पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले गत वर्ष भदाैं २४ गते आफ्नो निवासमा भएको आक्रमण र आगजनीलाई कायरताको पराकाष्ठा भनेका छन्।
उनले अपराधीहरूले भौतिक संरचना खरानी बनाए पनि आफ्नो विचार र समाजवादप्रतिको निष्ठालाई कहिल्यै डढाउन नसक्ने बताए।
नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै नेता खनालले जीवनभरको सम्पत्ति र अमूल्य बौद्धिक धरोहर गुमाउनुपर्दाको पीडा व्यक्त गरे।

आगजनीमा ध्वस्त भएको निवास आफ्नोभन्दा पनि धर्मपत्नी रविलक्ष्मी चित्रकारको चार दशक लामो पसिनाको कमाइ भएको उनले बताए।
‘मैले त मन्त्री र प्रधानमन्त्री हुँदा पाएको पारिश्रमिक किताब किनेरै सकेको थिएँ,’ खनालले भने, ‘मैले विश्वका सयभन्दा बढी मुलुक भ्रमण गर्दा संकलन गरेका १३ दराज दुर्लभ पुस्तकहरू त्यहाँ थिए। ती सबै एकैछिनमा जलाइए। कम्युनिस्ट आन्दोलनका सबै समूहका ऐतिहासिक दस्तावेजहरू मैले संकलन गरेर भोल्युम बनाएर राखेको थिएँ, त्यो नेपालकै एउटा दुर्लभ अर्काइभ थियो।’
यसका साथै आफूले जीवनभर अध्ययन गरेर लेखेका १५ देखि २० वटा अप्रकाशित पाण्डुलिपिहरू समेत आगोमा जलेर नष्ट भएको उनले सुनाए।
‘यदि मैले भ्रष्टाचार गरेको भए, कुनै गल्ती गरेको भए ती जल्लादहरूले ममाथि प्रश्न उठाउन सक्नुपर्थ्यो,’ खनालले आक्रोश व्यक्त गरे, ‘तर जत्था उठाएर एउटा निर्दोष परिवारमाथि हमला गरियो। तिनीहरू कायरभन्दा कायर हत्यारा हुन्। कसैको इसारा र प्रायोजनमा आएका त्यस्ता तत्वहरूले मेरो घर जलाए, मेरी श्रीमतीको अङ्ग जलाए, तर उनीहरूले हाम्रो अठोटलाई भने डढाउन सकेनन्।’
आक्रमणमा गम्भीर घाइते भएकी पत्नी रविलक्ष्मी चित्रकार संयोगले मात्र बाँच्न सफल भएको खनालले बताए। हाल उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ।
‘मेरी म्याडमको मनोबल मेरोभन्दा पनि दह्रो छ। त्यही मनोबलले उहाँलाई बचायो,’ खनालले भने, ‘अहिले उहाँमा केही शारीरिक अपाङ्गता छ, तर उहाँ कहिल्यै अपाङ्ग छु भन्ने महसुस गर्नुहुन्न। उहाँको त्यो आँट र शक्तिले मलाई साम्राज्यवाद र प्रतिक्रियावादका विरुद्ध सतिसालझैँ उभिएर लड्ने अपूर्व प्रेरणा दिइरहेको छ।’
आफ्नो बाँकी जीवन पनि वैज्ञानिक समाजवादको स्थापनामा नै समर्पित रहने दृढता व्यक्त गर्दै नेता खनालले विचारलाई कुनै पनि आगोले सिध्याउन नसक्ने ठोकुवा गरे।
‘हामी समाजवादको यात्रामा हिँडेका यात्री हौं। ईँटा र काठको घर जलाउन सकिएला, तर हाम्रो लक्ष्य र भविष्य जलाउन सकिँदैन,’ खनालले सुनाए, ‘नेपाली विशेषताको समाजवाद निर्माण गर्ने हाम्रो ऐतिहासिक यात्रा कसैले रोकेर रोकिँदैन।’


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।