नेपाली कांग्रेसको १५औं महाधिवेशनको रौनक हेर्न खुलामञ्च पुग्दा बाहिर देखिएको दृश्यभन्दा भित्र लुकेको कांग्रेसको मनोविज्ञान अझ बढी विचारणीय लाग्यो।
महाधिवेशन कुनै राजनीतिक दलको नियमित औपचारिक कार्यक्रम मात्र होइन; यो दलको वर्तमान अवस्था, संगठनको जीवन्तता, नेतृत्वको सोच, कार्यकर्ताको ऊर्जा र भविष्यप्रतिको आशाको प्रत्यक्ष ऐना पनि हो। त्यसैले महाधिवेशनको भिड, अनुहार, उत्साह, सहभागिता र त्यहाँ देखिने मानसिकतालाई सामान्य राजनीतिक जमघटको रूपमा मात्र हेर्न मिल्दैन। मैले नेपाली कांग्रेसका धेरै अधिवेशनहरू नजिकबाट हेरेको छु। नवौं अधिवेशनदेखि आजसम्मका ६ वटा अधिवेशन प्रत्यक्ष रूपमा हेर्ने अवसर पाएको छु। ती अनुभवका आधारमा अहिलेको कांग्रेसलाई हेर्दा एउटा प्रश्न स्वाभाविक रूपमा उठ्छ, कांग्रेस बदलिएको हो कि कांग्रेसभित्रका अनुहार र पदका आकांक्षाहरू मात्र बदलिएका हुन्?
खुलामञ्चमा देखिएको दृश्यले उत्साहित बनाउनेभन्दा बढी सोच्न बाध्य बनायो। नयाँ पुस्ताको उपस्थिति छ, नयाँ अनुहारहरू पनि छन्, तर संगठनमा दीर्घकालीन ऊर्जा, वैचारिक आकर्षण र अरूलाई जोड्ने क्षमता पर्याप्त देखिएन। करिब आधाजसो अनुहारहरू चार–पाँच वटा अधिवेशन पार गरिसकेका अनुभवी मानिसहरूकै देखिन्थे। बाँकीमध्ये पनि कतिपय आफ्नै राजनीतिक क्षमता र संगठन निर्माणको आधारमा भन्दा कसैको साथ, सम्बन्ध, समूह वा पारिवारिक प्रभावका कारण माथि आएका जस्ता देखिन्थे। यो आलोचना व्यक्तिको नभएर प्रवृत्तिको हो। कांग्रेसको भविष्य खोज्दा यस्ता प्रवृत्तिको निर्मम समीक्षा गर्न आवश्यक छ।

प्रतिनिधिको मानसिकता
नेपाली कांग्रेसले आफ्नो दस्तावेजमा करिब सात हजार महाधिवेशन प्रतिनिधिको संरचना प्रस्तुत गरेको छ। मैदानमा देखिने उपस्थिति र त्यसको अनुपात हेर्दा भने प्रश्न उठ्छ, के ती सबै प्रतिनिधि वास्तवमै कांग्रेसको संगठनात्मक जीवनमा सक्रिय र जिम्मेवार रूपमा जोडिएका छन्? पहिले कांग्रेसको महाधिवेशन आफैंमा एउटा राजनीतिक आकर्षण हुन्थ्यो। प्रतिनिधिभन्दा बढी पर्यवेक्षक हुन्थे, पर्यवेक्षकभन्दा बढी शुभेच्छुक र शुभचिन्तक हुन्थे। देशका विभिन्न ठाउँबाट मानिसहरू आउँथे, ‘कांग्रेसको महाधिवेशन हुँदैछ, यसले अब के निर्णय गर्ला?’ भनेर हेर्न, सुन्न र बुझ्न। महाधिवेशनमा आफू उपस्थित नभए धेरै कुरा छुट्ने अनुभूति हुन्थ्यो। कांग्रेसको निर्णयले देशको राजनीति प्रभावित गर्ने भएकाले कांग्रेसको महाधिवेशन राष्ट्रिय चासोको विषय बन्थ्यो। आज त्यो आकर्षण कहाँ छ ?
