एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत यूएईविरुद्धको खेलमा भारत ‘ए’ का वैभव सूर्यवंशीले २८ बलमै कीर्तिमानी शतक प्रहार गरेका छन्। कतारको दोहामा जारी ५० ओभरको खेलमा उनले विस्फोटक ब्याटिङ गर्दै नयाँ कीर्तिमान बनाएका हुन्।
ताजा अवस्थामा सूर्यवंशी ३३ बलमा १२२ रन बनाएर अविजित खेलिरहेका छन्। ३६९.६९ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका उनले अहिलेसम्म १६ छक्का र ५ चौका प्रहार गरिसकेका छन्।
यूएईले दिएको २५० रनको लक्ष्य पछ्याइरहेको भारत ‘ए’ ले ८ ओभरको समाप्तिमा २ विकेट गुमाएर १४२ रन बनाएको छ।

भारत ‘ए’ का अभिषेक शर्मा ५ बलमा १ चौका र १ छक्कासहित १२ रन तथा प्रभसिमरन सिंह ३ रन जोडेर आउट भए। अहिले सूर्यवंशीलाई क्रिजमा रिंकु सिंहले ६ बलमा १ रन बनाउँदै साथ दिइरहेका छन्। यूएईका तर्फबाट जाहिद अली र इब्रार अहमदले १-१ विकेट लिएका छन्। अहमदले ३ ओभरमै ७१ रन खर्चिएका छन्।
यसअघि पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४९ रनको योगफल तयार पारेको थियो। यूएईका लागि हरप्रित सिंहले १४४ बलमा १२ चौका र ४ छक्कासहित १३० रनको शतकीय इनिङ्स खेले। यस्तै, कप्तान बासिल हमिदले ३६ रन अविजित, मुहम्मद शहदादले २८ र इथन डिसुजाले २५ रन बनाए।
भारत ‘ए’ का लागि बलिङतर्फ अर्शद खानले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा ४३ रन खर्चिए।
यस्तै, हर्षित राणा, सूर्यांश शेडगे, हर्ष दुबे र शहबाज अहमदले समान १-१ विकेट हात पारे। समूह ‘बी’ अन्तर्गतको यो १२औँ खेल हो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।