पाँच पटक मिति सारेर हुन लागेको दसौं राष्ट्रिय खेलकुदको प्रतिस्पर्धा मंगलबार कर्णालीबाट सुरु हुँदै छ। चार दशक पार गरिसकेको राष्ट्रिय खेलकुदको दसौं संस्करणको उद्घाटन भने कर्णाली प्रदेशकै सुर्खेतमा मंसिर १६ गते हुनेछ। आयोजनास्थलमा बासस्थान समस्या भएपछि धेरै अघि नै खेल प्रतिस्पर्धा सुरु गरिएको हो।
दसौं खेलकुदको प्रतिस्पर्धा सुरु हुन लाग्दा नेपाली खेलाडी निकै उत्साहित छन्। २०८१ सालमै हुनुपर्ने यो आयोजना अन्ततः सुरु हुनु नेपाली खेलकर्मीका लागि खुसीको विषय हो। तर यो आयोजना राष्ट्रिय खेलकुदको मर्म र उद्देश्यअनुरूप हुँदै छ कि छैन भन्ने प्रश्न भने उठिरहेको छ।
यो अवस्थाले खेलकुदको कमजोर व्यवस्थापन र पूर्वाधार अभावलाई उजागर गरेको छ। यसै पनि राष्ट्रिय खेलकुद नियमित र व्यवस्थित हुन सकेको छैन। यसले खेलाडीमाथि अन्याय गरेको छ। आवश्यक पूर्वाधार नहुँदा दीर्घकालमा यो आयोजना सबै क्षेत्रबाट खेल विकासको आधार बन्न सक्दैन।

यसपल्ट पनि आवश्यक पूर्वाधारबिना नै राष्ट्रिय खेलकुद हुँदै छ। आयोजना अभावकै कारण कर्णाली प्रदेशबाहिर नै खेल आयोजना गरिँदै छ। यो खेलकुद विकासप्रतिकै बेवास्ता हो। नेपाली खेलकुदको सबैभन्दा ठुलो खेल महोत्सव हो– राष्ट्रिय खेलकुद। यसको सुरुआत २०३८ सालबाट भएको थियो।
देशका हरेक कुनाबाट प्रतिभालाई राष्ट्रिय स्तरसम्म ल्याउने उद्देश्य राखेर राष्ट्रिय खेलकुदको सुरुआत भएको हो। दुई वर्षको अन्तरमा यो आयोजना गर्ने गरी यसको सुरुआत भएको थियो तर त्यसअनुरूप भने हुन सकेन। नेपाली राजनीतिको स्वार्थमा नेपाली खेलकुदकै ठुलो खेल महोत्सव अन्योलमा पर्ने गरेको छ। दसौं संस्करणको पनि पाँच पटकसम्म मिति सारिएको थियो।
आयोजना हुनुलाई मात्र खेल विकासको आधार मान्न सकिन्न। यसको आयोजनाले दीर्घकालसम्म सकारात्मक प्रभाव पार्छ या पार्दैन भन्नु महŒवपूर्ण पक्ष हो। दसौं आयोजना सुरु हुँदै गर्दा यसले खेलकुद विकासको उत्साहभन्दा पनि नेपाली खेलकुदको अव्यवस्था, कमजोर पूर्वाधार र राजनीतिक हस्तक्षेपको पुरानै कथा दोहोर्याएको छ।
२०३८ सालमा काठमाडौंमा पहिलोपटक सुरु भएको राष्ट्रिय खेलकुद हरेक दुई वर्षमा आयोजना गर्ने परिकल्पना गरिएको थियो। त्यसअनुसार अघि बढेको भए अहिले नेपाली खेलकुदले २२औं संस्करणको तयारी गरिरहेको हुन्थ्यो तर चार दशकभन्दा लामो इतिहास बोकेको राष्ट्रिय खेलकुद अहिलेसम्म दसौं संस्करणसमेत पूरा गर्न सकेको छैन। यो अन्तराल आफैंमा नेपाली खेलकुदको विकास र व्यवस्थापनको कमजोर अवस्थाको प्रमाण हो।
राष्ट्रिय खेलकुद पदक जित्ने र हार्ने प्रतिस्पर्धा मात्र होइन, देशभरका प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्ने, उनीहरूको क्षमता परीक्षण गर्ने र आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी पहिचान गर्ने महत्त्वपूर्ण अवसर हो। जिल्ला र प्रदेशस्तरका प्रतिस्पर्धाबाट छनोट भएका खेलाडीले राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गर्ने अवसर पाउँछन्।
