विज्ञापन
समाज

छाडा चौपायाबाट धन कमाउँदै धनगढी

सुदूरपश्चिम प्रदेशअन्तर्गतका कैलाली, कञ्चनपुर जिल्लाका सहर, राजमार्ग र पालिकामा वर्षौंदेखि छाडा चौपाया समस्या बनेका छन्। स्थानीय तह निर्वाचनमा छाडाचौपाया समस्या समाधान गर्ने प्रतिबद्धता पनि दलहरूले पटकपटक व्यक्त गर्दै आएका छन्।

स्थानीय तहका लागि छाडा चौपाया व्यवस्थापन टाउको दुखाइको विषय बने पनि कैलालीको धनगढी उपमहानगरपालिकामा भने यो समस्याको कुशल व्यवस्थापन गरी आम्दानी लिन थालिएको छ।

धनगढी उपमहानगरपालिकामा रहेका छाडा चौपायालाई चार ठाउँमा खोलिएका गौशालामा राखेर पालनपोषण गर्ने व्यवस्था मिलाइएको छ। गौशालामा राखिएका गाईको दुध, दुधबाट दही, घिउ र मोही बनाएर बिक्री गरिन्छ।

विज्ञापन

गोबरलाई पनि आम्दानीको स्रोत बनाइएको छ। समस्याका रूपमा रहेका छाडा चौपायालाई व्यवस्थापन गरी आम्दानीको स्रोत बनाउने र सहर सफा राख्ने धनगढी उपमहानगरपालिका अन्य स्थानीय तहका लागि पनि अनुकरणीय बन्न सक्छ।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ स्थित विशालनगर, वडा नम्बर ७ स्थित देवहरिया, वडा नम्बर १६ स्थित बेहडाबाबा र वडा नम्बर १८ स्थित फूलबारी ई गाउँमा गरी चारवटा गौशाला बनाइएका छन्। सडकमा छाडा छोडिएका गाईबस्तुलाई ती गौशालामा राखेर हेरचाह गरिन्छ।

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकलाकुमारी रानाका अनुसार चार वटा गौशालामा एक हजार दुई सय गाईबस्तु छन्। नगरका बासिन्दासँग मिलेर छाडा चौपायालाई व्यवस्थापन गरी आम्दानीको स्रोत बनाइएको उनले बताइन्।

चुनावका बेला नगरका बासिन्दाले सडक बनाउनुभन्दा छाडा चौपाय व्यवस्थापन गर्न माग राखेकाले त्यसको सम्बोधन गर्न गौशाला खोलेर स्याहारसुसार गर्ने व्यवस्था मिलाइएको उनले बताइन्। ‘चुनावबाट हाम्रो टिम आउनेबित्तिकै नगरका बासिन्दासँगको समन्ययमा हामीले छाडा चौपाया व्यवस्थापन गरेका छौं,’ उनले भनिन्, ‘जनतासँगको समन्वयमा अघि बढाइएको यो मोडल उत्पादनमूलक पनि छ।’

धनगढी उपमहानगरपालिकामा चारै वटा नाकाबाट गाईवस्तु भित्रिने गरेकाले व्यवस्थापनमा समस्या भने भएको उनले बताइन्। ‘चारै नाकाबाट अझै गाईवस्तु आउने गरेका छन्। ‘अरू पालिकाले पनि छाडा चौपायाको व्यवस्थापन गर्न जरुरी छ’, उनले भनिन्। चार वटा गौशालामध्ये तीन वटा धनगढी उपमहानगरपालिका र एउटा धार्मिक संस्थाबाट सञ्चालित छन्।

दुध र गोबर बेचेर लाखौं आम्दानी

छाडा चौपायालाई गौशालामा राखेपछि सडक दुर्घटनामा कमी आएको छ भने गाईबस्तुले बाली खाइदिने समस्या टरेपछि किसान पनि खुशी छन्। गौशालामा राखिएका गाईको दुध र गोबर–मल बेचेर आम्दानी पनि गर्न थालिएको छ।

बेहडाबाबा र फूलबारी ई गाउँमा रहेका गौशालाबाट दुध, मोही, दही, घिउ गोबर बिक्री गर्न थालिएको धनगढी उपमहानगरपालिकाको पशु शाखा प्रमुख डा. समीरकुमार ठाकुरले बताए।

