सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताउँदै नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा भएको बताएका छन्।
नेपाल संवत् ११४७ को अवसरमा न्हूँदँ राष्ट्रिय समारोह समितिले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पञ्चायती शासनकालमा भाषा, संस्कृति, लिपि र पहिचानका लागि नेपाल संवत् अभियानले ऐतिहासिक आवाज उठाएको स्मरण गरे।
शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा, नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता र सरकारी कागजातमा उल्लेख गर्ने निर्णय आन्दोलनका महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै सभामुख अर्यालले भने, ‘अब यी उपलब्धिलाई व्यवहारमा कार्यान्वयन गर्दै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा नेपाल संवत्को प्रयोग विस्तार गर्न आवश्यक छ।’

नेपाल संवत् केवल समय गणना गर्ने पात्रो मात्र नभई ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानको धरोहर भएको उनको भनाइ थियो।
राष्ट्रिय विभूति शङ्खधर साख्वाले गरिब जनतालाई ऋणमुक्त गराएर सामाजिक न्याय, परोपकार र सामूहिक हितको सन्देश दिएको उल्लेख गर्दै उनले साख्वाको योगदान सम्पूर्ण मानव समाजका लागि अनुकरणीय रहेको बताए।
सभामुख अर्यालले नेपाल भाषा, रञ्जना लिपि र समग्र मौलिक सांस्कृतिक सम्पदाको संरक्षणमा राज्य र समाज दुवै सक्रिय हुनुपर्नेमा जोड दिए। यस अभियानलाई नयाँ पुस्तासँग जोड्दै शिक्षा, अनुसन्धान, प्रविधि र दैनिक जीवनमा प्रयोग विस्तार गर्नुपर्ने उनले औंल्याए।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजमा प्रयोगमा ल्याइसकेको जानकारी दिए।
उनले बागमती प्रदेशका १३ वटै जिल्लामा शङ्खधर साख्वा प्रतिष्ठान स्थापना तथा नेपाल भाषाको विकास र संरक्षणका लागि बजेट विनियोजन गरिएको बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल भाषा सङ्घर्ष समितिका अग्रजहरूले गरेको बलिदानीपूर्ण आन्दोलनकै कारण नेपाल भाषाको प्रवर्द्धन र नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन सम्भव भएको धारणा राखे।
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नेपाल संवत् ११०० देखि नै यसलाई राष्ट्रिय संवत्को मान्यता दिनुपर्ने आवाज उठे पनि गणतान्त्रिक सरकारले मात्र यसको उचित सम्बोधन गरेको बताइन्।
पाँच दशक लामो नेपाल भाषा आन्दोलन आज पनि सांस्कृतिक र राजनीतिक जागरणको प्रतिविम्बका रूपमा उत्तिकै सान्दर्भिक रहेको उनले उल्लेख गरिन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।