नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो पार्टीका रूपमा स्थापित हुने दाबी गरेका छन्।
शनिबार बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले आगामी चुनाव र वर्तमान सरकारविरुद्धको आन्दोलनलाई केन्द्रमा राखेर पार्टीले दुईवटा रणनीति बनाइरहेको बताए।
विगतमा एमाले नेतृत्वको सरकारले गरेका कामका गाथा र एजेन्डा लिएर जनतामाझ जाने उनको भनाइ थियो।

बस्नेतले वर्तमान सरकारको नौ महिने कार्यकाल कुशासन, भ्रष्टाचार, अनियमितता र महँगीमा डुबेको आरोप लगाए। ग्यासको मूल्य बढाइएको र युवालाई झुठो आश्वासन दिइएको जिकिर गर्दै उनले यो अवधिलाई बालेनको असफल कार्यकालका साथै अधिनायकवाद, निरङ्कुशता र प्रतिशोधतर्फको यात्रा भएको टिप्पणी गरे।
वर्तमान सरकारको आयु लामो नरहेको दाबी गर्दै बस्नेतले यसलाई आउँदो नयाँ वर्ष देखाउन नहुने बताए। उनले रास्वपा र सो पार्टीका नेताहरूमाथि खरानी ग्याङ र सहकारी ठगीलगायतका आरोप लगाउँदै जनहितविरोधी कार्यनीतिको भण्डाफोर गर्न विचार मिल्ने अन्य दलसँग निर्वाचनमा कार्यगत एकता र सडकमा संयुक्त सङ्घर्ष गरिने उल्लेख गरे।
पार्टीको आधारभूत तहलाई मजबुत बनाउन आगामी कात्तिक २६ गते वडा तहको र पुस ४ गते पालिका तहको अधिवेशन गरिने सचिव बस्नेतले जानकारी दिए।
सकेसम्म सर्वसम्मत र नभए लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गर्नुपर्ने बताउँदै उनले अगुवा नेताहरूलाई ‘मेरो र तेरो टिम’ बनाएर गुटबन्दीको सन्देश नदिन आग्रह गरे।
जटिल भूराजनीति तथा पार्टीमाथि चौतर्फी हमला भइरहेको अवस्थामा सङ्गठनलाई एकताबद्ध र प्रतिरोधी बनाउनुपर्नेमा उनले जोड दिए।
साथै, डिजिटल र सामाजिक सञ्जालको व्यवस्थित प्रयोगमार्फत सामाजिक न्यायका मुद्दा उठाउनुपर्ने उल्लेख गर्दै बस्नेतले विश्व राजनीतिमा नवउदारवाद खण्डित भई पुँजीवादको विकल्प समाजवाद नै भएको बहस स्थापित हुँदै गएको जिकिर गरे।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।