अहिले प्रतिनिधिको संख्याभन्दा बाहिरको सामाजिक उपस्थिति कमजोर देखिन्छ। शुभेच्छुक र शुभचिन्तकहरूको स्वतःस्फूर्त सहभागिता घटेको देखिन्छ। कांग्रेसको महाधिवेशनप्रति समाजले ‘अब कांग्रेसले के नयाँ कुरा गर्छ?’ भनेर उत्सुकतापूर्वक हेर्ने अवस्था कमजोर हुँदै गएको छ। यो कुनै पनि पुरानो राजनीतिक दलका लागि सामान्य विषय होइन। अझ गम्भीर कुरा त प्रतिनिधिहरूको मानसिकतामा देखिन्छ। महाधिवेशन प्रतिनिधि हुनु भनेको संगठनले दिएको जिम्मेवारी हो। कुनै भूगोल, क्षेत्र, जिल्ला वा तहबाट निर्वाचित भएर आउनु भनेको त्यहाँका हजारौं कार्यकर्ता र मतदाताको प्रतिनिधित्व गर्नु हो। कतिपय प्रतिनिधिमा भने यो जिम्मेवारीभन्दा ‘म प्रतिनिधि भएँ’ भन्ने पदगत गौरव बढी देखिन्छ। महाधिवेशन प्रतिनिधि हुनु उपलब्धि हो तर त्यो उपलब्धिको अन्तिम अर्थ पद प्राप्ति होइन। त्यो जिम्मेवारीको सुरुआत हो।
आज देखिएको अर्को समस्या ऊर्जा र आकर्षणको हो। नयाँ पुस्ता उपस्थित छ तर नयाँ पुस्ताको ऊर्जा संगठन विस्तार गर्ने, विचार फैलाउने, अरूलाई जोड्ने र समाजलाई प्रभावित पार्ने स्तरको छ कि छैन भन्ने प्रश्न खुला छ। युवा हुनु मात्रै पर्याप्त हुँदैन। उमेरले युवा हुनु र राजनीतिक रूपमा ऊर्जावान हुनु फरक कुरा हो। ऊर्जा भनेको अरूलाई आकर्षित गर्ने क्षमता हो। ऊर्जा भनेको विचारमा विश्वास जगाउने क्षमता हो। ऊर्जा भनेको आफू मात्र अगाडि बढ्ने होइन, आफूसँग अरूलाई पनि अगाडि बढाउने क्षमता हो। ऊर्जा भनेको संगठन बनाउने शक्ति हो। नयाँ पुस्ताले पुरानो पुस्ताको कमजोरीलाई आलोचना मात्र गर्छ तर आफूभित्र नयाँ राजनीतिक संस्कार, अध्ययन, अनुशासन, उदारता र संगठन निर्माणको क्षमता विकास गर्दैन भने पुस्तान्तरणले मात्र कांग्रेस परिवर्तन हुँदैन।
जिम्मेवारीको राजनीति आवश्यक
१५औं महाधिवेशनको सबैभन्दा गम्भीर पक्ष मलाई प्रतिनिधिहरूमा देखिएको प्रतिस्पर्धात्मक मानसिकता लाग्यो। तल्लो तहदेखि केन्द्रीय तहसम्म आइपुग्दा पदको आकांक्षा स्वाभाविक रूपमा देखिन्छ तर समस्या आकांक्षामा होइन, आकांक्षाले जिम्मेवारीलाई विस्थापित गर्नुमा छ। महाधिवेशन प्रतिनिधि भएर आएका धेरै मानिसमा ‘अब म पनि उम्मेदवार हुनुपर्छ’ भन्ने मनोविज्ञान बलियो देखिन्छ। राजनीति पद प्राप्त गर्ने माध्यम मात्र नभएर राजनीतिक जिम्मेवारी ग्रहण गर्ने प्रक्रिया पनि हो। कुनै क्षेत्रबाट निर्वाचित भएर केन्द्रीय महाधिवेशनमा आएको व्यक्तिले पहिले आफूलाई सोध्नुपर्ने प्रश्न हो, ‘मलाई किन पठाइयो ?’ त्यसको उत्तर ‘पदका लागि’ मात्र हुन सक्दैन। आफू आएको क्षेत्रका कार्यकर्ता, मतदाता र संगठनका समस्यालाई केन्द्रीय तहमा पुर्याउन, आफ्नो क्षेत्रको आवाजलाई पार्टीको नीति निर्माणमा जोड्न र पार्टीलाई बलियो बनाउन उसलाई पठाइएको हो। आज ‘म के बन्ने ?’ भन्ने प्रश्नले ‘म के गर्ने?’ भन्ने प्रश्नलाई पछाडि पारिरहेको छ।
