काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित टियू मैदानमा दिउँसो १२ः३० बजे हुने पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। यस्तै, साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन्।
काठमान्डु र सुदूरपश्चिम समान ८ अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका छन्। आजको खेलमा जुन टोलीले जितेपनि १० अंकसहित तालिकाको शीर्ष स्थानमा पुग्नेछ।

सुदूरपश्चिम आज लिग चरणको आफ्नो अन्तिम खेल खेल्दैछ। आजको खेलमा काठमान्डु विजयी भएमा सुदूरपश्चिमले प्ले अफका लागि अन्य खेलको नतिजा पर्खनुपर्ने हुन्छ। काठमान्डुको भने अर्को एक खेल बाँकी छ।
यस्तै, जनकपुर र चितवनलाई पनि प्लेअफमा पुग्न आजको खेल जित्नैपर्ने दबाब छ। अन्तिम खेल खेल्न लागेको जनकपुरलाई आजको खेल जितेर पनि अन्य टोलीको नतिजा कुर्नुपर्ने हुन्छ। उता चितवनलाई पनि बाँकी रहेको दुबै खेल जित्नुपर्ने हुन्छ।
५ खेल खेलेको चितवनको दुई जित र दुई हारसहित ५ अंक छ। टोलीले वर्षाका कारण एक खेलमा अंक बाँडेको थियो। जनकपुरले भने ६ खेलमा दुई जित र ४ हारसहित अंक तालिकाको छैठौँ स्थानमा छ।
यसअघि साविक विजेता लुम्बिनी लायन्सले प्ले अफको यात्रा सुनिश्चित गरिसकेको छ। अब प्ले अफ पुग्ने तीन टोलीको टुंगो लाग्न बाँकी छ।
पोखरा एभेन्जर्स भने प्ले अफबाट बाहिरिसकेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।