ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेस महाधिवेशन: सभापतिमा तीन जनाकाे उम्मेदवारी, विश्व र पुष्पा निर्विरोध

नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ। उम्मेदवारी दर्ताका लागि समयसीमा मंगलबार साँझ ७ बजेसम्म तोकिएको थियो। उक्त समयसीमाभित्र सभापतिसहित २० पदाधिकारीका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको हो।

सभापति पदका लागि तीन जना र महामन्त्री पदमा भने ११ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। वरिष्ठ उपसभापति निर्विरोध निर्वाचित भइसकेको छ। उपसभापतिमा १५ जनाको उम्मेदवारी परेको छ। सहमहामन्त्रीमा ४२ जनाको मनोनयन परेको छ।

जारी महाधिवेशनको दोस्रो दिन सोमबार संशोधित र पारित पार्टी विधानअनुसार केन्द्रीय समिति २५ पदाधिकारीसहित २९७ सदस्यीय हुने छ। २५ पदाधिकारीमा एक सभापति, एक वरिष्ठ उपसभापति, कम्तीमा एक महिलासहित चार उपसभापति, कम्तीमा एक महिलासहित तीन महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष रहने व्यवस्था गरिएको छ।

विज्ञापन

१५ सहमहामन्त्रीमध्ये समावेशी क्लस्टरबाट नौ जना चुनिने छन् भने दुई जना खुला प्रतिस्पर्धाबाट आउने छन्। एक महिलासहित चार सहमहामन्त्री भने सभापतिबाट मनोनीत हुने छन्। कोषाध्यक्ष भने पछि केन्द्रीय सदस्यमध्येबाट एक जनालाई मनोनीत गरिने छ। केन्द्रीय समितिमा एक प्रवक्ता र एक सहप्रवक्ता रहने व्यवस्था पनि गरिएको छ।

निर्वाचन समितिका अनुसार सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध भएका छन्। उनलाई नै लक्षित गरेर वरिष्ठ उपसभापतिको पद सिर्जना गरिएको थियो। यसअघि कांग्रेसमा यो पद थिएन। गत पुसमा सम्पन्न कांग्रेस विशेष महाधिवेशनले शर्मालाई उपसभापति बनाएको थियो। यसैगरी २०७८ सालमा सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उनी महामन्त्री पदमा निर्वाचित भएका थिए।

उपसभापतिका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। महिला उपसभापतिमा एक जना, खुला सभापतिमा नौ जना र समावेशी उपसभापतिमा पाँच जनाले उम्मेदवारी दिएका छन्। महिला उपसभापति पदमा पुष्पा भुसाल निर्विरोध भइसकेकी छन्। विशेष महाधिवेशनमा पनि उनी उपसभापति नै चुनिएकी थिइन्।

२०७८ सालमा सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उनी महिलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्। खुला दुई उपसभापतिका लागि डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मीनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले उम्मेदवारी दिएका छन्। यसैगरी समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाहा मनसुर, सीता गुरुङ र रञ्जित कर्णले उम्मेदवारी दिएका छन्।

त्यसैगरी खुला महामन्त्रीमा आठ जना र महिला महामन्त्रीमा तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। खुला महामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा,अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन्। महामन्त्री महिला पदमा डा. डिला संग्रौला, डिना उपाध्याय र रीता खनालले उम्मेदवारी दिएका छन्।

सहमहामन्त्री खुलातर्फ अमृत अर्याल, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, विमलराज क्षेत्री, देवेन्द्रराज कँडेल र डिल्लीराम सुवेदी प्रतिस्पर्धामा उत्रिएका छन्। खसआर्यतर्फ एक पदका लागि तीन जनाको उम्मेदवारी परेको छ, जसमा जगदीशनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेत छन्। आदिवासी जनजातितर्फ एक जनाका लागि बहादुरसिंह लामा र तारामान गुरुङको मनोनयन भएको छ।

मधेसीतर्फ महेन्द्र यादव, अजय चौरसिया, नागिना यादव, किरण यादव, अभिषेक प्रताप साह, रामपल्टन साह, मनीषकुमार मिश्र र मुक्तकुमारी यादव उम्मेदवार बनेका छन्। दलित सहमहामन्त्रीको एक पदका लागि नरेन्द्र पासवान, प्रकाश रसाइली, लक्ष्मी परियार र मानबहादुर नेपाली चुनावी मैदानमा छन्।