त्यसैले राष्ट्रिय खेलकुदलाई नेपाली खेलकुद विकासको मेरुदण्ड मानिन्छ तर यसको नियमित आयोजना हुन नसक्दा सबैभन्दा ठुलो मार खेलाडीमाथि परेको छ। खेलाडीले वर्षौंसम्म गरेको प्रशिक्षण, त्याग र मिहिनेतको मूल्यांकन हुने महत्त्वपूर्ण मञ्च नै अनिश्चित बन्दा उनीहरूको तयारी र करिअर प्रभावित हुन्छ।
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट र क्षमता मूल्यांकन गर्ने आधारसमेत कमजोर हुन्छ। खेलकुदमा निरन्तरता र प्रतिस्पर्धा महत्त्वपूर्ण हुन्छ तर राष्ट्रिय खेलकुद नै कहिले हुने भन्ने निश्चित नहुँदा खेलाडीले आफ्नो लक्ष्यअनुसार तयारी गर्न पाउने अवस्था छैन।
राष्ट्रिय खेलकुदको इतिहास हेर्ने हो भने सुरुआत राम्रै छ। पहिला तीन संस्करण दुई वर्षको अन्तरालमै भए। २०३८ सालमा काठमाडौं, २०४० सालमा पोखरा र २०४२ सालमा वीरगन्जमा राष्ट्रिय खेलकुद भएका थिए। त्यसपछि भने राष्ट्रिय खेलकुदले नियमितता पाएन। चौथो संस्करणले आयोजनाका लागि १३ वर्ष कुर्नुपर्यो। राजनीतिक व्यवस्था परिवर्तनको सिकार राष्ट्रिय खेलकुद बन्यो।
२०५५ सालमा नेपालगन्जमा चौथो संस्करण सम्पन्न भयो। पाँचौं राष्ट्रिय खेलकुदका लागि पनि नेपाली खेलकुदले लामो प्रतीक्षा गर्नुप¥यो। यो आयोजना त इतिहासकै खराब बन्यो। त्यतिबेला यो आयोजना टुँडिखेलमै पाल टाँगेर गरिएको थियो। यो आयोजनाले भ्रष्टाचारको व्यापक आरोपसमेत खेप्नुपर्यो। सुरुमा यो सुदूरपश्चिममा आयोजना गर्ने भनिएको थियो तर पूर्वाधार अभाव देखाउँदै काठमाडौंमा सारियो। तथापि पूर्वाधारबिना नै राष्ट्रिय खेलकुद मर्मविपरीत काठमाडौंमा यसको आयोजना हुन पुग्यो। पटकपटक मिति परिवर्तन भएपछि २०६५ मा मात्र पाँचौं संस्करण सम्पन्न भयो।
छैटौं संस्करण २०६८ मा सुदूरपश्चिममा आयोजना भयो। तत्कालीन नेकपा माओवादीका लडाकुका पिएलएले नै यो आयोजनामा सहभागिता जनाएका थिए। तर पिएलए खेलेपछि आर्मीले त्यो आयोजना खेल्न आफ्ना खेलाडीलाई रोकेको थियो। यो आयोजना पनि राजनीतिक छायामा पर्दा केही खेलाडी खेल्नबाटै वञ्चित भए।
त्यसपछि सातौं संस्करणले फेरि चार वर्ष कुर्नुपर्यो। पूर्वाञ्चलमा आयोजना गर्ने निर्णय भएको प्रतियोगिता पटकपटक स्थगित हुँदै २०७२ मा मात्र विराटनगरलाई केन्द्र बनाएर सम्पन्न भयो। सातौं संस्करणको समापनमै नेपालगन्जलाई आठौं राष्ट्रिय खेलकुदको जिम्मेवारी दिइएको थियो। तर नेपालगन्जले झन्डा लिएको दुई वर्षभन्दा बढी समयपछि मात्र २०७६ मा आठौं संस्करण आयोजना गर्न सक्यो।
