समाज

घोप्टेभिरको डाँडाबाट जोखिमपूर्ण भाग झार्न थालियो

पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडक खण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु गरिएको छ। शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थालिएको हो।

नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार शनिबार नागढुङ्गा तर्फबाट बाटो बनाएर घोप्टेभिरको माथिल्लो भागमा एक्साभेटर पुर्‍याइएको थियो। उक्त एक्साभेटरले आजदेखि डाँडाको जोखिमपूर्ण र झर्न सक्ने ढिस्को काट्न सुरु गरेको हो।

निर्माण कम्पनी शर्मा जेडआइसिजि जेभिका इन्जिनियर ईश्वर नेपालका अनुसार करिब १०० मिटर अग्लो ठाउँमा एक्साभेटर पुर्‍याएर डाँडो काट्न थालिएको हो।

विज्ञापन

बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडकमा सवारी रोकेर काम गरिएको उनले बताए। डाँडोबाट तहगत रूपमा कटान गर्दै एक्साभेटर तल झारिने उनले बताए।

“डाँडामा अवस्था हेरेर थप उपकरण वा एक्साभेटर लैजान सकिने देखिएमा सोमबार सम्ममा अर्को एक्साभेटर थप्ने योजना छ। सवारी रोकिएकाले यो समयको उपयोग गर्दै घोप्टेभिरको मुग्लिनतर्फ भित्तो काटेर सडक विस्तार गर्न थालिएको छ। यहाँ १५० मिटर लामो भागमा करिब तीन मिटर चौडा गर्नुपर्ने छ”, नेपालले भने।

नेपालका अनुसार चुम्लिङटार र कुरिन्टारको बीचको डाहाकी खोलामा सडक चौडा गर्न थालिएको छ। “सो ठाउँमा १०० मिटर लम्बाइ क्षेत्रमा सडकलाई दुई मिटर चौडा गर्नुपर्ने हुन्छ। दुवै ठाउँमा दुई एक्साभेटर र एउटा लोडर प्रयोग गरी भित्तो काट्ने काम गरिएको छ”, उनले भने।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पाँचदिन भित्रमा काम सक्ने गरी सवारी रोकेर निर्माण कम्पनीलाई ताकेता गरिएको बताए।

सरकारी तवरबाट आवश्यक सहजीकरण गरेर घोप्टेभिरको जोखिमपूर्ण भाग झार्न लागिएको उनको भनाइ छ। सवारी रोकेको समयमा सडक विस्तार गर्नुपर्ने ठाउँमा पनि काम गर्न भनिएको उनले बताए।

झण्डै एक महिनायता सुक्खा पहिरो खसेर घोप्टेभिरमा सवारी सञ्चालनमा समस्या हुँदै आएको छ। पटकपटक पहिरो खसेर सवारी रोकिने गरेका छन् भने पहिरोसँगै खसेको ढुङ्गाले लागेर एकजनाको मृत्युसमेत भएको छ। घोप्टेभिर मुग्लिनबाट करिब तीन किलोमिटर काठमाडौँतर्फ पर्दछ। यो सडक हुँदै राजधानी भित्रने र बाहिरने गरिन्छ। एक दिनमा यस सडकमा एक हजार ५०० भन्दा बढी सवारीसाधन आवतजावत गर्दछन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।