राजनीति

एमाले भेला : एकता सन्देश कि शक्ति सन्तुलनको परीक्षा

नेकपा एमालेले बुधबार सुरु हुने दुई दिने राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ। एमालेले सोमबार पत्रकार सम्मेलन गरेर भेलाको तयारी पूरा भएको जनाएको हो।

काठमाडौंको माइतीघरमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भेलाको उद्घाटन गर्ने छन्। देशभरिका तीन हजारभन्दा बढी नेता तथा कार्यकर्ता र जनप्रतिनिधि सहभागी हुने भेलाले नियमित संगठनात्मक कार्यक्रमभन्दा बढी राजनीतिक अर्थ बोकेको विश्लेषण गर्न थालिएको छ।

२०८३ भदौमा भएको जेनजी विद्रोहपछि सत्ता र शक्ति बाहिर पुगेको एमाले गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको परिणाम पनि आफ्नो पक्षमा पार्न सकेन। कमजोर नतिजासँगै पार्टीका शीर्ष नेताहरू नै लामो समय आन्तरिक कहलमा रुमलिन पुगे। जसले एमाले पार्टीपंक्तिमा उत्साह होइन, निराशा बढाउँदै लगेको छ। संगठन निष्क्रिय प्राय हुँदा आगामी स्थानीय तहको निर्वाचन पनि उसका लागि चुनौतीपूर्ण बन्न सक्ने आकलन गरिएको छ।

विज्ञापन

सोही बेला पार्टीभित्रको आन्तरिक विवादलाई तत्काल थामथुम पारेको एमालेले भेलामार्फत पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा व्याख्या गरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे विश्लेषण गर्नेछन् भने वरिष्ठ नेता विद्यादेवी भण्डारीले पनि समसामयिक राजनीतिक विषय र पार्टीका कार्यभारबारे भेलामा धारणा राख्नेछिन्। उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले भेलामा संसदीय भूमिका, विगतको सरकारको समीक्षा, पार्टी शुद्धीकरण र संगठन सुदृढीकरणका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।

पार्टीभित्रको शक्तिसन्तुलन कायम गर्न भेलामा अध्यक्ष ओली, वरिष्ठ नेता भण्डारीसहितका नेताहरूको जिम्मेवारी तोकिएको छ।

जेनजी विद्रोहलगतै भएको एमाले महाधिवेशनमै पूर्वराष्ट्रपतिसमेत रहेकी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कन चाहेकी थिइन्। भण्डारी आफ्नो विकल्पका रूपमा पार्टी राजनीतिमा फर्कन खोजेपछि ओलीले उनलाई रोकेका थिए। राष्ट्राध्यक्षको जिम्मेवारीमा पुगेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कन नहुने भाष्य ओलीसहितका नेताहरूले बनाएका थिए।

भण्डारी रोकिएपछि ओलीसँग नेता ईश्वर पोखरेलले अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। त्यसलगत्तै फागुनमा भएको निर्वाचनमा एमालेको पक्षमा परिणाम नआएपछि ओलीकै विश्वासपात्र भनिएकाहरू विष्णुप्रसाद पौडेल, शंकर पोखरेलसहितका नेता विपक्षमा उभिएका थिए। निकट नेताहरू नै विपक्षमा उभिएपछि ओली अप्ठेरोमा परेका थिए। सोही बेला विद्या भण्डारी वरिष्ठ नेताको हैसियतमा एमालेको राजनीतिमा फर्केकी हुन्। उनको उपस्थिति र भूमिकालाई अहिले अर्थपूर्ण रूपमा हेरिएका बेला ओली र भण्डारी दुवैले एउटै मञ्चबाट सम्बोधन गर्दै छन्। त्यसले एमालेभित्र बढ्दै गएको तुसलाई मेटाउने र पार्टी एकताको सन्देश दिने दाबी गरिएको छ।

एमाले महासचिव पोखरेलले भेलाले नयाँ निर्णय लिनुभन्दा पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने दाबी गरेका छन्। राष्ट्रिय कार्यकर्ता भेलाले सिंगो पार्टीलाई एउटै राजनीतिक लयमा अघि बढाउने बताउँदै पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘राष्ट्रिय कार्यकर्ता भेला कुनै नयाँ निर्णय गर्ने थलो होइन। पार्टीले यसअघि गरेका निर्णयहरूलाई एकरूपताका साथ कार्यान्वयन गर्दै सिंगो पार्टीलाई एउटै लयमा अघि बढाउने उद्देश्यले गरिएको हो।’

तर ओली र भण्डारी एउटै मञ्चमा उपस्थित हुनु र नेतृत्वबिच राजनीतिक समझदारी कायम हुनु फरक कुरा हुन्। पार्टीभित्र नेतृत्वको कार्यशैली, निर्णय प्रक्रियामा सहभागिता र भावी नेतृत्वको प्रश्नमा स्पष्ट समझदारी बनेको छ कि छैन भन्ने कुरा अझ महत्त्वपूर्ण हुन्छ। एमालेको अर्को चुनौती निर्वाचनमा बेहोरेको धक्काको वस्तुनिष्ठ समीक्षा पनि हो। निर्वाचनको परिणामलाई प्रतिकूल राजनीतिक परिस्थिति वा विपक्षीको प्रभावका रूपमा व्याख्या गरेर संगठन सुधार सम्भव नभएको एमालेजनको बुझाइ छ।

जनताले किन एमालेको साथ छाडे, युवा पुस्तामा पार्टीप्रतिको आकर्षण किन घट्यो, स्थानीय तहसम्म संगठनको प्रभाव किन कमजोर भयो भन्नेजस्ता प्रश्नको जवाफ खोज्नुपर्ने तर्क नेताहरूले गर्दै आएका छन्।

ओलीसँग फरक मत राख्नेले त उनको बहिर्गमनलाई नै जोड दिँदै आएका छन् तर एमाले सार्वजनिक गरेको भेलाको कार्यसूचीमा स्थानीय निर्वाचनको तयारी, संगठन सुदृढीकरण र राजनीतिक बुझाइमा एकरूपता कायम गर्ने विषय प्राथमिकतामा छन्। त्यसले फरक मत राख्ने नेता तथा कार्यकर्तालाई संगठनको स्वाभाविक हिस्साका रूपमा स्वीकार गर्ने कि अनुशासनको नाममा सीमित गर्ने भन्ने प्रश्न एमालेसामु छ। एमालेको दुई दिने भेला विगतको आत्मसमीक्षा गर्दै नयाँ बाटो तय गर्ने साझा थलो बन्छ या आआफ्नो शक्ति परीक्षणमै सीमित हुन्छ, त्यो अझै केही दिन प्रतीक्षा गर्नुपर्ने विषय बनेको छ।

यद्यपि एमालेले सोमबार पत्रकार सम्मेलन गर्दै दुई दिने भेलाको तयारी पूरा भएको जनाएको छ। ‘आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी, पार्टीपक्तिमा पार्टीको निर्णय, राजनीतिक बुझाइ र दृष्टिकोणमा एकरूपता निर्माण गरेर वैचारिक तथा संगठनात्मक एकतालाई सुदृढ बनाउन र मुलुकमा पछिल्लो अवस्थामा देखिएको कुशासन र निराशालाई चिर्दै नयाँ आशा र ऊर्जा सञ्चार गर्ने भेलाको मुख्य उद्देश्य रहेको छ,’ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।