राजनीति

प्रचण्ड फोबिया त्याग्न ज्ञानेन्द्र शाहीलाई सुझाव

नेपाली कम्युनिस्ट पार्टीका कर्णाली प्रदेश सहइन्चार्ज तथा पूर्वकानुनमन्त्री नरेश भण्डारीले संघीय सांसद ज्ञानेन्द्र शाहीलाई प्रचण्ड फोबिया त्यागेर जुम्लाको विकास र समृद्धिमा केन्द्रित हुन सुझाव दिएका छन्।

सामाजिक सञ्जालमार्फत शाहीको राजनीतिक अभिव्यक्तिमाथि टिप्पणी गर्दै भण्डारीले गाली, आरोप र उत्तेजनाको राजनीतिले अब जनताको विश्वास जित्न नसक्ने बताएका छन्। प्रचण्डलाई निरन्तर निशाना बनाउनुभन्दा जिल्लाको विकास र जनताका समस्यालाई प्राथमिकतामा राख्न उनले शाहीलाई आग्रह गरेका छन्।

‘संघीय माननीय ज्ञानेन्द्र शाहीजी, प्रचण्ड फोबिया त्यागेर जुम्लाको विकास र समृद्धितर्फ ध्यान दिनुहोस्। यति बुझिराख्नुस्, गालीको पसलमा ग्राहक घट्दैछन्। गालीशास्त्रको विद्यावारिधिले राजनीति चल्ने जमाना सकिँदैछ। उत्तेजनाको व्यापार गरेर जनतालाई झुक्याउने पुरानो फर्मुलाको म्याद गुज्रिँदैछ,’ भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन्।

विज्ञापन

प्रचण्डलाई सधैँ ‘अपराधी’ का रूपमा प्रस्तुत गर्ने दृष्टिकोणमाथि प्रश्न उठाउँदै भण्डारीले पृथ्वीनारायण शाहको एकीकरण अभियानका क्रममा भएका हिंसाको व्याख्या कसरी गर्ने भन्दै प्रतिप्रश्न गरेका छन्।

जनयुद्धका क्रममा राज्य पक्षबाट मारिएका करिब १० हजार नेपालीको जिम्मेवारी तत्कालीन राजतन्त्र र राजा ज्ञानेन्द्र शाहले लिनुपर्ने हो कि होइन भन्ने प्रश्नसमेत उनले उठाएका छन्।

‘प्रचण्ड मात्रै दोषी, तत्कालीन राजतन्त्रचाहिँ निर्दोष? आफूले आदर्श मानेको राजतन्त्रको इतिहास पनि पढ्नुहोस्। त्यो इतिहास मसीले मात्र होइन, प्रजा, रैती र दास बनेर बाँच्न अस्वीकार गर्ने नेपालीहरूको रगत र आँसुले लेखिएको छ,’ भण्डारीले लेखेका छन्।

भण्डारीले राजनीति नेताप्रतिको घृणा र गालीमा नभई विचार, नीति र परिणाममा केन्द्रित हुनुपर्ने बताएका छन्। जनताले आरोप–प्रत्यारोपभन्दा काम र समाधान खोजिरहेको उल्लेख गर्दै उनले राजनीतिक नेतृत्व जनताका मुद्दा र विकासका सवालमा जवाफदेही बन्नुपर्ने सन्देश दिएका छन्।

उनको टिप्पणीले जुम्लाको विकाससँगै प्रचण्ड र जनयुद्धलाई लिएर नेपाली राजनीतिमा जारी आरोप–प्रत्यारोपको बहसलाई पनि पुनः सतहमा ल्याएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।