फूलबारी ई गाउँस्थित ‘हाम्रो गौशाला’ ले चौपायाको गोबर बेचेर वार्षिक अढाई लाख रुपैयाँ आम्दानी गर्न थाले व्यवस्थापन समितिका अध्यक्ष यादव भण्डारीले बताए।

उक्त गौशालामा तीन सय ६० वटा गाई छन्। हाम्रो गौशालाले दैनिक करिब १३ लिटर दुध बिक्री गर्छ। दूध बेचेर वाार्षिक करिब चार लाख रुपैयाँबराबरको आम्दानी हुने गरेका अध्यक्ष भण्डारीले बताए।

उपमहानगरपालिकाले ५० वटा गाईबराबर एउटा हेरालु र हेरालुलाई मासिक १० हजार रुपैयाँका दरले (तलब) उपलब्ध गराएको छ। व्यवस्थापन समितिले त्यसमा पाँचपाँच हजार थपेर एकमुस्ट १५ हजार रुपैयाँ तलब दिन्छ। दुध, गोबर बिक्रीबाट हुने आम्दानीबाट गाईबस्तुको आहारा लगायत व्यवस्थापन खर्च जुटाइँदै आएको अध्यक्ष भण्डारीले बताए।

बेहडाबाबास्थित गौशालाले पनि दुध र गोबर बिक्री गरेर लाखौं रुपैयाँ आम्दानी गर्न थालेको उपमहानगरपालिकाको पशु शाखा प्रमुख ठाकुरले बताए। यी दुई गौशालामा गोवरबाट मल बनाउन आधुनिक विद्युतीय मेसिनसमेत राखिएको उनले बताए। ‘छाडा चौपाया व्यवस्थापनसँगै गोबर, मल, दुध बिक्री गरेर आम्दानी गर्न थालेका यी दुई नमुना गौशाला हुन्’, उनले भने। यी गाईमा आधुनि प्रविधिबाट गर्भाधारण गराएर उन्नत नश्ल निकाल्न सकिने उनी बताउँछन्।

स्थानीयबाट पनि सहयोग

धनगढी उपमहानगरपालिकाले गौशाला सञ्चालनका लागि बजेट विनियोजन गरेको छ। गाईबस्तुका लागि घाँस, पराल, भुसलगायत स्थानीयले पनि उपलब्ध गराएका छन्। स्थानीयले जन्मदिन तथा विभिन्न अवसरमा यस्तो सहयोग दिने गरेका छन्।

छाडा चौपाया गौशालामा राख्न थालेपछि किसानले पनि राहत महसुस गर्न थालेको स्थानीय शेरबहादुर चौधरीले बताए। छाडा चौपायाले बाली खाइदिँदा किसान दिक्क बनेका थिए। वनको निश्चित क्षेत्र गाईबस्तुको चरिचरनमा प्रयोग गरिएको छ। ‘हाम्रो गौशाला’ व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले स्थानीय बासिन्दाले घाँस, पराल, भुसालगायत आहारामा सहयोग गर्दै आएको बताए। ‘स्थानीय बासिन्दाले आफ्नो जन्मदिनलगायतका अवसरमा पशुलाई आहारा दान गर्छन्। नपुग हामीले खरिद गर्दै आएका छौं’, उनले भने।

गौशाला सञ्चालनका लागि चालु आर्थिक वर्षमा ३४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको धनगढी उपमहानगरपालिका पशु शाखा प्रमुख ठाकुरले बताए। धनगढी–७ देवहरियास्थित गौशालामा भने अशक्त चौपाया राख्ने गरिएको छ।

अन्य पालिकामा समस्या उस्तै

कैलाली र कञ्चनपुरका सबैजसो पालिकामा छाडा चौपायाको समस्या वर्षांैदेखि छ। सडकमा हुलका हुल छाडा चौपाया देखिन्छन्। छाडा चौपायाले खेतवारीमा गएर बाली खाइदिने र सडकमा दुर्घटना निम्त्याउने गरेका छन्।

धनगढी उपमहानगरपालिका बाहेकका राजमार्ग, सडक र सहरमा छ्यापछ्याप्ती छाडा चौपाया छन्। बुढो भएपछि वा दुध दिन छाडेपछि गाईबस्तु सडकमा छाडिदिने प्रवृत्ति कायमै छ। व्यवस्थित गौशाला बनाएर छाडा चौपाया व्यवस्थापन गरी आम्दानी गर्ने धनगढी मोडेल ढाँचा अनुकरणीय बन्न सक्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।