गृह मन्त्रालयले तिहारका अवसरमा सञ्चालन हुने देउसी-भैलो कार्यक्रममा कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नपाइने जनाएको छ।
मन्त्रालयले नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावलाई संरक्षण गर्ने गरी अनुशासित तथा मर्यादित रूपमा परम्परागत देउसी-भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको हो।
गृह मन्त्रालयका अनुसार देउसी-भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक र मर्यादित ढंगले सञ्चालन हुनुपर्नेछ। कार्यक्रमका क्रममा कसैलाई चन्दा वा दक्षिणा दिन दबाब दिन पाइने छैन।

त्यस्तै विभिन्न जातजाति, धर्म, भाषा, लिंग वा समुदायप्रति घृणा र द्वेष फैलाउने किसिमका अश्लील नृत्य, गीत, संगीत वा नारा प्रयोग गर्न पनि नदिन निर्देशन दिइएको छ।
चाडपर्व मनाउने क्रममा जुवा तथा तास खेल्न नहुने, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्न नहुने तथा मादक वा लागू पदार्थ सेवन गरेर सवारी साधन चलाउन नहुने मन्त्रालयले जनाएको छ।
अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम वा ध्वनि उपकरण प्रयोग नगर्न पनि भनिएको छ। अस्पताल र वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने मन्त्रालयको निर्देशनमा उल्लेख छ।
सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गर्दै वातावरणीय सरसफाइ कायम राख्न र जथाभावी फोहोरमैला नगर्न पनि गृह मन्त्रालयले आग्रह गरेको छ।




प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।