बाढीपहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएपछि दसैं र जाडो मौसमका लागि चीनबाट ल्याइएका सामग्री कोरला नाकामै रोकिएका छन्।
ठुलो परिमाणमा फेन्सी, विद्युतीयलगायत सामग्री नेपाल-चीनबिच अहिले चल्तीमा रहेको मुस्ताङस्थित कोरला नाकामा रोकिएका हुन्। दसैंतिहार र जाडोका ल्याइएका सामान कोरला नाकामा रोकिएको व्यवसायीले बताएका छन्।
अघिल्लो साताको बाढीपहिराबाट कालिगण्डकी करिडोर क्षतविक्षत भएको छ। जोमसोमदेखि लोमान्थाङको कोरलासम्म सडक सञ्चालनमा रहे पनि जोमसोमभन्दा तल्लो खण्ड अवरुद्ध हुँदा चीनबाट ल्याइएका सामान नाकामै रोकिएका हुन्। सामान नाकाम रोकिँदा आफूहरूलाई मर्का परेको व्यवसायीले बताएका छन्।

बेनी-जोमसोम सडकखण्ड सञ्चालनमा आउन अझै कम्तीमा एक साता लाग्ने र त्यो बेलासम्म दसैं भित्रिसक्ने हुँदा सामान बिक्री गर्न गाह्रो हुने चिन्ता व्यवसायीमा छ। ‘जाडोका सामानका लागि त खासै ढिला भइसकेको छैन तर दसैंका लागि ल्याइएका सामान बेलैमा बजारमा पुर्याउन सकिएन भने बिक्री गर्न समस्या हुन्छ,’ पोखराका फेन्सी व्यवसायी नवराज त्रिपाठीले भने, ‘अझै एक साता सडक खुल्ने सम्भावना छैन। सडक खुलेपछि सामान ल्याएर बजारमा पुर्याउँदा निकै ढिला भइसक्छ।’
लोमान्थाङस्थित कोरला भन्सारका प्रमुख विदुर चुडालका अनुसार अहिले चिनियाँ सामान नाकामै रोकिएका छन्। नेपालपट्टि सडक अवरुद्ध हुँदा सामान लिन कन्टेनर कोरलासम्म उक्लिन पनि पाएका छैनन्। अहिलेसम्म करिब डेढ सय कन्टेनरबराबर सामान भन्सारमै रोकिएको उनले बताए। ‘तल (बेनी-जोमसोम) को बाटो बन्द भएपछि कन्टेनर भन्सारसम्म आउनै पाएनन्। माथि (कोरलामा) भएका सीमित कन्टेनर पनि त्यही अड्किएका छन्। त्यसैले सामान भन्सारमै रोकिएका छन्,’ उनले भने।
उनका अनुसार कोरलामा सामानबाहेक करिब पाँच सय विद्युतीय गाडी पनि रोकिएका छन्। ती गाडी पनि चीनबाट बिक्रीका लागि नेपाल ल्याउन लागिएका हुन्। ‘कोरलामा रोकिएका धेरै सामानको जाँचपास भइसकेको छ। बाटो अवरुद्ध भएकाले तल ल्याउन नपाइएको हो। जाँचपास नभएका सामानका लागि पनि अरू समस्या केही छैन, बाटो खुल्नासाथ जाँचपास भइहाल्छ,’ उनले भने।
चाडपर्वका बेला सहरदेखि गाउँसम्म फेन्सी सामानको माग हुन्छ। व्यवसायीले तयारी अवस्थाका लत्ताकपडा, जुत्ताचप्पल, सौन्दर्यका सामग्री र विद्युतीय सामान चीनबाट ल्याउँछन्। जाडोका सामान पनि व्यवसायीले चीनबाटै ल्याउँछन्। व्यवसायीले नियमित रुपमा रसुवागढी र तातोपानी नाका हुँदै ती चिनियाँ सामान नेपाल ल्याउँथे र बजारमा पठाउँथे। तर अहिले भोटेकोसी बाढीका कारण रसुवागढी नाका पूर्ण रुपमा क्षतविक्षत छ। तातोपानी नाका पनि चीनले बन्द गरेपछि चिनियाँ सामान मुस्ताङको कोरला नाका हुँदै ल्याउनुपरेको छ। बाढीले कालिगण्डकी करिडोर पनि अवरुद्ध भएपछि सामान कोरला नाकामै रोकिएका हुन्।
‘नाका चालु अवस्थामा रहँदा दिनमा ५० कन्टेनर हाराहारीमा सामान भित्रिन्थे,’ उनले भने, ‘तर अहिले सडक अवरुद्ध हुँदा समस्या भएको हो। करिडोर मात्र बन्द हो। भन्सार त चालु अवस्थामै छ।’ चालु आर्थिक वर्षको हालसम्म मुस्ताङको कोरला भन्सार कार्यालयले ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। रसुवागढी र तातोपानी नाका बन्द भएपछि त्यहाँ पुगेका सामान सबै कोरलातिर पठाइएको छ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख इन्जिनियर नरेन्द्र सुवेदीका अनुसार कालिगण्डकी करिडोरको केही खण्ड मर्मत भए पनि करिब १५ किलोमिटरमा बढी क्षति भएकाले खुलाउन अझै केही समय लाग्छ। जोमसोम खण्डमा सडक केही सहज भए पनि म्याग्दीको गलेश्वरदेखि पोखरेबगरसम्म समस्या रहेको उनले बताए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।