सिंगापुरको डाटा सेन्टर कम्पनी मेगास्पिड इन्टरनेशनलले पूर्वनिर्देशक एलिस हुआङले एक वर्षभन्दा बढी समयअघि नै कम्पनी छाडेको जनाएको छ।
एनभिडियाका उन्नत चिप चीन पठाउन सहयोग गरेको आशंकामा अनुसन्धान भइरहेको कम्पनीले एलिसले सन् २०२५ अगस्ट ३० देखि आफ्नो कम्पनीमा कुनै भूमिका नरहेको स्पष्ट पारेको हो।
चीनका कम्पनीलाई अमेरिकी निर्यात नियन्त्रणसम्बन्धी प्रतिबन्ध छल्न सघाउने गरी एनभिडियाका चिप खरिद गरेर दक्षिणपूर्वी एसियाका डाटा सेन्टरमार्फत चीन पठाएको आरोप मेगास्पिडमाथि लागेको छ।

मेगास्पिडकी पूर्वनिर्देशक एलिसलाई अमेरिकी सञ्चारमाध्यमले चिनियाँ गुप्तचर निकायसँग सम्बन्धित व्यक्ति भएको आशंका गरेका छन्। उनको एनभिडियाका सहसंस्थापक तथा पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङसँग विवाहबाहिरको सम्बन्ध रहेको विवरण पनि सार्वजनिक भएको थियो।
एएफपीको प्रश्नको जवाफ दिँदै मेगास्पिडले आइतबार भनेको छ, ‘एलिस हुआङले सन् २०२५ अगस्ट ३० देखि नै मेगास्पिड छाडेकी हुन्। अहिले कम्पनीमा उनको कुनै भूमिका छैन।’
कम्पनीले एलिसको व्यक्तिगत तथा निजी मामिलाबारे टिप्पणी नगर्ने पनि जनाएको छ।
एलिस र जेन्सेनबिच कुनै पारिवारिक सम्बन्ध छैन। यता चीनले एलिसमाथि लागेको जासुसीसम्बन्धी आरोप अस्वीकार गर्दै आएको छ।
जेन्सेनले नोभेम्बर ८ मा एनभिडियाका कर्मचारीलाई पठाएको पत्रमा विवाहबाहिरको सम्बन्ध स्वीकार गरेका थिए। तर उनले सम्बन्धमा रहेकी महिलाको नाम खुलाएका थिएनन्। त्यसको केही दिनपछि उनले एनभिडियाको सीईओ पदबाट राजीनामा दिएका थिए।
एनभिडियाको सञ्चालक समितिले यस विषयमा अनुसन्धान गर्ने जनाएको छ। अमेरिकी कंग्रेसका तीन समितिका अध्यक्षले पनि जेन्सेनलाई नोभेम्बर १८ मा बन्द बैठकमा उपस्थित भएर जानकारी दिन आग्रह गरेका छन्।
मेगास्पिडमाथि अझै अनुसन्धान
मेगास्पिडले आफूले कानुनअनुसार व्यवसाय सञ्चालन गरिरहेको दाबी गरेको छ। कम्पनीले आफ्नो व्यवसाय, आपूर्ति शृङ्खला र अन्तर्राष्ट्रिय कारोबारबारे सञ्चारमाध्यममा आएका दाबी प्रमाणित तथ्यमा आधारित नभएको बताएको छ।
कम्पनीले अमेरिकी निर्यात नियन्त्रणसम्बन्धी कानुन पालना भए-नभएकोबारे विस्तृत आन्तरिक अनुसन्धान गर्न बाह्य कानुनी परामर्शदाता नियुक्त गरेको पनि जनाएको छ।
अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै एनभिडियाका केही उन्नत एआई चिप चीन निर्यात गर्न प्रतिबन्ध लगाएको छ। तर ती प्रतिबन्ध छल्न विभिन्न माध्यमबाट चिप चीन पुर्याइएको आशंका गरिएको छ।
सिंगापुरका अधिकारीहरूका अनुसार, उन्नत एआई चिप जडित सर्भर मलेसिया निर्यात गरिएको देखिए पनि वास्तविक गन्तव्य अन्यत्र रहेको आशंका छ। यस विषयमा मेगास्पिडसहित विभिन्न कम्पनी र सम्बन्धित व्यक्तिमाथि अनुसन्धान भइरहेको छ।
सिंगापुरको गृह मन्त्रालयले नोभेम्बर १२ मा सार्वजनिक गरेको विवरणअनुसार, एलिसले कम्पनीमा आफ्नो भूमिकाबारे गलत जानकारी दिएको अनुसन्धानबाट देखिएको थियो। त्यसपछि उनलाई कडा चेतावनी दिइएको र सन् २०२६ फेब्रुअरीमा सिंगापुर पुनः प्रवेश गर्न रोक लगाइएको थियो।
यद्यपि, सिंगापुरका अधिकारीहरूले एलिसले जासुसी गरेको पुष्टि गरेका छैनन्। सर्भर खरिद तथा अन्य सम्भावित अपराधमा उनको संलग्नता रहेको प्रमाणित गर्न पर्याप्त प्रमाण नभेटिएको पनि मन्त्रालयले जनाएको छ।
मेगास्पिड र अन्य सम्बन्धित व्यक्तिमाथिको अनुसन्धान भने जारी रहेको सिंगापुर प्रहरीले जनाएको छ। एजेन्सी


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।