नेपालीको दोस्रो ठुलो चाड तिहारको अवसरमा पोखरामा कात्तिक तेस्रो सातादेखि फूलको मेला लाग्ने भएको छ।
फ्लोरिकल्चर एशोसियसन नेपाल (फ्यान) कास्की शाखाको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवर्द्धनमा पोखरा रंगशालाको दुई नम्बर गेट भित्रको चौरमा यही कात्तिक १८ गतेदेखि २३ गतेसम्म नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रदेश स्तरीय एवम् तेस्रो सयपत्री फूल मेला–२०८३ आयोजना हुने सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो।
मेलाको आगामी बुधबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने तय भएको एसोसिएसनले जनाएको छ।

मेलामा २६ वटा स्टल रहने फ्लोरिकल्चर एशोसियसन नेपाल कास्की शाखाका अध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए। उनका अनुसार मेलामा व्यावसायिक २२ वटा, कृषि सामग्रीका ३ वटा र सूचनामूलक एउटा स्टल रहनेछन्।
मेलामा करिब ५० प्रजातिका गोदावरी फूल प्रदर्शनीमा राखिने एसोसिएसनका पूर्व अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए।
‘संसारमा एक सयभन्दा बढी गोदावरीका प्रजाति भए पनि पोखरामा करिब ५० प्रजातिका गोदावरी पाइन्छन्,’उनले भने,‘ती सबै गोदावरीका प्रजातिहरू मेलामा प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन्।’
उनका अनुसार मेलामा गोदावरी मुख्य आकर्षणको रूपमा रहे पनि तिहारे फूल (सयपत्री), सिजनल फूलहरू, सुनगाभा, विभिन्न वनस्पति, परम्परागत बिरुवा, बोन्साईका बिरुवा, कट्फ्लावर लगायतका फूलहरूको प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन्।
मेलाको मुख्य उद्देश्य फूल प्रयोगप्रति सर्वसाधारणलाई आकर्षित गर्दै स्वदेशी फूलको प्रयोगमा जोड दिनु रहेको अध्यक्ष सुवेदीले स्पष्ट पारे।
‘पुष्प व्यवसाय गर्न चाहने, घर आँगन तथा बगैँचा सजाउन चाहने फूल बिरुवाप्रति अभिरुचि राख्ने वा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैका निम्ति मेला उपयोगी हुनेमा हामी विश्वस्त छौँ’,उनले भने। मेलाको करिब ३५ हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको सुवेदीले बताए।
गण्डकी प्रदेशमा व्यावसायिक रूपमा ४८ जनाले पुष्प व्यवसाय गर्दै आएको एसोसिएसनले जनाएको छ। त्यसबाहेक सिजनल उत्पादन गर्ने किसानहरू पनि धेरै छन्।
पोखरामा करिब २ सय रोपनीमा यस वर्ष किसानले सयपत्री फूल लगाएको पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए। किसानहरूले तिहारलाई लक्षित गरेर सयपत्री फूल उत्पादन गरेको उनले बताए।
यस वर्ष फूलको उत्पादन घट्ने पूर्वानुमान गरिएको छ। जलवायु परिवर्तनको असरले फूल खेल्ने समयमा आएको बदलाव तथा अर्नव चक्रवातका कारण भएको वर्षाले फूलको हाँगा लाछ्ने, ताछ्ने र फूल झार्ने लगायतका समस्याका कारण फूल उत्पादन घट्न सक्ने प्रमुख कडरियाले बताए। यसले फूलको मूल्यमा समेत असर पार्न सक्ने उनको अनुमान छ।
फूल उत्पादक किसान रमेशकुमार श्रेष्ठले अर्नव चक्रवातका कारण भएको वर्षाले सयपत्री फूलमा १५ देखि २० प्रतिशत क्षति पुगेको बताए।
सो क्षति क्षतिपूर्ति हुने गरी फूलको मूल्य कायम गर्नुपर्ने उनको माग छ। ‘एक त जलवायु परिवर्तनको असरले फूल छिट्टै फुलेर झर्न थालेका छन्’्,उनले भने,‘अर्कोचाहिँ वर्षाले फूलमा क्षति पुर्याएको छ। त्यसैले किसानको लागत हेरेर फूलको मूल्य निर्धारण गर्नु उचित हुन्छ।’
पोखरा महानगरपालिकाले यस वर्ष हालसम्म फूल र मालाको मूल्य निर्धारण गरिसकेको छैन। अघिल्ला वर्षहरूमा महानगरले फूल प्रतिकेजी ५ सय रुपैयाँ निर्धारण गरेको थियो भने मालाको मूल्य १ सय ५० तोकेको थियो।
त्यस्तै, महानगरले फूलको थुँगाको ३ फरक मूल्य तोकेको थियो। महानगरले ५ ग्रामभन्दा माथिको फूलको प्रति थुँगा ५ रुपैयाँ, ३ देखि ५ ग्रामसम्मको फूलको थुँगाको ४ रुपैयाँ र ३ ग्रामसम्मको फूलको थुँगाको मूल्य ३ रुपैयाँ तोकेको थियो।
महानगरले मूल्य तोके पनि व्यवसायी र किसानले तिहारको अन्तिम समयमा उलङ्घन गर्ने गरेका छन् । प्रमुख कडरियाले केहि दिनमै फूलको मूल्य निर्धारण हुने बताए।
तर पहिले जसरी तौल अनुसारको ग्रेडिङ गरेर फरक मूल्य नतोकी केजीको मात्रै मूल्य तोक्ने तयारीमा महानगर रहेको उनले प्रस्ट्याए। ‘अघिल्ला वर्षकै हाराहारीमा केजीको हिसाबले मूल्य निर्धारण हुनसक्छ’,उनले भने।
पोखरामा तिहारमा मात्रै २ देखि ३ करोडको फूल तथा माला आवश्यक पर्ने अनुमान गरिन्छ। जसमध्ये ७० प्रतिशत स्थानीय उत्पादनले धान्ने पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख कडरियाले बताए।
बाँकी ३० प्रतिशत कास्कीका अन्य पालिका र नजिकका जिल्लाबाट आयात हुने गरेका छन्। पोखरामा पछिल्लो समय भारतीय फूलको खपत न्यून मात्रै हुने गरेको छ भने प्लाष्टिकका माला आयातमा प्रतिबन्ध लगाइएको छ।
स्थानीय फूल हेर्दा आकर्षक, ठुलो थुँगा, गलामा लगाउँदा कलर नलाग्ने र केमिकल प्रयोग नहुने भएकाले स्वस्थताको हिसाबले पनि राम्रो हुने कडरियाको भनाई छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।