समाज

खोटाङ जिल्ला अस्पतालले पायो नयाँ भवन, अब ५० शय्याको सेवा सुरु गर्ने तयारी

जिल्ला अस्पताल खोटाङले सुविधासम्पन्न नयाँ पक्की भवन पाएपछि ५० शय्याको उपचार सेवा सुरु गर्ने तयारी थालेको छ।

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले भर्खरै नवनिर्मित भवन अस्पताललाई हस्तान्तरण गरेपछि ५० शय्याको उपचार सेवा सुरु गर्ने तयारीमा लागेको हो। नेपाल सरकारको २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँ लगानीमा नवनिर्मित भवन तिहार सकिएलगत्तै निर्माण व्यवसायीले अस्पताललाई हस्तान्तरण गरेको छ। तिहार सकिएलगत्तै सुविधासम्पन्न भवन शहरी तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख (डीई) सुरज पौडेलले अस्पतालका प्रमुख डा. पुस्कल राईलाई हस्तान्तरण गरेका थिए।

२०७८ असार-२४ गते सम्झौता गरेर निर्माण सुरु भएको भवनको काम सम्झौताको मितिले ३० महिनाभित्र निर्माण सक्ने भनिए पनि विभिन्न कारण देखाउँदै काम अलपत्र छाडिएको थियो। म्यादभित्र काम नगरेपछि कारबाही गर्न लागिएको ठेकेदार कम्पनी श्यामसुन्दर-रामसागर-नेपाल फूलबारी जेभीबाट खोसेर बाँकी काम गर्न स्थानीय निर्माण व्यवसायीलाई जिम्मा दिइएको थियो।

विज्ञापन

स्थानीय निर्माण व्यवसायी सुनिल राईले ठेक्का सकार्दै तोकिएको समयभित्रै भवन बनाई सकेर हस्तान्तरण गरेको डीई पौडेलले बताए। विद्युतीय भर्‍याङ (लिफ्ट प्रविधि) सहितको ४ तले पक्की आधुनिक नवनिर्मित भवन आयोजना कार्यालयले अस्पताललाई हस्तान्तरण गरेपछि ५० शय्याको सेवा सञ्चालनको संघारमा पुगेको छ।

अत्याधुनिक भवन पाएसँगै जिल्ला अस्पताल खोटाङले ५० शय्याको उपचार सेवा औपचारिक रूपमा सुरु गर्न लागेको अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. राईले बताए। उनका अनुसार नयाँ भवन हस्तान्तरण भइसकेकाले अब छिट्टै ५० शय्यामै सेवा शुभारम्भ गर्ने तयारी भइरहेको छ। १५ शय्याको जिल्ला अस्पताललाई प्रदेश सरकारले गतवर्ष मात्र ५० शय्यामा स्तरोन्नति गर्ने स्वीकृति दिएको थियो।

मेसु डा. राईले भवन तयार भइसकेकाले अस्पताललाई आवश्यक भौतिक उपकरण चाँडै व्यवस्थापन गरेर ५० शय्या शुभारम्भ गर्ने बताए। ५० शय्याको उपचार सेवा सञ्चालनमा आएपछि खोटाङका सानोतिनो रोगका बिरामी उपचारकै लागि टाढा जानु नपर्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता पनि डा. राईले व्यक्त गरे।

अस्पताललाई विशेषज्ञ डाक्टरसहितको सेवा प्रवाह गराउने प्रबन्ध मिलाइरहेको मेसु राईले बताएका छन्। ५० शय्याको विशेषज्ञ सेवा सुरु भएपछि विगतमा जस्तो सामान्य रोगका बिरामीको उपचारका लागि पनि जिल्लावासीले हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता अन्त्य गर्ने प्रयास गर्ने उनी बताउँछन्।

२०४९ वैशाख-१ गते स्थापना भएको १५ शय्याको जिल्ला अस्पताललाई २०८२ असार-२२ गतेको प्रदेश सरकारको निर्णयले ५० शय्यामा स्तरोन्नति गरिएको हो। तत्कालीन प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले गृहजिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गराउन पहल गरेका थिए।

सामान्य बिरामीले पनि लाखौँ खर्च गरेर हेलिकोप्टर चार्टर गरी काठमाडौं उपचार गर्न जानुपर्ने बाध्यता रहेको खोटाङवासीलाई सबै प्रकारका रोगको उपचार सेवा जिल्लामै उपलब्ध गराउन मन्त्री राईले अस्पताल स्तरोन्नति गराउने निर्णय गराएका थिए।

१५ शय्या क्षमताको अस्पताललाई स्थापनाको ३३ वर्षपछि ५० शय्यामा स्तरोन्नति गरेपछि अस्पताललाई आवश्यक आधुनिक भवन र अन्य औजार उपकरणको जोहो गर्ने काम भइरहेको मेसु राईले बताएका छन्।

नवनिर्मित भवनको पहिलो तलामा इमरजेन्सी कक्ष, ओपीडी, शल्यक्रिया, एक्स-रे, फार्मेसी कक्ष र सुरक्षा बिटलगायत रहनेछन्। त्यसैगरी दोस्रो तलामा प्रसूति सेवा, प्रसूतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आईसीयू कक्ष, आइसोलेसन, क्याबिन तथा चौथो तलामा प्रशासन, लेखा, सेमिनार हललगायत कोठाहरू रहने गरी संरचना निर्माण गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।