अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्ससमा रिपब्लिकन सिनेट उम्मेदवार केन प्याक्सटनको पक्षमा चुनाव प्रचार गर्ने क्रममा प्रदर्शनकारीको अवरोध सामना गर्नुपरेको छ।
स्थानीय समय अनुसार बुधबार राति सान एन्टोनियोस्थित फ्रिम्यान कोलिजियममा भएको चुनावी सभामा ट्रम्प प्याक्सटनको पक्षमा मत माग्न पुगेका थिए। तर ट्रम्पले सम्बोधन गरिरहेका बेला प्रदर्शनकारीले पटक-पटक नाराबाजी गर्दै उनको भाषण रोके। कम्तीमा एक दर्जन प्रदर्शनकारीले विरोध गरेका थिए। उनीहरूमध्ये केहीलाई प्रहरीले सभा स्थलबाट बाहिर लैजानु परेको थियो।
अवरोध भएपछि ट्रम्प केही समयका लागि माइक्रोफोनबाट टाढा भएका थिए। त्यसपछि उनले प्रदर्शनकारीप्रति टिप्पणी गर्दै आफ्नो सम्बोधन अघि बढाए। ट्रम्पले सभामा प्याक्सटनको खुलेर समर्थन गरेका थिए। उनले प्याक्सटनलाई ‘संयुक्त राज्य अमेरिकाका उत्कृष्ट महान्यायाधिवक्तामध्ये एक’ भन्दै प्रशंसा गरे। प्याक्सटनले पनि ट्रम्पलाई धन्यवाद दिँदै ‘तपाईं यहाँ भएकोमा म धेरै आभारी छु’ भने।

ट्रम्पले सभामा ठुला लागूपदार्थ व्यापारी, मानव तस्कर र प्रहरी अधिकारीको हत्या गर्ने व्यक्तिलाई मृत्युदण्ड दिनुपर्ने आफ्नो धारणा दोहोर्याए। उनले इरानसँगको युद्ध र त्यसका कारण बढिरहेको इन्धनको मूल्यबारे पनि बोलेका थिए।
सभाका क्रममा ट्रम्पले पूर्व बेसबल खेलाडी रोजर क्लेमेन्सलाई राष्ट्रपतिको सर्वोच्च नागरिक सम्मान ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’ दिने घोषणा पनि गरे। क्लेमेन्सले सम्मान पाउने घोषणा आफूका लागि अप्रत्याशित भएको बताए।
टेक्ससको अमेरिकी सिनेट चुनावमा डेमोक्र्याट उम्मेदवार जेम्स तालारिको पनि प्रतिस्पर्धामा छन्। सन् १९८८ यता टेक्ससले सिनेटमा डेमोक्र्याट उम्मेदवार निर्वाचित गरेको छैन। तर यस पटक ट्रम्पको कमजोर अनुमोदन, प्याक्सटनको विवादास्पद छवि र तालारिकोको बढ्दो चुनावी कोषका कारण सिनेटको दौडलाई प्रतिस्पर्धात्मक मानिएको छ।
ट्रम्प पछिल्लो एक महिनाभित्रै तेस्रो पटक टेक्सस पुगेका हुन्। रिपब्लिकन पार्टीले पनि टेक्ससको चुनावमा ठुलो रकम र जनशक्ति परिचालन गरिरहेको छ। एपी


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।