समाज

रसियाउ रोटीको सुवास र घर फर्केका युवासँगै छठको रौनक

छठको दोस्रो दिन आज खरना अर्थात् रसियाउ रोटी विधि मनाइँदै छ। तराईमा परापूर्वकालदेखि सनातन हिन्दू धर्मावलम्बीले मनाउँदै आएको यस पर्वमा खरना विधिलाई अत्यन्त महत्वपूर्ण मानिन्छ।

खरना विधिको तयारीमा व्रतालु तथा तिनका आफन्त बिहानैदेखि जुटेका छन्। रोजगारीका लागि काठमाडौंलगायत देशका विभिन्न स्थान तथा भारतको दिल्ली, मुम्बई र लुधियाना गएका बाराका युवा पनि पर्व मनाउन घर फर्किएपछि गाउँमा चहलपहल बढेको स्थानीयले बताएका छन्।

पर्वको रौनकसँगै छठघाटमा छठी माताका गीत घन्किन थालेका छन् भने घाटहरू दुलहीझैं सिँगारिएका छन्। धेरै स्थानमा छठघाट सजाउने काम अझै जारी रहेको स्थानीयको भनाइ छ।

विज्ञापन

खरना विधिमा प्रसाद पकाउनका लागि युवाहरू बिहानैदेखि आँपको सुकेको दाउरा सङ्कलन गर्न बगैँचातिर खटिएका छन्। कलैया उपमहानगरपालिका-१६ उत्तरझिटकैयाका धर्मेन्द्र गिरीका अनुसार खरना विधिमा आँपको दाउराको विशेष महत्व हुन्छ।

‘रसियाउ रोटी विधिको सबै परिकार आँपकै दाउरामा पकाइन्छ,’ उनले भने, ‘त्यसैले व्रत मान्ने सबै घरका युवा आँपको दाउरा सङ्कलन गर्न खटिएका छौं।’ बिहान सङ्कलन गरिएको दाउरा दिनभरि घाममा सुकाएर राति पूजाका परिकार पकाउन प्रयोग गरिने उनले जानकारी दिए।

आजको विधिमा मिठा, सख्खर, दूध र शुद्ध चामलको प्रयोग गरी माटोको हडियामा रसियाउ पकाइन्छ। त्यस्तै, पानीले सफा गरी घाममा सुकाएर सफा उपकरणमा पिँधिएको गहुँको पीठोबाट खपरी (माटोको तावा) मा रोटी पकाएर प्रसादका रूपमा खाने चलन छ।

रसियाउ रोटी छठी माता र घरको देवतालाई चढाएपछि पहिला व्रतालु महिला (छठैतिन) ले र त्यसपछि परिवारका अन्य सदस्यले प्रसादका रूपमा ग्रहण गर्छन्।

यसअघि शुक्रबारदेखि विधिवत् सुरु भएको छठको पहिलो दिन सदरमुकाम कलैयालगायत जिल्लाभरिका व्रतालुले ‘नहायखाय’ विधि पूरा गरेका थिए। व्रत बस्ने महिला तथा पुरुषले नुहाएर शुद्ध घिउमा आफैंले पकाएको सात्विक भोजन ग्रहण गरी पहिलो दिनको विधि पूरा गरेका हुन्।

पर्वको तेस्रो अर्थात् मुख्य दिन आइतबार व्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएर छठ मनाउनेछन्। घर नजिकको पोखरी, नदी र सरोवरमा निर्मित छठी घाटमा साँझ अस्ताउँदो सूर्यलाई बाँसको सुपुली र दौरीमा पूजा सामग्री राखेर अर्घ्य दिने परम्परा रहेको कलैया उपमहानगरपालिका-१६ उत्तरझिटकैयाकी व्रतालु मान्तीदेवी ठाकुरले बताइन्।

सोमबार उदाउँदै गरेको सूर्यको पहिलो किरणलाई अर्घ्य दिएपछि छठ पूजा विधिवत् समापन हुन्छ। अन्तिम दिन व्रतालुले गाउँघरका इनार, चापाकल, सवारीसाधन, गाई, गोरु, पति, अग्रज र मठमन्दिर पूजा गरी घर फर्केर मिठो परिकार खाने चलन रहेको उनले जानकारी दिइन्।

‘हिन्दूले मान्ने पर्वमध्ये छठ व्रत सबैभन्दा कठिन मानिन्छ,’ व्रतालु ठाकुरले भनिन्, ‘यो पर्वमा व्रतालु निर्जल र निराहार बस्छन्। व्रत अवधिमा पानीसमेत सेवन गर्दैनन् । शौच गरेलगत्तै नुहाइधुवाइ गरेर नयाँ कपडा फेर्ने चलन छ।’

व्रत समापनपछि छरछिमेक र इष्टमित्रकहाँ प्रसाद पठाउने तथा विवाह गरेर गएका छोरीहरूलाई ‘बायन’ पठाउने चलन रहेको कलैया-१६ का वडा सदस्य ओमप्रकाश यादवले बताए। छठ मनाउँदा चर्मरोग निको हुने, सन्तान प्राप्ति हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको उनको भनाइ छ।

श्रद्धा, भक्ति र धार्मिक सहिष्णुताको प्रतीकका रूपमा स्थापित छठ तराई मूलका ९५ प्रतिशत हिन्दू महिलाले मनाउने गरेको यादवले बताए। उनका अनुसार तराईमा बसोबास गर्दै आएका पहाडी मूल, मारवाडी र बङ्गाली समुदायका महिलाले समेत श्रद्धापूर्वक छठ मनाउने परम्परा बढ्दै गएको छ।

पहिले तराईमा सीमित छठ विस्तारै हेटौँडा र नारायणगढ हुँदै सङ्घीय राजधानी काठमाडौँसहित देशका पहाडी र हिमाली क्षेत्रसम्म फैलिएको यादवले बताए। विशेषगरी महिलाले बस्ने यस व्रतमा कुनै कारणले महिला असमर्थ भए परिवारका पुरुष सदस्यले व्रत बसेर भए पनि परम्परालाई निरन्तरता दिने मान्यता रहेको उनको भनाइ छ।

छठ पूजाका लागि माटोका भाँडा (ढकनी), हात्ती, दियो, बाँसका सामग्री (दौरी, सुपुली, छैँटी), उखु, नरिवल, आलसको तेल, फलफूल, चिनीबाट बनाइएको विशेष मिठाई बतासा र पहेँलो धोतीलगायत सामग्री आवश्यक पर्दछन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।