नवौं राष्ट्रिय खेलकुद सम्पन्न हुन पनि तीन वर्ष कुर्नुप¥यो। गण्डकी प्रदेशमा २०७९ सालमा सम्पन्न नवौं संस्करणले कर्णालीलाई दसौं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी दिएको थियो। २०८१ मंसिरमै आयोजना गर्ने तय भएको दसौं संस्करण पनि निर्धारित समयमा हुन सकेन। खेलकुदभित्रको आन्तरिक विवाद, राजनीतिक अस्थिरता र प्रदेश सरकारसँगको समन्वय अभावले प्रतियोगिता प्रभावित भयो। आयोजनाप्रति कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री यामलाल कँडेलको असहमतिले समेत राष्ट्रिय खेलकुदको तयारीमा असर परेको थियो। अन्ततः पाँचपटक मिति परिवर्तन भएपछि प्रतियोगिता सुरु हुने अवस्थामा पुगेको छ तर आयोजना हुनु मात्र यसको सफलता होइन।
राष्ट्रिय खेलकुद आयोजना गर्नुको मूल उद्देश्य देशका विभिन्न भागमा खेल पूर्वाधार निर्माण गर्नु र खेलकुदलाई विकेन्द्रीकरण गर्नु हो। जुन प्रदेशले प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी पाउँछ, त्यहाँ खेल पूर्वाधार विकास हुने र त्यसको दीर्घकालीन लाभ स्थानीय खेलाडीले प्राप्त गर्ने अपेक्षा गरिन्छ तर दसौं राष्ट्रिय खेलकुदले यो उद्देश्य पूरा गर्न सकेको देखिँदैन। यसपटक ३२ खेलमा प्रतिस्पर्धा हुँदै छ। तीमध्ये २८ खेल कर्णाली प्रदेशमा र चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुनेछन्। पौडी र सुटिङ नेपालगन्जमा तथा खोखो र टेनिस लुम्बिनी प्रदेशका अन्य स्थानमा हुनेछन्।
कर्णालीको राजधानी सुर्खेतमै पर्याप्त पूर्वाधार नहुँदा प्रतियोगिताका खेल अर्को प्रदेशमा सञ्चालन गर्नुपर्ने अवस्था आएको छ। सुर्खेतमा २३ खेल आयोजना हुने भए पनि प्रदेशको राजधानीमै सबै खेल सञ्चालन गर्न आवश्यक पूर्वाधार तयार नहुनु गम्भीर र दुर्भाग्यपूर्ण विषय हो।
पूर्वाधार अभावकै कारण प्रतियोगिताका खेल अन्य प्रदेशमा सारिनुले राष्ट्रिय खेलकुद आयोजना गर्नुको औचित्यमाथि प्रश्न उठाउँछ। एउटा प्रदेशलाई आयोजनाको जिम्मेवारी दिनुको अर्थ त्यहाँ प्रतियोगिता सञ्चालन गर्नु मात्र होइन, यो आयोजना खेल संरचना विकास गर्नु पनि हो।
प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माणमा समयमै ध्यान दिएको भए कर्णालीले आफ्नो क्षमताअनुसार सबै खेल आयोजना गर्ने अवसर पाउन सक्थ्यो। तर प्रतियोगिताको मिति सार्ने र अन्तिम समयमा व्यवस्थापन मिलाउने प्रवृत्तिले खेलकुद विकासको दीर्घकालीन योजनालाई कमजोर बनाएको छ।
दसौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीले प्रतिस्पर्धा गर्दै छन्। आठौं संस्करणदेखि एनआरएनएको सहभागिता सुरु भएको हो। यसले विदेशमा रहेका नेपाली खेलाडीलाई पनि राष्ट्रिय खेलकुदमा आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरेको छ। यो सकारात्मक पक्ष हो। यसले प्रतियोगिताको दायरा र सहभागिता विस्तारलाई देखाउँछ। साथै यसको व्यवस्थापन, पूर्वाधार र नियमिततामा पनि त्यहीअनुसार सुधार आउनुपर्ने हुन्छ तर त्यसअनुरूप हुन सकेको छैन।
