विश्वको धार्मिक जनसंख्यामा आगामी दशकहरूमा ठुलो परिवर्तन आउने अनुमान गरिएको छ।
प्यू रिसर्च सेन्टरको नयाँ प्रक्षेपणअनुसार सन् २०३५ सम्ममा इस्लाम धर्म मान्नेको संख्या इसाई धर्म मान्नेको भन्दा बढी हुनेछ। यससँगै इस्लाम विश्वकै सबैभन्दा ठुलो धर्म बन्नेछ। अर्कोतर्फ, हिन्दु धर्म मान्नेको संख्या बढे पनि विश्व जनसंख्यामा उनीहरूको हिस्सा भने घट्ने अनुमान गरिएको छ।
प्यूका अनुसार सन् २०२० मा विश्वभर करिब दुई अर्ब २७ करोड इसाई र दुई अर्ब दुई करोड मुस्लिम थिए। तर सन् २०३५ सम्ममा मुस्लिमको संख्या बढेर दुई अर्ब ५७ करोड पुग्नेछ भने इसाईको संख्या दुई अर्ब ५२ करोड रहने अनुमान छ। हाल दुवै धर्मका अनुयायीको संख्या बढिरहेको भए पनि मुस्लिमको संख्या तुलनात्मक रूपमा तीव्र गतिमा बढिरहेको छ।

मुस्लिमको संख्या बढ्नुको प्रमुख कारण उच्च जन्मदर र युवा जनसंख्या रहेको प्यूले जनाएको छ। सन् २०२० देखि २०२५ सम्मको तथ्यांकअनुसार मुस्लिम महिलाले औसतमा ३.१ सन्तान जन्माएका छन्। इसाई महिलाको औसत जन्मदर २.५ र अन्य धर्मका महिलाको १.६ रहेको छ।
प्यूका वरिष्ठ जनसांख्यिकीविद् कोनराड ह्याकेटले धर्म परिवर्तनभन्दा जन्मदरले जनसंख्या वृद्धिमा ठुलो भूमिका खेलेको बताएका छन्। उनले भनेका छन्, ‘यो बच्चाहरूका कारण भएको हो।’
प्यूको प्रक्षेपणअनुसार सन् २०७० सम्ममा विश्वभर मुस्लिमको संख्या तीन अर्ब ६० करोडभन्दा बढी पुग्नेछ भने इसाईको संख्या तीन अर्बभन्दा कम रहनेछ। सन् २०२० देखि २०७० सम्म मुस्लिमको संख्या ८० प्रतिशतले बढ्ने अनुमान छ। यस अवधिमा इसाईको संख्या भने ३० प्रतिशतले बढ्नेछ।
हिन्दु धर्मको हकमा पनि यस्तै अवस्था देखिनेछ। प्यूको अनुमानअनुसार सन् २०२० मा विश्वभर करिब एक अर्ब १८ करोड हिन्दु थिए। यो संख्या सन् २०७० सम्ममा बढेर एक अर्ब ३८ करोड पुग्नेछ। तर विश्वको कुल जनसंख्यामा हिन्दुको हिस्सा भने १४.९ प्रतिशतबाट घटेर १३.६ प्रतिशतमा झर्ने अनुमान छ। अर्थात् हिन्दुको संख्या बढे पनि विश्व जनसंख्याको तुलनामा उनीहरूको अनुपात घट्नेछ। यहुदी धर्म मान्नेको संख्या पनि बढ्ने तर कुल जनसंख्यामा उनीहरूको हिस्सा घट्ने प्यूको प्रक्षेपण छ।
बौद्ध धर्म मान्नेको संख्या भने आगामी दशकमा घट्ने अनुमान गरिएको छ। सन् २०२० मा करिब ३२ करोड रहेका बौद्ध धर्मावलम्बीको संख्या सन् २०७० सम्ममा घटेर २५ करोड पुग्नेछ। चीन, दक्षिण कोरिया र जापानलगायत देशमा जनसंख्या घट्ने क्रमले यसमा प्रभाव पार्नेछ।
विश्वको जनसंख्या सन् २०२० देखि २०७० सम्म २९ प्रतिशतले बढ्ने प्यूको अनुमान छ। तर विश्लेषण गरिएका प्रमुख धार्मिक समूहमा मुस्लिम र इसाईको संख्या मात्रै विश्व जनसंख्या वृद्धिको गतिसँगै बढ्नेछ। मुस्लिमको संख्या ८० प्रतिशत र इसाईको संख्या ३० प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ।
त्यसैगरी, अमेरिकामा इसाईको संख्या सन् २०२० को करिब २१ करोड ७० लाखबाट घटेर सन् २०७० मा १७ करोड ४० लाख पुग्ने अनुमान छ। युरोपमा पनि इसाईको संख्या एक तिहाइले घटेर ५० करोड ५० लाखबाट ३२ करोड ४० लाखमा झर्नेछ। यद्यपि, सहारा मरुभूमिको दक्षिणी अफ्रिकामा इसाई र मुस्लिम दुवैको संख्या तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ।
प्यूका धर्म अनुसन्धान निर्देशक एलन कुपरम्यानले मुस्लिमको संख्या बढ्नु इसाईको संख्या घट्नुको परिणाम नभएको बताएका छन्। उनका अनुसार दुवै धर्मका अनुयायीको संख्या मुख्यगरी ती धर्मका मानिसहरूको बाहुल्य रहेका देशमै बढिरहेको छ। त्यसैले यसलाई एउटा धर्मले अर्को धर्मलाई पराजित गरेको प्रतिस्पर्धाका रूपमा बुझ्न नहुने उनको भनाइ छ।
प्यूको यो प्रक्षेपण सन् २०२० देखि २०७० सम्मको धार्मिक जनसंख्या, जन्मदर, उमेर समूह, बसाइँसराइ र धर्म परिवर्तनसम्बन्धी तथ्यांकमा आधारित छ। यो भविष्यको निश्चित परिणाम नभई हालका जनसांख्यिकीय प्रवृत्ति कायम रहेमा हुन सक्ने परिवर्तनको अनुमान हो। एजेन्सी


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।