न थाल्यो, एक आँखा हेर्न खोज्दै बेहोस हुन लागेको साथीलाई अर्को घाइते साथीले बालेन नामले जगाउँथ्यो र आशा देखाउँथ्यो, तलाई केही हुन्न, होसमा आइज।’

उनले त्यतिबेलाको अवस्थामा ‘बालेन’ नाम जेनजी युवाको आशा र भरोसासँग जोडिएको दाबी गरेका छन्।

थापाको उक्त भनाइपछि बमले आफू पनि भदौ २३ र २४ गतेको आन्दोलनमा सडकमा रहेको बताउँदै थापालाई नै आफ्नो ‘आन्दोलनको नेता’ भएको बताएकी छिन्।

बमले प्रतिकृया दिइकी छिन्, ‘नेता ज्यू, मेरो नेता त तपाईं हो आन्दोलनको। म त भदौ २३ पनि सडकमा थिएँ। २४ मा पनि सडकमा थिएँ। मैले सबै देखेको छु।’

उनले थप लेखेकी छन्, ‘तपाईं बरु आफ्नो प्रधानमन्त्री ज्यूलाई सोध्नुहोस्, यही चाहेको हो हामीले भनेर। तपाईं जेनजी कोटाबाट प्रधानमन्त्री सचिवालयमा हुनुहुन्छ है ?’

त्यसको जवाफमा थापाले बमलाई ‘कोटा प्रणालीबाट कोही नभएको’ लेखेका छन्, ‘रक्षा बम नेताज्यू, यहाँ कोटा प्रणालीबाट कोही छैन। अब हुन सक्छ तिमी आउँछौ भने। तर यहाँ काम गर्नुपर्छ, आन्दोलनले मात्रै हुँदैन, सक्छौ ?’

थापा अहिले प्रधानमन्त्री शाहको सचिवालयमा सल्लाहकार तथा प्रशासन सहायकका रूपमा कार्यरत छन्। प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्रधानमन्त्रीको सल्लाहकार समूह तथा स्वकीय सचिवालयमा विभिन्न पदाधिकारी तथा कर्मचारी कार्यरत छन्।

प्रधानमन्त्री शाह र जेनजी अभियन्ताबीच सामाजिक सञ्जालमा बहस चर्किएपछि अर्का जेनजी अभियन्ता मिराजले पनि प्रतिक्रिया जनाएका छन्। उनले अहिलेको राजनीतिक परिस्थितिबाट देशले निकास नपाउने दाबी गर्दै ‘तेस्रो ध्रुव’ आवश्यक रहेको बताएका छन्।

उनले प्रधानमन्त्री शाहलाई ‘फेसबुके राजा’ र नेपाली कांग्रेसका अधिवेशन प्रतिनिधि सचिन तिमल्सेनालाई ‘कांग्रेसको हनुमान’ भन्दै आलोचना गरेका छन्।

मिराजले लेखेका छन्, ‘एउटा फेसबुके राजा छ, गफ र फेसबुके सुशासनको भीष्म पितामह। कुनै दिन खुला मञ्चमा कुच्चो के लगायो रे, त्यही दिनदेखि आफूले खुला मञ्च नै बनाएको सम्झेको छ।’

कांग्रेसका प्रतिनिधि तिमल्सेनामाथि टिप्पणी गर्दै उनले लोकतन्त्रको ‘कपीराइट’ लिएको आरोप लगाएका छन्। उनले रक्षा बमलाई लक्षित गर्दै सिंहदरबार जलाउन गएको र त्यसलाई देशलाई निकास दिएको भ्रमका रूपमा चित्रण गरेका छन्।

‘अर्को छिन् सिंहदरबार जलाउन गएर ‘लु खा’ भनेर देशलाई निकास दिएको भ्रममा रहेकी युवती। प्रतिक्रियावादको पराकाष्ठा,’ उनले लेखेका छन्।

मिराजले अहिलेका पात्रहरूबाट देशले निकास नपाउने निष्कर्ष निकाल्दै देश र समाज बुझेका राजनीतिक व्यक्तिहरू एक ठाउँमा आएर नयाँ राजनीतिक शक्ति निर्माण गर्नुपर्ने बताएका छन्।

उनले भनेका छन्, ‘समाजको बुझाइ शून्य, अन्तर्विरोधको बुझाइ शून्य, खाली विरोधका लागि विरोध। यस्ता जोकरहरूबाट देशले निकास पाउँदैन, म ढुक्क छु। अब तेस्रो ध्रुव आवश्यक छ—देश र समाज बुझेका राजनीतिक व्यक्तिहरू एक ठाउँमा आएर बनाउनुपर्ने छ।’

यसरी जेनजी आन्दोलनका क्रममा एउटै मोर्चामा देखिएका अभियन्ताहरू नै अहिले सरकारको नेतृत्व र राजनीतिक संस्कारप्रति प्रश्न उठाउने अवस्थामा कसरी पुगे भनेर सोच्नुपर्ने समय आएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।