यो प्रवृत्ति नयाँ पुस्तामा पनि देखिन्छ। आज संसारका धेरै लोकतान्त्रिक मुलुकमा युवाहरूले कम उमेरमै नेतृत्व सम्हालेका छन्। नेपालको सन्दर्भमा पनि पैंतीस वर्ष आसपासको उमेरमा प्रधानमन्त्री बन्ने राजनीतिक सम्भावना असम्भव छैन। त्यसैले युवालाई नेतृत्वमा आउन दिनुहुँदैन भन्ने होइन। बरु युवा नेतृत्व कस्तो हुनुपर्छ भन्ने प्रश्न हो। युवा नेतृत्वले पुरानो पुस्तालाई कमजोर बनाएर आफू बलियो बन्ने राजनीति गर्नु हुँदैन। पुरानो पुस्ताका कमजोरी सुधार्दै, उनीहरूको अनुभवबाट सिक्दै, आफूले नयाँ ऊर्जा थपेर नेतृत्व हस्तान्तरणको संस्कृति निर्माण गर्नुपर्छ। पुस्ता परिवर्तन भनेको पुस्ताबिचको युद्ध होइन। यो अनुभव र ऊर्जाबिचको सहकार्य हो।
कांग्रेसले अब ‘कसले पद पाउँछ?’ भन्ने बहसबाट माथि उठेर ‘कसले जिम्मेवारी पूरा गर्छ ?’ भन्ने बहस सुरु गर्नुपर्छ। पदमा पुगेपछि के गर्ने? संगठन कसरी विस्तार गर्ने? जनताको विश्वास कसरी फर्काउने? स्थानीय तहसम्म कांग्रेसलाई कसरी जीवन्त बनाउने? नीति र कार्यक्रमलाई जनताको दैनिक जीवनसँग कसरी जोड्ने? यी प्रश्न महाधिवेशनको केन्द्रमा आउनुपर्छ। बन्दसत्रमा पारित हुने राजनीतिक दस्तावेज, प्रस्ताव र एजेन्डाको आफ्नै महत्त्व छ। एजेन्डा कागजमा सीमित रहे भने त्यसको अर्थ हुँदैन। महाधिवेशनको वास्तविक परीक्षा बन्दसत्रभन्दा बाहिर देखिने व्यवहारमा हुन्छ। कांग्रेसको भविष्य कागजमा लेखिएको विधानले मात्र निर्धारण गर्दैन। कार्यकर्ताको व्यवहार, नेतृत्वको नैतिकता, संगठनप्रतिको प्रतिबद्धता र जनतासँगको सम्बन्धले निर्धारण गर्छ।
कांग्रेसले अब के बदल्ने?
नेपाली कांग्रेसलाई विगतको जस्तो मजबुत, सिद्धान्तनिष्ठ, कर्मशील र संगठित पार्टी बनाउने हो भने अब केही आधारभूत विषयमा पुनर्विचार गर्नैपर्छ।
पहिलो, कांग्रेसले आर्थिक राष्ट्रवादलाई व्यावहारिक राजनीतिक दर्शनका रूपमा आत्मसात् गर्नुपर्छ। राष्ट्रिय उत्पादन, स्वदेशी उद्यम, कृषि, उद्योग, रोजगारी र आत्मनिर्भर अर्थतन्त्रलाई राजनीतिको केन्द्रमा राख्नुपर्छ। जनताको आर्थिक जीवन बदल्न नसक्ने राजनीतिले लामो समयसम्म जनताको विश्वास आर्जन गर्न सक्दैन।
दोस्रो, कांग्रेस अझ व्यावहारिक र नैतिक बन्नुपर्छ। भाषणमा लोकतन्त्र, समाजवाद र सुशासन भन्ने तर व्यवहारमा त्यसको विपरीत जाने प्रवृत्तिले पार्टीको नैतिक आधार कमजोर बनाउँछ। जनताको माग र आकांक्षा बुझ्ने, त्यसअनुसार नीति बनाउने र कार्यान्वयनको परिणाम देखाउने राजनीतिक संस्कार आवश्यक छ।
