मोरङको जहदा गाउँपालिकाबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले जहदा गाउँपालिका-१ नयाँ बस्तीस्थित धानबारीबाट २१० केजी गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ र बिओपी जहदा भुटाहाको संयुक्त टोलीले सोमबार राति ९ बजेतिर गाँजा बरामद गरेको सशस्त्र प्रहरीका मोरङ प्रमुख एसपी गहेन्द्रबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार खोजतलास गर्ने क्रममा धानबारीमा कालो प्लास्टिकमा प्याक गरी लुकाइराखेको अवस्थामा गाँजा फेला पारेको हो।
एसपी भण्डारीले भने, ‘धानखेतमा लुकाइराखेको गाँजा २१० किलो बरामद गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएका छौं। गाँजा कसले र कुन प्रयोजनका लागि उक्त स्थानमा लुकाएर राखेको थियो भन्ने खुलेको छैन।’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बरामद गाँजा नेपालबाट भारततर्फ लैजानका लागि सीमावर्ती क्षेत्रमा भण्डारण गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।