जडीबुटी खोज्न हुम्ला-मुगु सीमावर्ती मिमी पाटन पुगेका मुगुका तीन जनाको मृत्यु भएको छ।
जडीबुटी संकलन गर्ने क्षेत्रको सीमा र उपयोगलाई लिएर भएको झडपमा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि सम्पर्कविहीन भएका थप दुई जनाको शव उच्च हिमाली क्षेत्रमा हिउँमुनि फेला परेको हो।
मुगुम कार्मारोङ गाउँपालिका-९ पापुका २२ वर्षीय गणेशबहादुर बुढाको असोज ११ गते भएको झडपमा मृत्यु भएको थियो। सोही टोलीका ३६ वर्षीय ललितजङ्ग बडुवाल र अंगबहादुर रोकाया भने त्यसपछि सम्पर्कविहीन भएका थिए।

बडुवालको शव असोज १७ गते हुम्लाको चंखेली गाउँपालिका-२ को सीमाना पर्ने मिमी लेक क्षेत्रमा हिउँले पुरिएको अवस्थामा भेटिएको थियो। रोकायाको शव बुधबार सानो मिमी क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
डिएसपी रविराज थपलियाका अनुसार दुवै शव फेला परेसँगै सम्पर्कविहीन भएका दुई जनाको खोजी कार्य सकिएको छ। बिहीबार बिहान संयुक्त सुरक्षा टोलीले दुवै शव मुगुको छाइलाबाट गाडीमा राखेर जिल्ला अस्पताल मुगुतर्फ ल्याएको छ।
मृतक तीनै जनासहित पापु र छाइलाका १३ जना असोज १० गते जडीबुटी खोज्न गाउँबाट निस्किएका थिए। झडपपछि १० जना सम्पर्कमा आए पनि बडुवाल र रोकाया बेपत्ता भएका थिए।
उनीहरूको खोजीका लागि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार नेपाली सेनाको नेतृत्वमा २० सदस्यीय संयुक्त सुरक्षा टोली परिचालन गरिएको थियो। सेनाका सात, नेपाल प्रहरीका सात र सशस्त्र प्रहरीका छ सदस्य टोली असोज १९ गते घटनास्थलतर्फ गएको थियो।
अत्यधिक उचाइ, बाक्लो हिउँ, कठिन भूगोल र प्रतिकूल मौसमका बिच सुरक्षाकर्मीले खोजी गरेका थिए। घटनास्थलसम्म पुग्नै कठिन रहेकाले शव खोजी र उद्धारमा चुनौती देखिएको थियो।
मिमी पाटन कुट्की, जटामसीलगायत बहुमूल्य जडीबुटी पाइने उच्च हिमाली क्षेत्र हो। मुगुम कार्मारोङ गाउँपालिका-७, ८ र ९ का स्थानीय लामो समयदेखि यहाँ जडीबुटी संकलन गर्न जाने गरेका छन्।
स्थानीयका अनुसार जडीबुटी संकलन हुने वन क्षेत्रको सीमा र उपयोगलाई लिएर दुई पक्षबिच विगतदेखि नै विवाद रहँदै आएको छ। यस पटकको विवाद झडपमा परिणत हुँदा एक जनाको ज्यान गयो भने बेपत्ता भएका थप दुई जनाको शव पनि हिमालमै भेटिएको हो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।