तिहारका अवसरमा कपिलवस्तुका १० वटा पालिकामा स्थापना गरिएका ३ सय ७ वटा लक्ष्मीका मूर्तिहरू शान्तिपूर्ण रूपमा विसर्जन गरिएको छ।
साम्प्रदायिक दृष्टिले संवेदनशील मानिएको सीमावर्ती कृष्णनगर क्षेत्रमा ड्रोन र सीसीटीभी क्यामेराको निगरानीसहित सुरक्षा घेराभित्र मूर्ति विसर्जन गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार कृष्णनगर बजार क्षेत्रदेखि मूर्ति सेलाउने स्थान कृष्णनगर नगरपालिका-१ स्थित बढइया पोखरीसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो।

सम्भावित अप्रिय घटना रोक्न सीमावर्ती साना नाकाहरूमा दिनभर निगरानी कडा बनाइनुका साथै भारतीय समकक्षी सुरक्षाकर्मीहरूसँग समेत समन्वय गरिएको थियो।
कृष्णनगरमा सम्भावित तनाव रोक्न सूर्यास्तअघि नै मूर्ति विसर्जन गरिसक्नुपर्ने स्थानीय नियम बनाइएको थियो। तर, मूर्ति विसर्जनको प्रक्रिया रातिसम्मै चलेको थियो।
स्थानीय बासिन्दा नाचगानसहित सहभागी भएर सवारीसाधनमा मूर्ति राखी कृष्णनगर बजार परिक्रमा गराउँदै विसर्जन स्थलसम्म पुगेका थिए। सुरक्षाकर्मीहरू बिहीबार दिउँसोदेखि रातिसम्मै सडकमा तैनाथ रहेका थिए।
शान्ति सुरक्षाको वस्तुस्थिति बुझ्न प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, प्रहरी उपरीक्षक मनोहर भट्ट, सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेसहितको टोली बिहानै कृष्णनगर पुगेको थियो।
त्यहाँ शान्ति सद्भाव कायम राख्न कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाहको संयोजकत्वमा सद्भाव समितिसमेत गठन गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी सुवेदीले जिल्लाभर सुरक्षा व्यवस्था पारिएकाले कहीँकतै अप्रिय घटना नभएको बताए। स्वयं विसर्जनमा सहभागी भएका कृष्णनगरका मेयर शाहले सबैको सहयोगले यस वर्ष पनि शान्तिपूर्ण रूपमा कार्यक्रम सम्पन्न भएको जानकारी दिए। प्रहरी उपरीक्षक भट्टले तिहारभरि नै उच्च सुरक्षा सतर्कता अपनाइएको बताए।
कृष्णनगरमा विगतमा मूर्ति विसर्जनका क्रममा साम्प्रदायिक झडप भएका थिए। वि.सं. २०७६ मा मूर्ति विसर्जनका बेला भएको झडपमा एक जनाको मृत्यु हुनुका साथै कैयौं घाइते भएका थिए।
उक्त घटनापछि विगत ७ वर्षयता कृष्णनगरमा दसैं र तिहारमा निकालिएका मूर्तिहरू सुरक्षा घेराभित्र मात्र विसर्जन गर्ने गरिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।