चीनले आफ्नो सेयर बजारलाई स्थिर बनाउन र लगानीकर्ताको विश्वास बढाउन विभिन्न नयाँ उपाय घोषणा गरेको छ। यसअन्तर्गत ऋण लिएर सेयर खरिद गर्ने लगानीकर्ताले सुरुवाती रूपमा जम्मा गर्नुपर्ने न्यूनतम रकम घटाउने निर्णय गरिएको छ।
चीनको धितोपत्र नियामक निकायको स्वीकृतिमा सांघाई, सेन्जेन र बेइजिङ स्टक एक्सचेन्जले मार्जिन अनुपात १०० प्रतिशतबाट घटाएर ८० प्रतिशत कायम गर्ने भएका छन्। यो व्यवस्था नोभेम्बर ३० देखि लागू हुनेछ।
यस निर्णयबाट सैद्धान्तिक रूपमा करिब ४०० अर्ब युआन (झन्डै ५९ अर्ब ५८ करोड अमेरिकी डलर) थप रकम सेयर बजारमा लगानीका लागि उपलब्ध हुन सक्ने अनुमान गरिएको छ।

मार्जिन कारोबार भनेको लगानीकर्ताले धितोपत्र दलालबाट ऋण लिएर सेयर खरिद गर्ने प्रक्रिया हो। यस्तो कारोबारमा लगानीकर्ताले आफ्नै तर्फबाट जम्मा गर्नुपर्ने न्यूनतम रकम घटाउँदा ऋण लिएर सेयर खरिद गर्न सहज हुन्छ।
विशेषज्ञहरूका अनुसार मार्जिन अनुपात घटाउनु चीनको सेयर बजारमा प्रतिकूल आर्थिक अवस्थाको प्रभाव कम गर्न प्रयोग गरिने प्रमुख नीतिगत उपायमध्ये एक हो। विगतमा पनि यस्तो अनुपात घटाउँदा मार्जिन कारोबार र सेयर खरिदबिक्री गतिविधि बढेको थियो।
यसैबिच, सांघाई र सेन्जेन स्टक एक्सचेन्जले विभिन्न शुल्कमा छुट दिने व्यवस्था पनि घोषणा गरेका छन्। यसअन्तर्गत बजारमा सहभागी संस्थाले तिर्नुपर्ने कारोबार एकाइ प्रयोग शुल्क मिनाहा गरिनेछ।
यसअघि नै लागू गरिएको सूचीकृत कम्पनीहरूको सूचीकरण शुल्क तथा ऋणपत्र कारोबारसम्बन्धी शुल्क छुटको व्यवस्थालाई पनि थप दुई वर्ष निरन्तरता दिइने भएको छ। यो व्यवस्था सन् २०२८ सम्म कायम रहनेछ।
सेन्जेन स्टक एक्सचेन्जले सोही दिन चीनको प्रविधि तथा विकासमुखी कम्पनीहरूको बजार मानिने चाइनानेक्स्टमा सेयर कारोबारका लागि बजार निर्माता प्रणाली लागू गर्ने नियमको मस्यौदामाथि सार्वजनिक राय माग्न सुरु गरेको छ।
बजार निर्माता प्रणालीमा निश्चित संस्थाले सेयर खरिद र बिक्रीका लागि नियमित रूपमा मूल्य प्रस्ताव गर्छन्। यसले बजारमा सेयरको माग र आपूर्ति सहज बनाउनुका साथै कारोबार बढाउन, मूल्यमा हुने उतारचढाव कम गर्न र बजारको स्थायित्व सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
चीनका प्रमुख सेयर बजार सूचकहरू पछिल्ला केही दिनयता ओरालो लागिरहेका बेला यी उपाय सार्वजनिक गरिएका हुन्। यसअघि शुक्रबार अमेरिकी सेयर बजारमा आएको ठुलो गिरावटले पनि विश्वभरका लगानीकर्तामा चिन्ता बढाएको थियो।
यसै महिनाको सुरुवातमा चीनको केन्द्रीय बैंकले पनि पुँजी बजारलाई सहयोग पुर्याउने उद्देश्यले थप नीतिगत सहजीकरण गरेको थियो।
चीनको केन्द्रीय बैंकले नोभेम्बर ३ मा धितोपत्र, कोष तथा बिमा कम्पनीका लागि उपलब्ध गराइएको सट्टापट्टा सुविधाअन्तर्गत तेस्रो चरणको कारोबार सञ्चालन गरेको थियो। यसमा ३१ वटा धितोपत्र तथा कोष कम्पनी सहभागी भएका थिए। उक्त कारोबारको कुल रकम १०० अर्ब युआन रहेको थियो।
यो सुविधाले वित्तीय संस्थालाई आफूसँग भएका ऋणपत्र तथा सेयरजस्ता सम्पत्ति धितोका रूपमा प्रयोग गरेर बढी तरल सम्पत्ति प्राप्त गर्न सहयोग गर्छ। यसबाट उनीहरूको सेयर बजारमा लगानी गर्ने क्षमता बढ्ने अपेक्षा गरिएको छ।
त्यस्तै, कम्पनीहरूलाई आफ्नै सेयर पुनः खरिद गर्न तथा प्रमुख सेयरधनीलाई थप सेयर खरिद गर्न बैंकमार्फत उपलब्ध गराइने पुनः कर्जा सुविधाको ब्याजदर पनि १.२५ प्रतिशतबाट घटाएर १ प्रतिशत कायम गरिएको छ। नोभेम्बर ४ देखि लागू भएको यस व्यवस्थाले सेयर खरिद तथा पुनः खरिदका लागि ऋण लिन सहज बनाउने अपेक्षा गरिएको छ।
चीन सरकारले पछिल्ला नीतिगत कदममार्फत सेयर बजारमा लगानी बढाउने, लगानीकर्ताको विश्वास कायम राख्ने र बजारलाई स्थिर बनाउने प्रयास गरिरहेको छ। एजेन्सी


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।