ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

एमालेको निष्कर्ष- सभाको भाषालाई मोबाइलमा बदल्न ढिलाइ गर्दा चुनाव हारियो

नेकपा (एमाले) ले परम्परागत राजनीतिक शैलीमा अल्झिँदा र डिजिटल राजनीतिमा पछाडि पर्दा निर्वाचनमा धक्का ब्यहोर्नुपरेको औपचारिक निष्कर्ष निकालेको छ।

पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकपछि जारी ‘अन्तरपार्टी निर्देशन-३’ मार्फत् एमालेले नयाँ पुस्ताको मुख्य राजनीतिक थलो डिजिटल मञ्च भइसकेको यथार्थ समयमै पहिचान गर्न नसक्नुलाई पराजयको प्रमुख कमजोरीका रूपमा स्वीकार गरेको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत एवम् पारित राजनीतिक प्रतिवेदनलाई उद्धृत गर्दै अपानीमा डिजिटल राजनीतिमा पार्टी चुकेको तथ्य स्वीकार गरिएको छ।

विज्ञापन

‘हामी तथ्य लिएर निकै ढिलो पुग्यौं। हामीले डिजिटल मञ्चलाई पूरक साधन ठान्यौं, जबकि नयाँ पुस्ताका लागि त्यही मुख्य राजनीतिक चौतारो भइसकेको थियो,’ दस्तावेजमा भनिएको छ, ‘हामीले सभाको भाषालाई मोबाइलको भाषामा बदल्न एकदमै ढिलो गर्‍यौं।’

विरोधीहरूले फैलाएका सरल आरोपहरूको तुलनामा पार्टीका जटिल स्पष्टीकरणहरू जनतामाझ पुग्न नसकेको र आफूहरूले गरेका कामहरूलाई प्रविधिको अल्गोरिदमले खाइदिएको आत्मसमीक्षा एमालेले गरेको छ।

निर्वाचनको मौन अवधि सुरु हुनुअघि बीबीसी नेपाली सेवाले प्रसारण गरेको भिडियो डकुमेन्ट्री, डिजिटल चरित्रहत्या र एकपक्षीय सूचना प्रवाहका कारण पार्टीले चुनावी क्षति ब्यहोर्नुपरेको निष्कर्ष निकाल्दै एमालेले अबको प्रमुख कार्यभार डिजिटल पुनर्निर्माण हुने घोषणा गरेको छ।

आजको राजनीति मोबाइलको पर्दामा लडिने यथार्थलाई आत्मसात् गर्दै एमालेले झुट फैलिएको आधा घण्टाभित्रै सत्य सार्वजनिक गर्ने गरी द्रुत डिजिटल संयन्त्र विकास गर्ने नीति लिएको छ।

अपानीमा भनिएको छ, ‘झुटलाई हप्तापछि जवाफ दिएर हुँदैन। झुट एक घण्टामा फैलिन्छ भने सत्य आधा घण्टाभित्र पुग्नुपर्छ। सत्य ढिला भयो भने झुटले शासन गर्छ।’

यसका लागि एमालेले केन्द्रीय स्तरमै तथ्य-संवाद-प्रतिवाद संयन्त्र बनाउने भएको छ। विपक्षीले उठाएका हरेक आरोपको आधिकारिक प्रमाण र तथ्यसहितको तथ्यपत्र तयार गरी त्यसलाई सर्ट भिडिओ, इन्फोग्राफिक्स, चित्र, प्रश्नोत्तर तथा स्थानीय भाषामा रूपान्तरण गरेर युवा प्रस्तुतकर्तामार्फत सामाजिक सञ्जालमा लैजाने योजना पार्टीले तय गरेको छ।

त्यसैगरी, एमालेले आफ्ना तल्लो तहका कमिटीहरूको कार्यसम्पादन मापन गर्दा कति डिजिटल सामग्री पुर्‍याइयो ? भन्ने सूचकलाई अनिवार्य गर्ने निर्णय गरेको छ।

युवा नेतृत्व विकासका लागि डिजिटल सञ्चारको दक्षतालाई अनिवार्य मापदण्ड बनाउँदै पार्टीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल अर्थतन्त्र र गिग इकोनोमी जस्ता आधुनिक प्रविधिका सवाललाई अबको राजनीतिक तथा वैचारिक बहसमा जोड्ने निष्कर्ष निकालेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।