तत्कालीन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव शरदचन्द्र शाहले २०३८ सालमा यसको परिकल्पना गरेका थिए। राष्ट्रिय खेलकुदको उद्देश्य प्रतिभा पहिचान र खेल विकास थियो। त्यसको मर्म अहिले पनि उत्तिकै सान्दर्भिक छ तर चार दशक बितिसक्दा पनि राष्ट्रिय खेलकुदलाई नियमित र व्यवस्थित बनाउन नसक्नु विडम्बना हो। राजनीतिक नेतृत्व परिवर्तनसँगै खेलकुदका प्राथमिकता बदलिने, खेलभित्रको आन्तरिक द्वन्द्वले प्रभावित हुने र आयोजनाको जिम्मेवारी पाएको प्रदेशले आवश्यक तयारी गर्न नसक्ने प्रवृत्ति अन्त्य हुन सकेको छैन।
राष्ट्रिय खेलकुदलाई नियमित बनाउने जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय, प्रदेश सरकार र सम्बन्धित खेल संघ सबैको हो। आयोजना हुने वर्ष मात्र बजेट छुट्याउने र प्रतियोगिताको मिति नजिकिएपछि हतारमा तयारी गर्ने प्रवृत्तिले समस्या समाधान हुँदैन।
आयोजनाको जिम्मेवारी पाएको प्रदेशमा आवश्यक पूर्वाधार निर्माण, बजेट सुनिश्चितता र व्यवस्थापकीय तयारी समयमै हुनुपर्छ। संघ, प्रदेश र स्थानीय सरकारबिच प्रभावकारी समन्वय आवश्यक छ। राष्ट्रिय खेलकुदको अर्को महत्त्वपूर्ण पक्ष यसको निरन्तरता हो।
प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पाएको प्रदेशमा सरकार परिवर्तन हुँदैमा राष्ट्रिय खेलकुदको भविष्य अन्योलमा पर्नुहुँदैन। यो कुनै दल वा सरकारको प्रतिष्ठाको विषय होइन, राष्ट्रिय खेलकुदको विकास र खेलाडीको भविष्यसँग जोडिएको विषय हो। त्यसैले राष्ट्रिय खेलकुदलाई राजनीतिक खिचातानीबाट अलग राख्नुपर्छ। प्रत्येक दुई वर्षमा प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धतालाई व्यवहारमै लागु गर्नुपर्छ।
दसौं राष्ट्रिय खेलकुद सुरु हुनु आफैंमा सकारात्मक उपलब्धि हो तर प्रतियोगिताको सफलताको मापन उद्घाटन समारोहको भव्यता, खेलाडीको सहभागिता वा पदक तालिकाले मात्र गर्दैन। यसले कर्णालीको खेल पूर्वाधारमा कति सुधार ल्यायो, नयाँ प्रतिभा कति पहिचान गर्यो र आगामी संस्करणका लागि कस्तो आधार तयार गर्यो भन्ने विषय महत्त्वपूर्ण हुन्छ। प्रतियोगिता सकिएपछि पूर्वाधार अलपत्र हुने नियति दोहोरिँदै छ।
राष्ट्रिय खेलकुदका प्रतिस्पर्धाले खेलाडीको भविष्य सुनिश्चित गर्नुपर्छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीको भविष्यलाई सुनिश्चित गर्न सकेको छैन तर राखेपले प्रतियोगिता आयोजनाको औपचारिक जिम्मेवारी मात्र पूरा गर्दै आइरहेको छ। यो निकाय यसको उद्देश्य र मर्मअनुसार दीर्घकालीन योजना बनाउनुपर्छ।
चार दशकभन्दा लामो यात्रा पार गर्दा यो आयोजनाको महŒव बढाउन सक्नुपर्नेछ। राष्ट्रिय खेलकुदलाई राजनीतिक स्वार्थ, प्रशासनिक कमजोरी र पूर्वाधार अभावको बन्धक बनाइराख्नुहुँदैन नत्र यसको औचित्य कमजोर हुँदै जानेछ। राष्ट्रिय खेलकुदको मर्म जोगाउन नियमित, व्यवस्थित र पूर्वाधारमैत्री खेलकुद बनाउनैपर्छ। तब मात्र यसले खेलाडीको मिहिनेतको सम्मान र नेपाली खेलकुदको भविष्य उज्वल बनाउन सक्छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।