अमेरिकाको सियाटलमा दीपावली उत्सवका क्रममा हिन्दु समुदायलाई लक्षित गर्दै प्रदर्शन भएपछि विवाद भएको छ।
दक्षिणपन्थी कार्यकर्ता जेक ल्याङ र थोमस एलेनले दीपावली कार्यक्रममा पुगेर ‘टीका लगाउने सबैलाई देश निकाला गर’ र ‘इसाईहरूको हिन्दु प्रतिस्थापन रोक’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
उनीहरूको प्रदर्शनप्रति अमेरिकी सांसद प्रमिला जयपालले विरोध जनाएकी छन्। डेमोक्रेटिक पार्टीकी सांसद जयपालले पत्रकार जोनाथन चोले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो पुनः पोस्ट गर्दै घटनाको निन्दा गरेकी हुन्।

जयपालले उक्त गतिविधिलाई घृणित र जातिवादी प्रदर्शनको संज्ञा दिएकी छन्। दीपावली महत्त्वपूर्ण पर्व भएको उल्लेख गर्दै उनले हिन्दु समुदायले कुनै डरबिना सुरक्षित रूपमा पर्व मनाउन पाउनुपर्ने बताएकी छन्।
उनले लेखेकी छन्, ‘म यो घृणित र जातिवादी प्रदर्शनबाट अत्यन्तै आक्रोशित छु। दीपावली महत्त्वपूर्ण पर्व हो र हाम्रो समुदायले यसलाई मनाउँदा सुरक्षित महसुस गर्न पाउनुपर्छ। यस्तो घृणित प्रदर्शनका लागि हाम्रो सहर वा यो देशमा कुनै ठाउँ छैन।’
भारतीय मूलका अमेरिकी व्यापारी अजय जैन भुटोरियाले पनि घटनाको आलोचना गरेका छन्। उनले प्रदर्शनलाई ‘विशुद्ध घृणा र कट्टरता’ भनेका छन्।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सियाटलमा शान्तिपूर्ण रूपमा दीपावली मनाइरहेका बेला जेक ल्याङ र थोमस एलेनले ‘सबै डटहेडहरूलाई देश निकाला गर’ र ‘इसाईहरूको हिन्दु प्रतिस्थापन रोक’ लेखिएका प्लेकार्ड प्रदर्शन गर्नु विशुद्ध घृणा र कट्टरता हो।’
भुटोरियाले दीपावली प्रकाश, परिवार र खुसीको पर्व भएको बताउँदै यसलाई धम्की र घृणा फैलाउने माध्यम बनाउन नहुने उल्लेख गरेका छन्। जातीय गाली र घृणापूर्ण अभिव्यक्तिमार्फत हिन्दु अमेरिकी तथा भारतीय आप्रवासीलाई लक्षित गर्ने गतिविधिका लागि अमेरिकामा कुनै ठाउँ नभएको उनको भनाइ छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।