ब्रेकिङ न्युज
विज्ञापन
समाज

नेपालको आर्थिक विकासमा भारतको सधैँ साथ : कन्सुलर सिंह

नेपालका लागि भारतीय दूतावासका कन्सुलर (प्रथम सचिव) नारायण सिंहले नेपालको विकासका लागि भारत सरकार सधैँ तत्पर रहेको बताएका छन्। भारत सरकारको सहयोगमा निर्माण हुने त्रियुगा नगर अस्पताल भवनको सोमबार शिलान्यास गर्दै कन्सुलर सिंहले सो कुरा बताएका हुन्।

त्रियुगा नगरपालिका–५ देउरीस्थित स्वास्थ्य चौकी परिसरमा निर्माण हुन लागेको अस्पतालको शिलान्यास कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी कन्सुलर सिंहले नेपालको ग्रामीण क्षेत्रको विकासमा भारत सरकारले लामो समयदेखि आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने क्रम नरोकिने प्रतिबद्धता जनाए।

सिंहले भारतले नेपालको विकासमा सन् २००३ देखि नै सहयोग गर्दै आएको स्मरण गराउँदै त्यस्तो सहयोग नेपालको स्थानीय निकायहरूमार्फत सञ्चालन गर्ने गरेको बताए। भारत सरकारको सहयोगले नेपाली समुदायमा उच्च प्रभाव पार्दै आएको उनको भनाइ थियो।

विज्ञापन

खासगरी नेपालको ग्रामीण क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, नदी नियन्त्रण, तटबन्ध, ढल व्यवस्थापन र जलविद्युत् क्षेत्रमा सहयोग गर्न भारतले नेपालमा सामुदायिक विकास परियोजना कार्यक्रम सञ्चालन गर्दै आएको सिंहले बताए। यो परियोजनाबाट तल्लो तह र भुइँतहका नेपाली नागरिकसम्म विकासको प्रतिफल पुग्दै आएको उनको भनाइ थियो।

यस्तो सहयोग गर्दा नेपाल सरकारले किटान गरेका प्राथमिकताका क्षेत्रलाई केन्द्रित गरेर काम गर्ने गरेको बताउँदै उनले तल्लो तहसम्म पुग्ने परियोजनामार्फत ग्रामीण भेगका नागरिकलाई लाभान्वित गराउने भारत सरकारको उद्देश्य रहेको बताए। सिंहका अनुसार भारतले अहिले सञ्चालन गरिरहेको यस परियोजनाअन्तर्गत कोशी प्रदेशमा मात्रै १०३ वटा आयोजना सञ्चालनरत छन्।

नेपालभर भने शिक्षा, स्वास्थ्य, खानेपानी, नदी नियन्त्रण, तटबन्ध, ढल व्यवस्थापन र जलविद्युत्का क्षेत्रमा ६०५ वटा योजना सञ्चालनमा रहेको जानकारी उनले दिए। नेपाललाई भारतले १ हजार ४९ वटा एम्बुलेन्स तथा ३८१ वटा विद्यालय बस सहयोग गरेको बताउँदै सिंहले त्यसमध्ये कोशी प्रदेशमा १५० वटा एम्बुलेन्स तथा ६२ वटा स्कुल बस प्रदान गरेको विवरण सुनाए। उदयपुरमा हालसम्म १३ वटा एम्बुलेन्स तथा ३ वटा स्कुल बस वितरण गरिएको जानकारी उनले दिए।

सिंहले गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका पीडितको उद्धार र राहतका लागि भारत विदेशी सहयोगकर्तामध्ये पहिलो उद्धारकर्ताका रूपमा रहेको स्मरण गराए। विनाशकारी बाढीले पीडा दिइरहेको बेला भारतले छिमेकी मुलुकको नाताले मानवीय सहयोग उपलब्ध गराएको स्मरण गराउँदै सिंहले हालसम्म १४१ मेट्रिकटन खाद्यान्न तथा विभिन्न मानवीय सहायता सामग्री, आकस्मिक उद्धार सामग्री र अन्य आवश्यक उपकरणसहित आपत्कालीन खोज, उद्धार तथा राहत वितरण कार्यमा सहयोग गर्ने दक्ष जनशक्तिसमेत परिचालन गरेको बताए।

सिंहले नेपाललाई निरन्तर प्रदान गरिरहेको सहयोगले दुई देशबीचको बहुआयामिक तथा बहुक्षेत्रीय विकास साझेदारीलाई प्रतिबिम्बित गरेको बताए। उनले यस्तो सहयोगले भारत र नेपालका जनताबीचको गहिरो पारस्परिक विश्वास, मैत्री तथा आत्मीय सम्बन्धको प्रतिनिधित्व गर्ने बताए।

नगर उपप्रमुख महेश्वरी राईले स्वागत मन्तव्य दिएको कार्यक्रममा नगरप्रमुख बसन्त बस्नेत र कन्सुलर सिंहले संयुक्त रूपमा अस्पताल भवनको शिलान्यास गरे। कन्सुलर सिंहले अस्पताल भवन निर्माणका लागि भारतले दिने १५ करोड ९८ लाख ४४ हजार रुपैयाँ अनुदान सहयोगमध्ये पहिलो किस्ताबापतको २ करोड ७२ लाख ७० हजार १०६ रुपैयाँको चेक कार्यक्रमस्थलमै मेयर बस्नेतलाई हस्तान्तरण गरे।

कार्यक्रममा मेयर बस्नेतले भारत सरकारको सहयोगमा अस्पताल भवन बन्ने भएपछि त्रियुगा नगरवासीले सुलभ रूपमा स्वास्थ्य उपचार सेवा पाउने विश्वास व्यक्त गर्दै कन्सुलरमार्फत भारत सरकारप्रति आभार व्यक्त गरे। उनले यसअघि पनि त्रियुगा नगरपालिकाका विभिन्न विद्यालय भवन, स्कुल बस तथा तटबन्ध, खानेपानी र सिँचाइ निर्माणमा गरेको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिए।

यसैबीच, भारतीय दूतावासकै ५ करोड २ लाख २६ हजार ३ सय ९२ रुपैयाँ अनुदान सहयोगमा निर्मित त्रियुगा नगरपालिका–५ कै श्रीपुर खानेपानी आयोजनाको पनि कन्सुलर सिंह र मेयर बस्नेतले संयुक्त रूपमा उद्घाटन गरे।

खानेपानीको हाहाकार भइरहेको श्रीपुरवासीका लागि २५ हजार ८ सय ५० मिटर लामो पाइपलाइनबाट आयोजना सम्पन्न भएपछि ७ सय ७० घरधुरीका ५ हजारभन्दा बढी स्थानीयवासी स्वच्छ खानेपानीबाट लाभान्वित हुन थालेको उपभोक्ता समितिका अध्यक्ष चीनबहादुर राईले बताए।

क्याप्सन : भवन निर्माणका लागि रकमको पहिलो किस्ताको चेक मेयर बस्नेतलाई हस्तान्तरण गर्दै कन्सुलर सिंह। तस्बिर : महेश्वर

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।