कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तान ‘ए’ विरुद्ध खेल्दैछ।
नेपाल र पाकिस्तान ‘ए’ बीचको खेल अपराह्न ३ः४५ देखि दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ। नेपालले पहिलो खेलमा भारतविरुद्ध ३०६ रनको हार व्यहोरे पनि दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) उत्कृष्ट पुनरागमन गर्दै छ विकेटको जित निकालेको थियो।

नेपाल आज पनि सानदार प्रदर्शन गर्दै पाकिस्तानलाई हराउने योजनामा छ।
उता एक खेलअगावै सेमिफाइनल पुगिसकेको पाकिस्तान लगातार तेस्रो जित निकाल्ने सोचमा छ। उसले पहिलो खेलमा युएई र दोस्रो म्याचमा भारत ‘ए’ लाई हराएको थियो।
इमर्जिङ कपमा हालसम्म नेपाल र पाकिस्तान ‘ए’ बीच एकपटक मात्र भेट भएको छ। सन् २०२३ को संस्करणमा पाकिस्तानविरुद्ध नेपालले ४ विकेटको पराजय व्यहोरेको थियो। त्यस खेलमा पहिला ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १७९ रनमा अलआउट भयो।
नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तानले ३२ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा भेट्टायो। नेपाल सामु आज तीन वर्षअघिको हारको बदला लिने अवसर छ।
जारी प्रतियोगितामा नेपाल दुई अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ। समूह ‘बी’ मै रहेको पाकिस्तान चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।