तेस्रो, कांग्रेसमा उदार चित्त र उदार मन चाहिन्छ। राजनीति आफ्ना मानिसलाई माथि उठाउने कला मात्र होइन। फरक विचार राख्ने मानिसलाई पनि सुन्ने, आलोचनालाई स्वीकार गर्ने, योग्यतालाई अवसर दिने र संगठनभित्र सहकार्यको वातावरण बनाउने क्षमता नेतृत्वमा हुनुपर्छ। चौथो, कार्यकर्तालाई चुनावका बेला मात्र परिचालन गर्ने होइन, उनीहरूलाई संस्थागत रूपमा जोडिरहन सक्नुपर्छ। कार्यकर्ता पार्टीका लागि मत माग्ने साधन नभएर पार्टीको विचार, संगठन र जनसम्बन्धका स्थायी आधार हुन्।
कांग्रेसको वास्तविक शक्ति उसका कार्यालयहरूमा होइन, गाउँ–गाउँमा रहेका कार्यकर्ताको मनमा हुन्छ। त्यो मनमा कांग्रेसप्रतिको अपनत्व, गौरव र भविष्यप्रतिको विश्वास जीवित राख्न सकियो भने पार्टी बलियो हुन्छ। अन्यथा ठुलो इतिहास बोकेको पार्टी पनि विस्तारै औपचारिक संस्थामा परिणत हुन सक्छ। १५औं महाधिवेशन कांग्रेसका लागि यही अर्थमा एउटा निर्णायक अवसर हो। यसले नयाँ नेतृत्व मात्र चयन गर्ने होइन, नयाँ राजनीतिक संस्कार पनि निर्माण गर्नुपर्छ। प्रतिनिधिहरूलाई पदको आकांक्षी मात्र होइन, जिम्मेवारीका संवाहक बनाउनुपर्छ। युवालाई पुरानो पुस्ताविरुद्ध उभ्याउने होइन, अनुभव र ऊर्जाबिच पुल बनाउनुपर्छ। नेतृत्वलाई शक्तिको केन्द्र होइन, संगठन र जनताको सेवाको माध्यम बनाउनुपर्छ।
आजको कांग्रेसमा देखिएको मानसिकता परिवर्तन नगरी अनुहार मात्र परिवर्तन गर्दा परिणाम फरक आउँदैन। पदमा नयाँ मानिस आउन सक्छन् तर सोच पुरानै रह्यो भने पार्टीको गति बदलिँदैन। कांग्रेस अहिले अधोगतिको जोखिममा छ भन्ने चिन्ता गर्नु पर्याप्त छैन। त्यसलाई अग्रगतिमा बदल्ने साहस चाहिन्छ। त्यसका लागि नेतृत्वले महाधिवेशनको परिणामभन्दा महाधिवेशनको सन्देश बुझ्नुपर्छ। कांग्रेसले आर्थिक राष्ट्रवाद, व्यवहारिक समाजवाद, नैतिक राजनीति, सुशासन, उत्पादन, उद्यमशीलता र जनताको आकांक्षालाई आफ्नो राजनीतिक केन्द्रमा राख्न सक्यो; कार्यकर्तालाई पदका लागि होइन, जिम्मेवारीका लागि तयार गर्न सक्यो; र युवालाई संघर्ष र अनुभवको सम्मान गर्दै नेतृत्वको नयाँ ऊर्जामा रूपान्तरण गर्न सक्यो भने कांग्रेसले समकालीन राजनीतिमा पुनः आफ्नो समकक्षता स्थापित गर्न सक्छ।
महाधिवेशनमा फेरि स्वार्थ–परस्त पदको प्रतिस्पर्धा, समूहगत हिसाब–किताब र व्यक्तिगत महत्वाकांक्षाको उत्सवमा सीमित भयो भने इतिहासको गौरवले मात्र भविष्य जोगाउन सक्दैन। कांग्रेसको प्रश्न अब ‘कसले जित्यो?’ भन्दा पनि कांग्रेस फेरि जनताको पार्टी बन्न सक्छ कि सक्दैन? भन्ने हो। महाधिवेशनले त्यसको उत्तर दिनुपर्नेछ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।