थारू सहमहामन्त्रीमा तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरीको उम्मेदवारी परेको छ। अल्पसंख्यक तथा अपांगता समूहबाट नगेन्द्र कुमाल, योगेश गौचन र आंगेलु शेर्पाले उम्मेदवारी दिएका छन्।

मुस्लिमतर्फ एक सहमहामन्त्रीका लागि फिर्दोस आलम, अब्दुल सतार र अहतर कमल मुसालमानले प्रतिस्पर्धा गर्ने छन्। पिछडिएको क्षेत्रतर्फ पनि एक पदका लागि कर्णबहादुर बुढा, जनकराज गिरी, मीन भाम, नारायणप्रसाद भट्टराई, राजन कुँवर, जीवनबहादुर विष्ट र रामबहादुर विष्टको उम्मेदवारी परेको छ। महिला सहमहामन्त्रीको एक पदका लागि नानु बस्तोला र प्रतिमा गौतमबिच प्रतिस्पर्धा हुने भएको छ।

२११ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। जसअन्तर्गत खुलामा ४५ जना रहने छन्। महिला खुलामा १५ जना हुने छन्। आदिवासी जनजाति महिला आठ र आदिवासी जनजाति खुला १२ जना हुने छन्। दलित महिला ५, मधेसी दलित १ र दलित खुला ८ जना निर्वाचित हुनेछन्। मधेसी महिला ५, मधेसी खुला ८, खस आर्य महिला ८, खस आर्य खुला १०, थारू महिला २, थारु खुला ४, मुस्लिम महिला २, मुस्लिम खुला ३ जना पनि निर्वाचनबाट चुनिनेछन्। केन्द्रीय सदस्यतर्फ नै पिछडिएको क्षेत्र महिला १, पिछडिएको क्षेत्र खुला १, अल्पसंख्यक १, अपांगता १ जना निर्वाचित भएर आउने छन्।

त्यसैगरी कोसी प्रदेशबाट महिला १, खुला ३, ३५ वर्ष मुनिका युवा, महिला १ र युवा खुला १ जना निर्वाचित हुने छन्। मधेस प्रदेशबाट महिला १, खुला ३, ३५ वर्ष मुनिका युवा, महिला १, युवा, खुला १ तथा बागमती प्रदेशबाट महिला १, खुला ३, ३५ वर्ष मुनिका युवा, महिला १, युवा, खुला १ जना चुनिने छन्। गण्डकी प्रदेशबाट महिला १, खुला ३, ३५ वर्ष मुनिका युवा, महिला १, युवा, खुला १ तथा लुम्बिनी प्रदेशबाट महिला १, खुला ३, ३५ वर्ष मुनिका युवा, महिला १, युवा, खुला १ जना केन्द्रीय सदस्य आउने छन्।

त्यस्तै कर्णाली प्रदेशबाट महिला १, खुला ३, युवा महिला १, युवा खुला १ तथा सुदूरपश्चिम प्रदेशबाट महिला १, खुला २, ३५ वर्ष मुनिका युवा महिला १, युवा खुला १ जना निर्वाचित हुनेछन्। सबै प्रदेशबाट ३५ वर्ष मुनिका युवा खुला ७ जना पनि केन्द्रीय सदस्यमा आउने छन्।

त्यस्तै नेपाली जनसम्पर्क समितिमध्येबाट महिला २, युरोप क्षेत्र १, ओसियाना–अमेरिका क्षेत्र १, मध्यपूर्व क्षेत्र १, एसिया प्यासिफिक क्षेत्र १, भारतबाट १ जना आउने छन्। श्रमिक महिला १, श्रमिक (खुला) २, पेसागत विषयगत क्षेत्र (महिला) २, पेसागत विषयगत क्षेत्र (खुला) ५, काठमाडौं उपत्यका (महिला) १, काठमाडौं उपत्यका (खुला)१, प्रजातन्त्र सेनानी १, सहिद १ र द्वन्द्व प्रभावित परिवार १ जना पनि केन्द्रीय सदस्य बन्ने छन्। बाँकी केन्द्रीय सदस्य मनोनीत गरिने छन्। निर्वाचन प्रक्रिया सोमबार नै सुरु भएको छ। मतदान बिहीबार बिहान साढे ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।