नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ गर्न र स्वस्थ निर्वाचन पद्धतिको अभ्यास बसाल्न आफू मैदानमा उत्रिएको बताएका छन्।
सभापतिमा गगन थापालाई सर्वसम्मत हुन नदिनका लागि मात्र उम्मेदवारी दिएको भन्ने चर्चालाई खण्डन गर्दै उनले कोलकाता अधिवेशनदेखि नै नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुँदै आएको इतिहास स्मरण गराए।
व्यक्ति विशेष सभापति बन्दैमा लोकतन्त्र कमजोर नहुने भए पनि नेतृत्व चयनको विधि र प्रक्रिया सधैँ लोकतान्त्रिक हुनुपर्ने उनको तर्क छ।

सभापतिका अर्का प्रतिस्पर्धी गगन थापा आफ्ना पूर्वविद्यार्थी रहेको स्मरण गर्दै खड्गीले गुरु-चेलाबीचको यो प्रतिस्पर्धालाई सकारात्मक रूपमा लिएको बताए।
आफू सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा शिक्षक हुँदा थापा विद्यार्थी रहेको उल्लेख गर्दै उनले एउटै पार्टीमा लोकतान्त्रिक प्रक्रियामार्फत प्रतिस्पर्धा गर्न पाउनु खुसीको विषय भएको सुनाए।
महाधिवेशनमा गुटगत प्यानल बनाउने प्रवृत्तिको विरोध गर्दै खड्गीले आफू कुनै पनि गुटको पक्षमा नरहेको बताए। गुट र उपगुटकै कारण पार्टीमा वर्षौँदेखि रगत-पसिना बगाएका निष्ठावान् तथा इमानदार कार्यकर्ताहरू अवसरबाट वञ्चित हुने गरेको उनको भनाइ थियो।
विगत ४० वर्षदेखि कांग्रेसको विचार र विधानप्रति निष्ठावान् रहेको स्मरण गर्दै उनले चुनावी परिणाम जे आए पनि पार्टीको रुख र चारतारे झन्डालाई सधैं बलियो बनाउन लागिरहने बताए।
पार्टीभित्रका असन्तुष्ट पक्ष र अलग गतिविधिमा लागेका नेताहरूलाई समेटेर सिङ्गो र एकताबद्ध कांग्रेस निर्माण गर्ने आफ्नो मुख्य संकल्प रहेको खड्गीले सुनाए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।